लालीगुराँसको पहाड !
सुन्दर हिमशृंअलाहरूलाई समिपमै साक्षी राखी पुनहिलको चुचुरोबाट सूर्योदयको मनमोहक दृश्य नयनभरि कैद गरी घर फिर्दै थियौं हामी, त्यो साँझ ! त्यो रुमानी समय बेला कुबेला झलझल्ती आँखामा आइबस्छ । यात्रा संयोग हो । समय हो । समय जुर्नुपर्छ । 'वसन्त ऋतुमा आउनुहोस् घोडेपानी, लालीगुराँसको पहाड हेर्न ! वरपरका डाँडाकाँडा रातैरातै देखिन्छन् !' ओरालीमा भेटिनेहरूको स्वर यस्तो पनि सुनिन्थ्यो । बाटैमा कोही भेटिनु र त्यसपछि कहिल्यै नभेटिनु आफैंमा यात्राको सुन्दरता हो । त्यो समय शिशिर ऋतुको थियो । हामी भने मनभरि गुराँस, परेलीमा यात्राको उत्साह र रोमाञ्चकता सँगालेर असोजको अन्तिम हप्ता स्वाद मानि मानि पुनहिल यात्रा चाखेर फर्कियौं ।
दशैंको सुवास घर गाउँमा गम्किरहेथ्यो । आँगनमा फूलेका मखमली र सयपत्रीले तिहार पर्खिरहेको आभास भैरहेथ्यो । त्यस समय म नारायण ढकालको शोकमग्न यात्री पढिरहेकी थिएँ । लेखकको मुस्ताङ यात्रा पढेपछि भने कतै हिँडिँहालु चाहे एकदिनको यात्रा नै किन नहोस्, मन उडीउडी चन्द्रमा छोला झैं पो गर्न थाल्यो । दिउँसो मेसेन्जरबाट साथी अन्जु केसीसँग कतै जाने विषयमा योजना बुन्न थाल्यौं । सम्भावित नाममध्यका एकजनालाई सोध्ने, तीन जना पुगेपछि जाने निधो गरियो । अन्ततः भोलिपल्ट बिहान हरिचोकमा भेटने तय भयो । साँझ ओच्छयानमा पल्टेपछि भोलिको यात्राले मन कुत्कुत्याई रहेथ्यो ।
भोलिपल्ट शुक्रबार म समयमै हरिचोक पुगे । ट्रेकिङको मौसम भएकाले केही विदेशी र नेपाली पर्यटकहरू यता-उता छिरलिएका थिए । अन्जु समयमै आइपुगिन् । बाटोमा खान केही नुनिलो चिज जोरजाम गरेर रसियन जिपमा हेम्जा पुग्दा सिर्जना हाम्रा लागि आँखा विच्छयाइ रहेकी थिइन् । बाग्लुङ सडक खण्डको नयाँपुलमा ओर्लेर एक-एक कप तात्तातो चिया पिएपछि बिरेठाँटी बजारबाट देब्रेतिरको बाटो हुँदै हिले पुगियो । बाटोमा भेटिने कतिपय स्वदेशी विदेशी पर्यटकहरू पुनहिलको बाटो हुँदै अन्नपूर्ण आधार शिविरसम्म पुगेर फर्कँदा रहेछन् । कतिपयका गन्तव्य भने पुनहिलसम्म मात्रै बताउँथे । हामी वारिपट्टि जीपमा उकालिँदै गर्दा कतिपय पर्यटकहरू पारिपट्टि देखिएको ३२०० खुड्किलाको उल्लेरीको उकालो उक्लिरहेका देखिन्थे । परसम्म जन्तीको लाइन सरी मानिसहरूको एक हुल देखिरहेथ्यो । हामी हिले पुगेर खाना खाएपछि नजिकै देखिने हिमालहरूलाई सामुन्ने पारेर त्यहाँको दृश्य क्यामेरामा कैद गर्यौं ।
बाटोमा भेटिएको कुनै ठाउँमा तस्बिर लिनकै लागि हामी ओर्लियौं, नाम याद भएन । स-सानो वस्ती छेउका घरआँगन र कान्लाहरूमा सयपत्री पहेँलपुर देखियो । तीन चार कान्ला उक्लेर सुन्दर गाउँले परम्परागत घरको छेक पारेर सामूहिक तस्बिर खिचाइयो । खेती थन्काउने समय भएकाले पनि स्थानीय मानिसहरू घरमा देखिन्थेनन् । गाईवस्तुहरू गोठमा घाँस ओच्छयाएर उग्राइरहेका थिए । माथ्लोपट्टि एकजना बाह्र-तेह्र वर्ष जत्तिको ठिटो देखा पर्यो । युवाहरू प्रविधिमा अब्बल हुन्छन् भन्ने प्रमाणित उक्त ठिटोले कैद गरेको तस्बिरले प्रमाणित गरिदियो ।
