ट्रम्पले आफ्नो हस्ताक्षरसहितको १०० डलर नोटको नयाँ तस्बिर गरे सार्वजनिक

ट्रम्पले आफ्नो हस्ताक्षरसहितको १०० डलर नोटको नयाँ तस्बिर गरे सार्वजनिक
सुन्नुहोस्

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो सामाजिक सञ्जालमार्फत आफ्नो हस्ताक्षर भएको १०० अमेरिकी डलरको नोटको नयाँ तस्बिर सार्वजनिक गरेका छन् । केही महिनाअघि अमेरिकी कोष विभाग (ट्रेजरी विभाग) ले पहिलो पटक कार्यरत राष्ट्रपतिको हस्ताक्षर अमेरिकी कागजी मुद्रामा समावेश गरिने घोषणा गरेको थियो ।

अमेरिकी कोष सचिव स्कट बेसेन्टले शनिबार ट्रम्पको आर्थिक उपलब्धिको प्रशंसा गर्दै अमेरिकाको २५० औं स्थापना दिवसको अवसरमा ट्रम्पको हस्ताक्षर भएको मुद्रा जारी गर्नु उपयुक्त हुने बताएका छन् । उनले एक्समा लेखेका छन्, ‘हाम्रो महान देश र राष्ट्रपति डोनाल्ड जे. ट्रम्पका ऐतिहासिक उपलब्धिलाई सम्मान गर्ने सबैभन्दा प्रभावकारी माध्यम भनेको उहाँको हस्ताक्षर भएको अमेरिकी डलर नोट जारी गर्नु हो । २५०औं स्थापना दिवसको अवसरमा यस्तो ऐतिहासिक मुद्रा जारी हुनु अत्यन्त उपयुक्त हुनेछ ।’

बेसेन्टले मार्च महिनामै प्रशासनले अमेरिकाको २५० औं स्थापना दिवसको सम्मानस्वरूप ट्रम्पको हस्ताक्षर मुद्रा नोटमा राख्ने योजना बनाएको बताएका थिए । अमेरिकी कोषाध्यक्ष ब्रान्डन बीचले पनि शनिबार ‘यी १०० डलरका नोटहरू चाँडै नै प्रचलनमा आउने अपेक्षा गरेका छौ’, भनेर प्रतिक्रिया दिएका छन् ।

ट्रम्पले सार्वजनिक गरेको तस्बिरमा स्कट बेसेन्टको हस्ताक्षरमाथि ट्रम्पको हस्ताक्षर देखिन्छ । यसअघि १०० डलरको नोटमा केवल कोष सचिव र अमेरिकी कोषाध्यक्षको हस्ताक्षर रहने व्यवस्था थियो, कार्यरत राष्ट्रपतिको होइन । मार्चमा गरिएको घोषणामा बीचले भनेका थिए, ‘अमेरिकाको आर्थिक पुनर्जागरणका प्रमुख योजनाकारका रूपमा राष्ट्रपतिले इतिहासमा छोडेको छाप निर्विवाद छ । त्यसैले अमेरिकी मुद्रामा उहाँको हस्ताक्षर छाप्नु उपयुक्त मात्र होइन, उहाँ त्यसका हकदार पनि हुनुहुन्छ ।’

ट्रम्पले आफ्नो नाम र तस्बिरलाई विभिन्न सरकारी दस्तावेज र सार्वजनिक स्थलसँग जोड्ने अभियानलाई विशेष प्राथमिकता दिएका छन् । उनको प्रशासनले स्मारक अमेरिकी राहदानी, राष्ट्रिय निकुञ्ज प्रवेश पास, वासिङ्टन डीसीस्थित विभिन्न सरकारी भवनका ब्यानर, यूएस इन्स्टिच्युट अफ पिस, नवजात शिशुका लागि विशेष लगानी खातालगायत विभिन्न सामग्रीमा ट्रम्पको नाम वा तस्बिर प्रयोग गरेको छ । साथै, फ्लोरिडाको पाम बीच अन्तर्राष्ट्रिय विमानस्थलको नाम पनि ट्रम्पको नाममा परिवर्तन गरिएको छ ।

यसबाहेक, अमेरिकी कांग्रेसका केही सदस्यहरूले २५० डलरको विशेष स्मारक नोटमा ट्रम्पको तस्बिर राख्ने विधेयक समेत दर्ता गरेका छन् । तर यो प्रस्ताव पारित हुने सम्भावना कम देखिन्छ, किनभने यसका लागि सिनेटमा डेमोक्र्याट सांसदहरूको समर्थन आवश्यक पर्नेछ । हालको अमेरिकी कानुनअनुसार निधन भइसकेका व्यक्तिको तस्बिर मात्र अमेरिकी मुद्रा र सरकारी प्रतिभूतिमा राख्न पाइन्छ । यद्यपि, उक्त विधेयकले हाल वा विगतमा राष्ट्रपति भइसकेका व्यक्तिका लागि अपवाद व्यवस्था गर्न प्रस्ताव गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.