मुलुकको समृद्धि कामना गर्दै मोहम्मद जयन्ती (फोटो फिचर)
भैरहवा : मुस्लिम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको १४ सय ९३ औँ जन्मोत्सव भैरहवामा हर्षोल्लासका साथ मनाइएको छ । मुलुकको समृद्धिको कामना गर्दै भैरहवामा पैगम्बर हजरत मोहम्मद जन्मोत्सव हर्षोल्लासका साथ मनाइएको हो । जन्मोत्सवको अवसरमा बुधवार र्याली निकालिएको छ ।
मुस्लिम समुदायको विभिन्न सङ्घसंस्था, मदरसा, मस्जिद लगायतको आयोजनामा गल्लामण्डीबाट सुरु भएको र्याली नारायण पथ, बुद्ध चोक, देवकोटा चोक, बैङ्क रोड लगायतका स्थानमामा परिक्रमा गरिएको छ ।
हजारौँको सङ्ख्यामा निकालिएको र्यालीमा प्रदेश नम्बरमा ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेय, पूर्व सांसद इस्तियाक अहमद खान, सङ्घीय समाजवादी फोरम नेपालका कनैहिया बनिया लगायतको सहभागिता रहेको थियो ।
र्यालीमा सहभागीहरूले प्ले कार्ड, धार्मिक वस्त्र, धार्मिक झन्डा, राष्ट्रिय झन्डासहित जन्मोत्सवको खुसीयालीमा नारा लगाएका थिए ।
बजार परिक्रमा सकिएपछि भैरहवास्थित गल्लामण्डीको रह मानिया मस्जिदमा आयोजना गरिएको कार्यक्रममा वक्ताहरूले सरकारसँग मोहम्मद जयन्तीको दिन सार्वजनिक बिदा दिनुपर्ने, सहज कमिटीलाई व्यवस्थित बनाउनु पर्ने, मदरसालाई अन्य सरकारी विद्यालय सरह सेवा सुविधा दिनुपर्ने लगायतका माग गरेका छन् ।
सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने मुस्लिम संयुक्त सङ्घर्ष समितीसगँ केही वर्ष अघि सम्झौता गरे पनि कार्यान्यवन नगरेकोमा मुस्लिम वेलफेयर सोसाइटीका सचिव मोहम्मद अकालले दुःख व्यक्त गरे ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजारी सम्वतको रब्बिउल औवल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । जन्मदिनको खुसीयालीमा मुस्लिम समुदायले जश्ने इद मिलादुन नवि (रबिउल औवल) को रूपमा मनाउने गर्दछन् ।
हर्षोल्लासका साथ मनाइने मोहम्मद जयन्तीको दिन वर्षौदेखि मुस्लिम समुदायले सार्वजनिक बिदा दिन माग गरे पनि सरकारले आश्वासन मात्र दिँदै आएको मुस्लिम अगुवाहरूको आरोप छ ।
केन्द्र र ६ वटा प्रदेश सरकारले मोहम्मद जयन्तीको दिन सार्वजनिक बिदा नदिए पनि प्रदेश नम्बर २ सरकारले भने मोहम्मद जयन्ती मनाउनका लागि सार्वजनिक बिदा दिएको छ ।