सवारी चालक भाइको छनक मनकले गाडी चढेदेखि नै ऊ हतारमा रहेको बताइरहेथ्यो । हामीलाई छोडेपछि अर्को ट्रिप हात पार्ने धुनमा ऊ फोनमा भिडिरहेथ्यो । हाम्रो आलटाल सायद उसलाई पचेको थिएन । उसको बोल्ने लवज केही नयाँ लागिरहेथ्यो ।
नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ साथीहरूसँगको यात्राले मन बढी नै चञ्चल भैरहेथ्यो । साथी अन्जु जनप्रतिनिधि भएकीले उसका संवादमा अलिक बढी राजनीतिको गन्ध भेट्टाउँथे म । सिर्जना कहिले हेम्जा, कहिले काठमाडैं गर्दै आफ्नै व्यवसाय र राजनीतिमा अप्रत्यक्ष संलग्न देखिन्थिन् । हाम्रा गफगाफमा चिनजानका साथीभाइ, घरायासी गनथन, राजनीति, विभेद्, अपमान, संस्कारजन्य अप्ठयारा यस्तै यस्तै समावेश थिए ।
हाम्रो यात्रा महाकवि देवकोटाले भनेजस्तो ठिमिले थिएन । जहाँ सरासर दगुर्नु, गन्तव्यमा पुग्नु र सरासर फर्किएर आउनुलाई 'पहाडी जीवन' नामको निवन्धमा ठिमिलेयात्राको संज्ञा दिइएको छ । यात्रामा भेटिएका अनेक नौला र अनौठा भू-दृश्य, अनि ब्रगेल्ती अनुहारहरूसँग भलाकुसारी गरी फर्कनु थियो हामीलाई । उकालो उक्लदै गर्दा हामीले देवकोटाले झैं पहाडमा घाम, छायाँ, पानी, बादल र कुहिरोका चित्रहरू देख्यौं ।
तिखे ढुङ्गा पुगेर हामी ओर्लियौं । त्यो समय ! तिखे ढुङ्गा गाडीको अन्तिम गन्तव्य थियो । वरपरका प्राकृतिक दृश्यावलोकन गर्दै केही क्षण थकाई मारेपछि उकालो लाग्यौं । सहजताका निम्ति एक-एक वटा लठ्ठी बोकेका थियौ| । बाटोमा भेटिने पर्यटकसँग घोरेपानी पुग्ने समयबारे हाम्रो जिज्ञासामा व्यक्ति पिच्छे अनुमान फरक भेटिन्थ्यो । कोही चार, पाँच या छ घण्टासम्म पनि भनिदिन्थे । सिर्जना र अन्जुको हिडाईबारे म जानकार थिइन् । यसअघि कुनै लामोबाटो हामी सँगसँगै हिँडेका थिएनौं । आक्कल झुक्कल हुने चियाखाजा भेटमा गफ गरेरै बसिन्थ्यो । हामी भेटिने फेवाताल नजिकैको कुनो मेरो एक प्रिय स्थल हो, जहाँ म सुखदुःखको बेला बरालिइरहन्छु ।
समथर बाटो हिँडन अभ्यस्त गोडा उकालो चढ्दा चाल पाए । हिँडाइका ताल फेरिए । बाटो उकालोको तुलनामा तेर्पाए तेर्पाए धेरै रहेछ । सुनसान जंगलको बीचमा खोल्सीमा बहिरहेको कलकल पानीको आवाज, चराचुरुङ्गी र झ्याउँकिरीको गीतले लठ्ठ पारिरहेथ्यो । अन्जान पहाड उक्लदै गरेका आदिम युगका युवतीहरू देख्दा सुन्दर प्रकृति पक्कै मोहित भइ होलिन्, म मनमनै कल्पिरहेथे ! हातमा बोकेका लठ्ठी, पिठ्युउँका झोला र खलखल बगेको पसिनाले ठूलै मेलो सकेर फर्किरहेको आभास भैरहेथ्यो । कतै ढुङ्गामा टुसुक्क बसेर थकाई मार्दै, त कतै झोला एकातिर पल्टाएर केहीक्षण सुस्ताउँदै ध्यान मुद्रामा पलेटी कस्न भ्याइहाल्थे म । एकैछिनमा उठेर बाटो लाग्दा साथीहरू अलिक माथि मलाई नै कुरीबसेका भेटिन्थे ।
