मुख चलाएर मात्रै विकास हुँदैन : अर्थमन्त्री खतिवडा
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले निजी र सहकारी क्षेत्रलाई प्रदेश र स्थानीय सरकारका दुई हातको रुपमा तुलना गरेका छन् ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी स्थानीय तहले यी दुवै हातलाई सही रुपमा चलाउनुपर्ने उनको धारणा छ । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोग र राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भुमिका विषयक प्रादेशिक गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
स्थानीय तथा प्रदेशका जनप्रतिनिधिहरु सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सहकारी र निजी स्थानीय सहकारका दुई हात हुन् भने दिमाग स्थानीय सरकार हो । मुख मात्र चलाएर विकास हुँदैन त्यसैले यी दुई क्षेत्रलाई भुमिका दिन तयार हुनुपर्छ ।’
सहकारीको पुँजीलाई उद्योग पूर्वाधारमा लगानी गर्ने केही कानुनी अवरोध रहेको पनि उनले औँल्याएका थिए । र तिनलाई सच्याउने पनि आश्वासन दिएका छन् । मन्त्री खतिवडाले स्थानीय तहलाई कृषि थोक बजार बनाइदिएर बजारलाई व्यवस्थित गर्न समेत आग्रह गरेका छन् ।
साथै सहकारीमार्फत उत्पादक शक्तिलाई सामूहिकीकरण गर्न, न्यायपूर्ण समाज निर्माण गर्न र नागरिकलाई उत्पादनसँग जोड्न स्थानीय तहले भूमिका खेल्नसक्ने उनको सुझाव थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी अभियान दिगो विकास लक्ष्य प्राप्तिका लागि सक्षम भएको बताएका थिए ।