एसीसीको सहकार्य निर्वाचित क्यानसँग

एसीसीको सहकार्य निर्वाचित क्यानसँग

काठमाडौं : एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिसँग काम गर्न सुरु गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनमा रहेकै बेला उसको क्षेत्रीय संगठन एसीसीले भने क्यानको निर्वाचित समितिलाई आफ्नो निर्वाचन साधारणसभामा सहभागी गराएको छ।

यसले नेपाली क्रिकेटलाई सुखद सन्देश दिएको छ। यही मंसिर १ गते पाकिस्तानको लाहोरमा भएको निर्वाचन साधारणसभामा एसीसीकै निमन्त्रणामा क्यान निर्वाचित समितिका महासचिव अशोकनाथ प्याकुरेल सहभागी भएर फर्किएका छन्। महासचिव प्याकुरेलले एसीसीको आधिकारिक सदस्य राष्ट्रकै हैसियतमा आफूलाई साधारणसभामा सहभागी गराएको प्रतिक्रिया दिए। ‘हामीलाई एसीसीबाटै निमन्त्रणा आएको थियो। मेरो एक्रिडिटेसन कार्ड नेपालको आधिकारिक प्रतिनिधिको रूपमा बनेको छ’, महासचिव प्याकुरेलले भने, ‘निर्वाचन साधारणसभामा पनि अन्य आधिकारिक सदस्य राष्ट्रहरूकै जसरी नेपालको आधिकारिक प्रतिनिधिको रूपमा सहभागी हुने अवसर पाएँ, जुन नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि मानेको छु।’

चुनावी साधारणसभाले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष नजमुलहसन पपोनलाई अध्यक्षमा चुनेको छ। यस्तै आईसीसीका समेत उपाध्यक्ष रहेका इमरान ख्वाजालाई उपाध्यक्षमा चयन गरेको छ। आईसीसी उपाध्यक्ष ख्वाजासहित आईसीसीका प्रतिनिधिका रूपमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेभिड रिचर्ड्सनसमेत उपस्थित रहेको चुनावी साधारणसभामा सहभागिताको निमन्त्रणा नेपाली क्रिकेटका लागि निकै सकारात्मक उपलब्धि भएको महासचिव प्याकुरेलले बताए।

‘हामी दुई वर्षअघि पनि एसीसी साधारणसभामा सहभागी भएका थियौं। तर, यस पटकको सहभागिता निकै अर्थपूर्ण छ। नेपाली क्रिकेट निलम्बन फुकुवाको प्रक्रियामा संलग्न ख्वाजा र रिचर्डसनकै सहभागितामा भएको एसीसीको निर्वाचनमा सहभागी हुन पाएका छौं’, महासचिव प्याकुरेलले भने, ‘फ्लोरमा बोल्ने क्रममा समेत मैले नेपाली क्रिकेटको बारे सबै कुरा जानकारी गराएँ। अनौपचारिक रूपमा आईसीसीका प्रतिनिधिहरूले समेत नेपाली क्रिकेट निलम्बन फुकुवाको प्रक्रियामा रहेको जानकारी गराए। नेपाली क्रिकेटका लागि यो निकै सुखद अवसर बनेको महसुस गरेको छु।’

नेपाली क्रिकेट झन्डै पछिल्लो ३० महिनायता आईसीसीको निलम्बनमा रहँदै आइरहेको छ। पूर्वनिर्धारित मितिमा तत्कालीन उपाध्यक्ष चतुरबहादुर चन्द नेतृत्वको बहुमत पदाधिकारीहरूले निर्वाचन साधारणसभा गरी नयाँ कार्यसमितिको चयन गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) त्यसलाई मान्यता नदिई समानान्तरमा तदर्थ समितिको गठन गरेको थियो। त्यसपछि आईसीसीले निष्पक्ष निर्वाचन हुन नसकेको र सरकारी हस्तक्षेप भएको दुई कारण जनाउँदै गत २०७३ वैशाख १२ गते क्यानमाथि निलम्बनको निर्णय गरेको थियो। त्यसयता नेपाली क्रिकेटले धेरै समस्या बेहोर्दै आइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.