सुनसान जंगलमा घरी गफिँदै, घरी रोकिँदै हामी उकालो चढिरहयौं । विस्तारै चार घण्टा हिँडिसक्दा हामी लखतरान पर्यौं । घडीले पाँच बजाइसकेको थियो । बाटोमा भेटिएका विदेशी तथा स्वदेशी पर्यटकहरूसँग मलिनो मुस्कान साट्दै म बेलाबेला उम्कन्थे । अन्तर्मुखी स्वभावले कहिँलेकाहीँ अप्ठयारो बनाइदिन्छ । नयाँ मान्छेसँग भेटिँदा वार्तालापको कुनै विषय आज पनि पहिल्याउन्न म । औपचारिकताको नमस्कार आदानप्रदान पछि केहिबेर वाल्ल परेर आफैँसँग एकहोरी रहन्छु ।
साँझको समय कतै जनावरसँग जम्काभेट हुनसक्ने सम्भावना कल्पेर मन एक साथ रोमाञ्च र भयको मझधारमा बल्झिरहेको थियो । करिब एकाध घण्टा उकालिँदासम्म कोही पदयात्री भेटिएनन् । अलिक माथि पुग्दा एकजना रुसी पदयात्री उकालोमा दम बढेर असाध्यै कठिनताका साथ पाइला चाल्दै थिइन् । उनका दुईजना साथीहरू दुईतिर हात समातेर अत्यन्तै प्रेमपूर्वक एक-एक पाइलामा उनलाई ढाड्स दिइरहेका थिए । ठूलो ज्यान भएकी उनको गन्तव्य छिट्टै भेटियोस् भनि म मनमनै कामना गरिरहे । त्यस्तै अर्का आँखा नदेख्ने एकजना विदेशी पर्यटक युवा गाइडको सहयोगमा मज्जाले उकालो उक्लिरहेथे । पछि बुझ्दा थाहा भयो, उनीहरू त फेदीदेखि नै उकालो हिँडेर आएका रहेछन् ।
हामीकहाँ घुम्ने, बाहिर फेर निस्कने संस्कार विस्तारै बढ्दै गएको छ । सरकारले निजामतीतर्फका कर्मचारीहरूका लागि एक हप्ता घुमफिरकै निम्ति छुट्टयाएको छ । आजभोलि समय अनुकूल हुँदा यात्रामा निस्कनेहरू प्रशस्तै भेटिन्छन् । तैपनि पुरुषको तुलनामा महिलाहरूलाई घरगृहस्थीबाट फुत्केर यात्रामा निस्कने अवसर कमै मिल्छ । जीवनभर घरमाइतीमै सीमित जीवन बिताउनुभएका कतिपय आमा, हजुरआमा पुस्ता हाम्रै वरपर हुनुहुन्छ ।
अन्ततः झम्के साँझमा बाटोबाटै घोडेपानीका घरहरूमा पिलपिल बत्ती टिम्किएको देखियो । मोबाइलको उज्यालोको सहाराले केहीबेर हिँडिनसक्दै घोडेपानीको होटलमा पुग्यौं । जहाँ हामीले दिउँसै अनलाइनबाट कोठा बुक गरेका थियौं । साहुनी दिदीको हँसिलो सत्कारमा चिया र मकै खायौं । होटल भरिभराउ देखिन्थ्यो । हामीजस्तै स्वदेशी विदेशी पर्यटकहरू होटलको चारैतिर छरिएर बसेका थिए । केहीबेर रूममा रिफ्रेस भएर झोला थन्काए पछि पुनः हामी डाइनिङ टेबलतर्फ लाग्यौं । घोडेपानीको तात्तातो उसिनेको आलु, चिकेनको केही परिकार लियौं । घरभेटी दिदीले पाहुना, भरिया र गाइडको थकाइ मार्नका लागि स्वागतार्थ दिइने तातो जिनिस अलिकति चाख्नोस् न थकाई स्वाट्ट हराउँछ भने पनि दिदीको आतिथ्यता नकार्न सकिएन ।
