स्याबास सन्दीप

स्याबास सन्दीप

काठमाडौं : नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) मा अनुबन्धित भएका छन्। उनले खेल्ने यो नवौं विदेशी लिग हुनेछ। मंगलबार पाकिस्तानको इस्लामाबादमा भएको खेलाडी ‘अक्सन’मा उनलाई लाहोर क्वालान्डर्सले लिएको हो। क्लबले लेग स्पिनर सन्दीपलाई गोल्ड क्याटेगोरीअन्तर्गत अनुबन्ध गर्‍यो।

लाहोरले गोल्ड क्याटेगोरीको पहिलो चरणमै सन्दीपलाई सुरक्षित गरेको थियो। पीएसएलको गोल्ड क्याटेगोरीका खेलाडीले कम्तीमा ५० हजार अमेरिकी डलर पाउँछन्। सन्दीपसँगै विश्वकै चर्चित खेलाडी दक्षिण अफ्रिकाका एबी डी भिलियर्स, पाकिस्तानका मोहम्मद हाफिज, वेस्ट इन्डिजका कार्लोस ब्राथवेट र न्युजिल्यान्डका कोरी एन्डर्सनले लाहोरबाटै खेल्ने छन्।

सन्दीपले आगामी सिजन विश्वकै चर्चित र महँगो इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्सबाट खेल्नेछन्। बिहीबार मात्रै दिल्लीले सन्दीपलाई पुनः टोलीमा लिने निश्चित गरेको थियो।

नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा सशक्त रुपमा उभ्याउँदै गर्दा सन्दीपले एकपछि अर्को सफलता प्राप्त गरिरहेका छन्। भर्खरै १८ वर्ष लागेका उनी धमाधम ठूला विदेशी लिगमा अनुबन्धित भइरहेका छन्।

सन् २०१८ मा उनले पहिलो पटक आईपीएल खेलेका थिए। त्यसयता क्यारेबियन प्रिमियर लिग (सीपीएल), अफगानिस्तान प्रिमियर लिग (एपीएल) जस्ता चर्चित लिग खेलिसकेका छन्। उनले निकट भविष्यमा बंगलादेश प्रिमियर लिग (बीपीएल), आईपीएलको सन् २०१९ सिजन, पीएसएल र अष्ट्रेलियन बिग ब्यास लिगसमेत खेल्ने पक्का भइसकेको छ।

यससँगै खेलेरै करोडौं कमाउने खेलाडी बनेका छन् सन्दीप।

सन्दीपले पछिल्लो एक वर्षमा विदेशी लिग र व्यक्तिगत प्रायोजनमार्फत दुई करोडभन्दा बढी रकम कमाइसकेका छन्। उनी अहिले क्रिकेटको पछिल्लो स्वरुप टी–टेन (१० ओभरको खेल) लिग खेल्न संयुक्त अरब ईमिरेट्स (यूएई) मा छन्। उनी अनुबन्धित विदेशी लिग खेल्न अबको झण्डै एक वर्ष उनी देशबाहिर रहनेछन्।

यूएईको टी–टेन लिग सकेर डिसेम्बर ३ मा उनी नेपाल फर्कनेछन्। त्यसपछि उनले कीर्तिपुर मैदानमा हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुरबाट लिग चरणको दुई खेल खेल्ने सम्भावना छ। लगत्तै उनी बिग ब्यास लिग खेल्न अष्टे«लियातर्फ लाग्ने छन्। बिग ब्यासको क्याम्प बीचैमा छाडेर सन्दीप उतैबाट बीपीएल खेल्न बंगलादेश पुग्नेछन्। बीपीएल सक्किएपछि उनी फेरि बिग ब्यासको बाँकी खेल खेल्न अष्ट्रलिया फर्कने छन्। त्यसपछि आईपीएल र पीएसएलको तयारीमा जुट्ने छन्।

सन्दीप अनुबन्ध भएका विदेशी लिग र अनुबन्धित रकम 

बिग ब्यास लिग (अस्ट्रेलिया) – ६० हजार डलर (६९ लाख ५२ हजार)

ग्लोबल टी–ट्वेन्टी लिग (क्यानडा) – ४० हजार डलर (४६ लाख ४० हजार)

इन्डियन प्रिमियर लिग (२०१८) – २० लाख भारु (३२ लाख २० हजार नेपाली)

इन्डियन प्रिमियर लिग (२०१९) – उनले पाउने रकम तय हुन बाँकी छ।

अफगानिस्तान प्रिमियर लिग (एपीएल) – १५ हजार डलर (१७ लाख ४० हजार)

टी–टेन लिग (युएई) – ३० हजार डलर (३४ लाख ८० हजार)

क्यारेबियन प्रिमियर लिग (सीपीएल) – ५ हजार डलर (५ लाख ८० हजार)

पाकिस्तान सुपर लिग (पीएसएल)    – ५० हजार अमेरिकी डलर (५७ लाख १७ हजार)

बंगलादेश प्रिमियर लिग (बीपीएल), बंगलादेश)              

हङ्कङ टीट्वेन्टी ब्लिज, हङकङ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.