काम खाेज्न भारत जानेको निःशुल्क दुर्घटना बिमा
बैतडी : पाटन नगरपालिकाले कामका लागि भारत जाने नगरवासीको निःशुल्क दुर्घटना बिमा गर्ने भएको छ। रोजगारीका लागि अन्य देशमा जानेहरूको बिमा गरिने भए पनि भारतमा जाने नागरिकको बिमा गर्ने गरिएको थिएन।
भारतमा रोजगारी सिलसिलामा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै बिमा गर्ने तयारी भएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए। उनले भने, ‘रोजगारीका लागि भारत जाने नागरिकको बिमा गर्ने चलन छैन। जोखिममा परेका नागरिकलाई सहयोग गर्न आप्रवासीको बिमा गर्ने योजना अघि सारेका हौं।’
पहिलो चरणमा नगरपालिकाबाट भारतमा रोजगारी गर्न गएका सय नागरिकको निःशुल्क दुर्घटना बिमा गर्ने लक्ष्य लिइएको छ। नगरपालिकाभित्रका तीनवटा सहकारीमा आबद्ध सेयर सदस्यका घरपरिवारबाट कोही भारत गएको भए उनीहरूको बिमा गरिने नगरप्रमुख चन्दले बताए। उनले भने, ‘हामीले उदयदेव, सिद्धेश्वर र महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा आबद्ध सेयर सदस्यका परिवारमध्ये रोजगारीका लागि भारत गएको भए उनीहरूको दुर्घटना बिमा गर्ने योजना बनाएका छौं।’
पाटन नगरपालिका र ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज रुडेस बैतडीको सहकार्यमा बिमा गरिन लागेको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए। उनका अनुसार कोही दुर्घटना भएमा बिमितले तोकिएको सेवासुविधा पाउनेछ। एसियन लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडसँग मिलेर दुर्घटना बिमा गरिन लागेको जोशीले बताए। उनले भने, ‘एक जनाको वार्षिक ७ सय ५० किस्ता पर्छ, उक्त किस्ता नगरपालिका र रुडेसले मिलेर तिर्छ। यसो गर्दा समस्यामा परेका बेला नागरिकलाई सजिलो हुन्छ।’
नगरपालिकाले ल्याएको बिमा योजना निकै सराहनीय भएको पाटनका मानबहादुर चन्दले बताए। उनले भने, ‘नगरपालिकाले बनाएको योजना चाँडै कार्यान्वयनमा ल्याउनुपर्छ।’