होटलमा विदेशी पर्यटकहरू आ-आफ्नो तालमा मग्नमस्त देखिन्थे । केही हाकिमी पाराका लाग्ने स्वदेशी मानिसहरू हामीप्रति चासो देखाउँदै बोल्ने बहाना खोजिरहेथे, हामी बेवास्ता गरेर निस्कियौं । अर्काको व्यक्तिगत मामिलामा चासो दिने यस्ता मान्छेहरू देख्दा मलाइ वाक्क लाग्छ । भोलिपल्ट सूर्योदय भेट्टाउन सबेरै उठ्नु थियो । घरबेटी दिदीले ५.४५ मा सूर्योदय हेर्न पुग्नैपर्छ है बहिनीहरू, बिहान ४.३० बजे हिँडिसक्नु भन्दै हुनुहुन्थ्यो । सबेरै झ्यालमा ठोक्किन आइपुगेको सिरेटोले ब्युँझायो । समयमै हामी बाटो लाग्यौं । कतै बत्तिको उज्यालो त कतै मोबाइलको सहारामा माथि उक्लने संकेत पच्छयाउँदै उकालो चढ्यौं ।
बिहानको चिसोमा उनेका बाक्ला ज्याकेट उकालो उक्लदै गर्दा भारी हुन थाले । पसिनाले लथपथ भैयो । लेक लाग्ने डरले भने मलाई भित्रभित्रै सताइरहेथ्यो । भर्खरका नौजवान युवाहरू ख्वारख्वारती हिँडेको देख्दा लोभ लागे पनि हामी भने उकालोमा विस्तारै विस्तारै लठ्ठीको सहाराले पाइला मिलाइ मिलाइ चढ्यौं । सिर्जना र अन्जुभन्दा हिँड्ने गति मेरो चर्कै थियो । झाडी र बुट्टयानको बीचमा सिमेन्टेड खुड्किला र समाउने बार तलदेखि माथिसम्म भएकाले पदयात्रीलाई सहज थियो । हामी माथि टुप्पोभन्दा पचास मिटर जति उकालोमा पुग्दा वरपर पहेँलो घाँसैघाँस देखिन्थ्यो । समुद्री सतहबाट ३२१० मिटर उचाइमा रहेको पुनहिल डाँडामा बिहानको ५.४५ बजे हामी पुग्यौं ।
माथि डाँडाको टुप्पोमा पुगेर सूर्योदय नियाल्दा पृथ्वीको माथिल्लो भूमिमा विराजमान भई बादलुको बिस्कुन बिच्छयाएर हत्केलामा अटिजाने सूर्योदय आफ्नी आमाको गर्भाशयबाट विस्तार विस्तार बाहिर निस्कदै गरेको महशुस गरिरहेथे । लागिरहेथ्यो, सूर्योदय जन्मको साक्षी भएर गर्भाशयको घर विस्तारै खुल्दै गरेको दृश्य नियालीरहेकी एक नर्स हुँ म ! जसले बच्चा जन्मिसकेपछि आफ्ना हत्केलामा रगतपच्छे भएको बालकको कोमल शरीरलाई न्यानो बनाउन मलमलको रुमालमा बेरिरहेको छ ! म सूर्योदयको त्यस मनमोहक क्षणलाई आफ्ना अर्धनयनका मुद्राबाट अर्धबेहोसी अवस्थामा रसस्वादन गरिरहेकी थिएँ । आहा ! त्यो सुन्दर क्षणका दृश्यहरू नजरकै समिपमा घरी घरी ताजा बनेर आइरहन्छन् ।
सूर्योदय अवलोकनपश्चात् केही पाइला उक्लेर पुनहिल लेखेको ठाउँमा पुग्दा लाग्थ्यो, स-सानो हाटबजार हो त्यो र त्यहाँ मानिसहरू हिमाल वरपर फिजाएर आ-आफ्नो व्यापारमा तल्लीन छन् । झोला एकातिर पन्छाएर हरेकजन फोटो भिडियो कैदमा मस्त देखिन्थे । कोही भ्यूटावरमा मग्नमस्त, कोही ध्यानमा लिन, कोही भने तात्तातो चिया कफीको बाफ उडाइरहेथे । हामी धित मरुञ्जेल झलमल्ल हिमालको दर्शन पछि एक-एक कप चिया पिएर चिसोलाई अलिकति मत्थर बनायौं । हिमालका फेदीमा देखिएका लालीगुराँसका पहाडहरू यतिबेला भने हल्का सुनौला रंगमा रङ्गिएर अदबका साथ मुस्कुराइरहेथे । अबचाहिँ ज्यान चिसिइसकेको थियो । झोलामा कोचेको एकसरो ज्याकेट झिकेर मैले फेरि उने । हिजोसम्म उत्तरतिर देखिएका हिमाल आज हाम्रो दक्षिणतर्फ लहरै उभिएका थिए । धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरीलगायत पन्ध्रवटा भन्दा बढी हिमालको हामी एकैपटक दर्शन गरेर रसस्वादन गर्यौं ।
