महेश बस्नेतको आरोप : नेमकिपा भक्तपुरको विकास विरोधी
भक्तपुर : प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपाल मजदूर किसान पार्टीका नेताहरु विकास विरोधी भएको आरोप लगाएका छन् ।
भक्तपुरमा एभरेस्ट मिसन डट कमको दोस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा उनले नारायणमान बिजुक्छे नेतृत्को नेमकिपामाथि गम्भीर आरोप लगाएका हुन् ।
'त्रिभुवन विश्वविद्यालय खरिपाटीमा राख्न खोज्दा विरोध गर्दा कीर्तिपुर गयो, काठमाडौँ विश्वविद्यालय चाँगुनाराणमा राख्न खोज्दा धुलिखेल गयो, भक्तपुरमा आउन लागेको अस्पतालको पनि त्यसैगरी विरोध भयो', उनले आक्रोशित हुँदै भने, '३ नं प्रदेशको अस्थायी राजधानी भक्तपुरमा राख्न खोज्दा पनि विरोध ग्यो, अहिले अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न लाग्दा पनि बिरोध गर्दैछ, नेमकिपा भक्तपुरको विकासमा बाधक बन्दै आएको छ ।'
कार्यक्रममा प्रतिनिधिसभा सदस्य मैना भण्डारीले देशको विकासलाई अगाडि बढाउने गरी विकास पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै सञ्चारमाध्यम निष्पक्ष भएर जान नसकेको गुनासो गरिन् । कार्यक्रममा नेकपा भक्तपुरका अध्यक्ष वचन देउजाले सञ्चारमाध्यम निष्पक्ष भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । रासस