बहादुर युवतीको फन्दामा परेपछि लुटेराको रुवाबासी (भिडियोसहित)
मनोस : ब्राजिलमा घर बाहिर एक्लै उभिएकी युवतीबाट मोबाइल खोस्न खोज्दा एकजना लुटेराले नमिठो पाठ सिक्नु परेको छ। आफूबाट मोबाइल खोस्न आएको चोरलाई ती युवतीले जीवनभर नभुल्ने पाठ पढाएकी छन् ।
पछिल्लो चार वर्षदेखि 'सेल्फ डिफेन्स' का लागि मार्सल आर्टको तालिम लिइरहेकी युवतीले जब लुटेरालाई आफ्नो फन्दामा पारिन् तब उसले रुँदै छाडिदिन गुहार माग्यो । पुलिसले आरोपीलाई गिरफ्तार गरेर लुटपाटको मुद्दा दर्ता गराएको छ ।
यो घटना यही मंगलबार ब्राजिलको मनोस शहरमा बस्दै आएकी २२ वर्षीया युवती सबरिना लिट्ससँग भएको हो । त्यस दिन सबरिना आफ्नो घर बाहिर उभिएकी थिइन् । त्यही बेला मोटरसाइकलमा सवार दुई युवा उनी नजिक आएर मोबाइल खोस्न थाले ।
तर उनीहरु दुवैजना खाली हात थिए । त्यसपछि सबरिनाले हतियार नभएको ठहर गरेर आफ्नो मोबाइल घर भित्र फालिदिइन् । मोबाइल फालिदिएपछि उनी ती दुई चोरसँग भिड्न तयार भइन् ।
समाचार अनुसार सबरिना चार वर्षअघिदेखि जियु-जुत्सी (एक किसिमको मार्शल आर्ट) को तालिम लिइरहेकी थिइन् । तर यो कुरा चोर्न आएका दुवैजनालाई थाहा नहुँदा उनीहरुले नमिठो पाठ पढ्नु पर्यो ।
युवतीले अचानक जाइ लागेपछि दुवै लुटेर त्यहाँबाट भाग्न थाले । तर त्यही बेला सबरिनाले एकजनालाई दौडेर पक्रन सफल भइन् अनि तत्कालै जमिनमा पछारिन् । 'आर्म लक' मार्फत् उनले लुटेरका दुवै हात आफ्नो खुट्टाबीचमा फसाइदिइन् ।
रुन थाले लुटेरा
युवतीले लुटेरालाई यति कडारुपमा अल्झाइन् कि उनी त्यहीँ रुन थाले । युवतीविरुद्ध केही गर्न नसकेपछि पीडाले चिच्याउँदै ती लुटेरा रुन थाले । यस क्रममा सबरिनाले नराम्ररी ती लुटेराको हात बटारिदिइन् । त्यहीँ उभिएका उनका छिमेकीले यो दृश्य मोबाइलमा कैद गरिरहेका थिए ।
नराम्ररी फसेपछि पीडाले चिच्याउँदै ती लुटेरा 'अब यस्तो गर्दिन, गर्दै गर्दिन' भन्दै चिच्याउन थाले । आरोपीको नाम मगडिल डा-सिल्भा (१८) थियो । तर उनका एक साथी भने भाग्न सफल भए ।
सबरिना पछिल्लो चार वर्षदेखि मार्शल आर्ट सिकिरहेकी थिइन् । उनी यसमा व्हाइट बेल्ट पनि हुन् । यसका अलावा सबरिना फ्लाइट अटेन्डेन्टको अध्ययनमा पनि व्यस्त थिइन् । उनका अनुसार आफ्नो घरदेखि यसअघि पनि चारवटा फोन चोरी भइसकेका थिए । त्यसपछि उनले फोन चोरलाई पाठ सिकाउने योजना बनाएकी थिइन् ।
सबरिनाले भनिन्, 'लुटेरालाई खाली हात देखेपछि मैले उनीहरुसँग कुनै हतियार नभएको बुझेँ । यस्तोमा मैले उनीहरुसँग भिड्ने निर्णय लिएँ । यदि उनीहरुसँग हतियार थियो भने म यसरी भिड्दिनथिएँ ।'
एजेन्सीको सहयोगमा