वाइड बडी प्रकरणमा कांग्रेसको चासो

वाइड बडी प्रकरणमा कांग्रेसको चासो

काठमाडौं : वाइड बडी खरिद अनियमितता सम्बन्धमा कांग्रेसले चासो देखाएको छ । यस प्रकरणमा सरकारले यथार्थ कुरा सार्वजनिक गर्नुपर्नेमा उसले माग गरेको छ । वाइड बडी किनेर हो कि भाडामा ल्याइएको हो भन्ने विषयमा सरोकारवाला निकायबाट फरकफरक मत आएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

‘वाइड बडी प्रकरणको वास्तविकता रहस्यमय बन्नु गम्भीर छ’, पार्टीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाई फ्लाई एक्ससँग जहाज खरिद गरिएको हो कि नियोजित रूपले नयाँ दर्ता गरिएको सो कम्पनीले एयर बससँग खरिद गरेर नेपाल एयरलाइन्सलाई भाडामा उपलब्ध गराएको हो ? ’ सार्वजनिक खरिद ऐनको पालना भएको छ कि छैन भन्ने विषयमा घोटालाको आशंका रहेकाले यसमाथि छानबिन गर्न कांग्रेसले मागसमेत गरेको छ ।

‘वाइड बडी प्रकरणमा सरकारले यथार्थ छानबिन गर्नुपर्छ भन्ने कांग्रेसको माग हो’, पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा शर्माले भने, ‘यसअघि हामीले केन्द्रीय कार्यसमितिबाट छानबिनको माग गरेका थियौं । त्यसलाई पुनः दोहोर्‍याउँछौं ।’

यस प्रकरणबाट सरकार पूर्ण रूपमा भ्रष्टाचारमा लिप्त रहेको प्रस्ट भएको उनको भनाइ छ । सत्तारूढ दल नै सहभागी रहेका कारण यो विषयलाई गुपचुप पार्न खाोजिएको उनले दाबी गरे । ‘त्यसैले यसको प्रस्ट छानबिन हुनैपर्छ’, उनले भने ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई पनि महिनौंसम्म कारबाही नगरेर सरकारले स्वेच्छाचारी कदम चालेको शर्माको आरोप छ । नयाँ सरकार गठन भएको ९ महिना सकिनै लाग्दा पनि केही काम नभएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ । सरकार लोकतान्त्रिक मूल्यमान्यताविपरीत अघि बढेको प्रवक्ता शर्माको भनाइ छ । ‘मन्त्रिपरिषद् बैठकका निर्णय सात दिनसम्म सार्वजनिक नगरेर सरकारले के सन्देश दिन खाजेको हो’, उनले प्रश्न गरे ।

केन्द्रीय समिति बैठक बस्दै

यसैबीच कांग्रेसले आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ । मंसिरको अन्तिम साता काठमाडौंमा हुने महासमिति भेलालाई लक्ष्य गरेर बैठक बस्न लागेको हो । बैठकमा विधान मस्यौदा समितिले प्रतिवेदन पेस गर्ने कार्ययोजना रहेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

‘बैठकमा केन्द्रीय सदस्यलाई अध्ययनका लागि प्रतिवेदन बाँडिनेछ । त्यसको दुई दिनपछि एक हप्तासम्मका लागि लगातार बैठक बस्नेछ’, उनले भने । समितिले अहिले आएका सुझाव र विकल्पसहितकै प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्ने र केन्द्रीय सदस्यले आआफ्नो धारणा राखिसकेपछि पुनः त्यसमा काम हुने उपसभापति निधिले बताए । कांग्रेसको विधानलाई लिएर पार्टीभित्र मतभिन्नता सार्वजनिक भएको थियो ।

महासमिति भेलामा पेस गरिने विधानदेखि अन्य सबै प्रतिवेदन पर्टीको शीर्ष तहको सहमतमै आउने पार्टी प्रवक्ता शर्माको दाबी छ । महासमिति तयारीस्वरूप राजनीतिक, आर्थिक र संगठनसम्बन्धी प्रतिवेदन लेख्ने काम अघि बढिसकेको उनले बताए । ‘आर्थिक र राजनीतिक प्रतिवेदनका लागि प्रदेशस्तरीय छलफल कार्यक्रमसमेत बिहीबार नै सकिएको छ । अब समितिले केही दिनभित्रै प्रतिवेदनलाई अन्तिम टुंगो लगाउनेछ’, उनले भने ।

भृकृटीमण्डपमा गरिने भनिएको महासमिति भेला अब पार्टी कार्यलयमै गरिने उनले जानकारी दिए । महासमिति भेला मंसिर २८ देखि पुस ३ सम्म हुँदै छ ।

बुधबार पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा. प्रकाशशरण महतबीचमा करिब दुई घण्टा अनौपचारिक छलफल भएको थियो । छलफलमा सभापति देउवाले वरिष्ठ नेता पौडेललाई महासमितिसम्म काठमाडौंबाहिर नजान आग्रह गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.