अर्जेन्टिनालाई हराएको खुशीमा साउदीमा सार्वजनिक बिदा
![अर्जेन्टिनालाई हराएको खुशीमा साउदीमा सार्वजनिक बिदा](https://annapurnapost.prixacdn.net/media/albums/ksavsarg_20221122225901_jjBs1knlJk.jpg)
रियाद : विश्वकपमा दक्षिण अमेरिकी महारथी अर्जेन्टिनलाई पराजित गरेसँगै साउदी अरबमा खुशी मनाउन बुधबार सार्वजनिक बिदा दिइने भएको छ। साउदीका राजकुमार मोहम्मद बिन सलमानले ऐतिहासिक दिनको खुशी मनाउन गरेको सार्वजनिक छुट्टीको प्रस्ताव राजा सलमानले स्वीकृत गरेसँगै छुट्टी निश्चित भएको हो।
बुधबार सम्पूर्ण विद्यार्थी, सरकारी तथा निजी क्षेत्र बिदा हुने निश्चित भएको अरबी सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्। समूह ‘सी’अन्तर्गत बुधबार पहिलो हाफमा पेनाल्टीमार्फत लिएको ०-१ को अग्रता जोगाउन नसक्दा अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित भएको थियो। लियान्ड्रो पेरेडेजलाई साउदीका डिफेन्डरले १८ यार्ड बक्समा लडाएपछि पाएको पेनाल्टीमा मेसीले गोल गरेका थिए।
दोस्रो हाफको सुरुआती आठ मिनेटमै दुई गोल फर्काएको साउदीले त्यसको बचाऊ गर्दै अविश्वसनीय जित निकालेको थियो। साउदीलाई जिताउन सले अलशेहेरी र सलिम अलदावसरीले एक-एक गोल गरेका थिए।
पहिलो हाफमा साउदीमाथि हाबी बनेको अर्जेन्टिनाका लागि मेसीले गरेको एउटा गोल अफसाइडका कारण रद्द भएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)