पुनहिलको थाप्लोमा अघाउञ्जेल प्रकृतिको मनोरम छटालाई मन मस्तिष्क र क्यामेरामा कैद गरिसक्दा अघिसम्म देखिएको बाक्लो भिडभाड अब पातलिँदै गएको थियो । पारिबाट आएका बादलका टुक्राहरू हल्का हल्का हिमालसँग मितेरी गाँस्न तल्लीन देखिन्थे । अघि देखिएको झलमल्ल हिमाल अब हामीबाट ओझेल पर्दै 'ल आजलाई यति नै है !' भन्दै बिदाइको हात हल्लाइरहेको भान भैरहेथ्यो । केही क्षणमा हामी फर्कने तरखरमा लाग्यौं । आखिर दिनभर उडेको पन्छी आखिर साँझ फर्कने त आफ्नै गुँडमा न हो ।
कतिपय पर्यटकहरू घोडेपानी टाढापानी हुँदै साँझ घान्द्रुकमा बास बस्न जाने र भोलिपल्ट पोखरा फिर्दा रहेछन् । साथीहरू त्यसै गरौं न त भन्दै थिए । तर, मलाई साँझसम्म जसै पोखरा पुग्नु थियो । घरमा आजै फर्कने वाचा गरेकी थिएँ । बिहान डेढघण्टा लगाएर उक्लेको बाटो फर्कँदा करिब आधा घण्टामा नै ओर्लियौं । होटल पुगेर खाना खाइवरी विदाबादी भएर निस्कदा ११.३० भैसकेको थियो । सिर्जनाको जुत्ताले हिजैदेखि निहुँ खोज्दै थियो । अन्जु र सिर्जनाको तालमा हिँडदा तल जीप नपाइएला भन्ने तनावले सताइरहेथ्यो मलाई । हिजो चढेर गएको उकालो यात्रा आज ओरालीमा परिणत भइसकेथ्यो । ओरालोमा खुट्टा खाँदिएर हैरान भैदिन्छ । जीप रिर्जभ गर्नका लागि उनीहरू भन्दा अलिक छिटो हिँडेर अगाडि पुगे । म पुग्दा स्टेसनमा एउटा मात्र जीप थियो । अरु पर्यटक चढेर गइदिए तलबाट मगाउन समय लाग्ने कुराले भित्रैभित्रै पिरोलिएकी थिए । पाँच छ जनाको चाइनिज पर्यटकको समूहले पोखरासम्मको बाटोका लागि बार्गेनिङ गर्दै थिए तर भाडामा चित्त नबुझे पछि उनीहरू हिंडेरै तल झरे । साढे चार बजे तिखे ढुङ्गाबाट चढेको जीप हरिचोक आइपुग्दा रिमरिम अँध्यारो भैसकेथ्यो । ट्याक्सी लिएर घर पुग्दा छोराछोरी मेरै लागि आँखा विच्छयाइरहेथे ।
आज हामी तीनैजना आ-आफ्नो दुनियाँमा हराई रहेका छौं । कसैको सम्झनाले लुथ्रुक्क भिजाउन सँगसँगै उकाली ओराली गरेको हुनुपर्छ, कसैको निम्ति दुईथोपा आँशु चुहाउन मन धरक्क धर्किनुपर्छ, कोही कसैलाई सहानुभूति प्रकट गर्न भित्रैदेखि दुख्नुपर्छ, फगत चिनजानका आधारमा कोही कसैको मन मस्तिष्कमा बस्न सक्दैनन्। मेरो ढोकाको कुनामा अविचल उभिरहेको लठ्ठीले आज पनि मलाई पुनहिल यात्राको सम्झना गराइरहन्छ । त्यस यात्राको लठ्ठी साथीहरूसँग सुरक्षित होलान् या कतै मिल्किए ? पुनहिल यात्राका सहयात्रीहरूलाई हृदयमा संग्रहित गर्दै सँगसँगै उकाली ओराली गरेका ती पल स्मरण गरिरहेछु म आज ।
प्रतिक्रिया दिनुहोस !