कथा समयको प्रतिविम्ब

कथा समयको प्रतिविम्ब

एक दशकदेखि कथा लेखिरहेका छन्, दिनमान गुर्मछान। निम्न मध्यमवर्गीय जनजीवनमाथि कथा लेख्न लेखिएको उनको पहिलो कथासंग्रह ‘दंश’ भर्खरै प्रकाशित छ। उनका कथामा नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मानिसका अन्तर्य भेटिन्छ। सरकारी निकायबाट सर्वसाधारणले भोगिरहेको सास्ती पनि उनका कथाका विषय हुन्। गुर्मछानसँग ‘दंश’ र नेपाली कथाकारिताका विविध आयाममा केन्द्रित भएर निर्भीकजंग रायमाझीले कुराकानी गरेका छन् :

हामीलाई कथा किन चाहिन्छ ?

कथा वास्तवमै समाजको विगत र वर्तमानको प्रतिविम्ब हो। त्यसैले समाज वरिपरिको सेरोफेरो, संस्कृति, राजनीतिक वातावरण तथा विचार बुझ्न हामीलाई कथा चाहिन्छ।

तपार्ईंका कथामा प्रयुक्त स्थान तराई देखिन्छ। कथामा आञ्चलिकताको के महत्व हुन्छ ?

कथाले कुनै न कुनै परिवेश बोक्छ नै। मेरा अधिकांश कथाले तराई र पहाडको प्रतिनिधित्व गर्छन्। तराईमा जन्मे, हुर्केकोले म तराईको भूगोलसँग मात्रै होइन, त्यहाँको समाजसँग पनि नजिक छु। तराईमा नलेखिएका थुप्रै कथा छन्, अझ मानिसलाई मर्माहत बनाउने किसिमका कथा ! यस्ता कतिपय पक्षसित साक्षात्कार भएँ, तिनले मनमा छुँदा त्यहाँको कथा लेखेंँ।

कथा समाजको बारेमा लेखिने भएपछि पात्र र चरित्रसँग त्यहाँ समाज पनि आउनै पर्छ। हामीले लेख्नुपर्ने कथाहरू हाम्रै माटोको भयो भने राम्रा। जब तपाईं कथामा धरातलीय यथार्थ लेख्न खोज्नुहुन्छ, त्यहाँ आञ्चलिकता चाहिन्छ नै। यसले कथाको वास्तविकतालाई नजिकबाट नियाल्न मद्दत पु¥याउँछ। यसो भन्दैमा अन्य किसिमका कथाको विपक्षमा म छैन।

दंशमा प्रस्तुत गर्न खोज्नुभएको मूल विषय के हो ?

‘दंश’ समकालीन नेपाली जीवनका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं मनोवैज्ञानिक रूपमा उनिएका कथाको संकलन हो। यसमा तपाईं आफ्नो समाजको चित्र पाउनुहुनेछ। यही समाजको आजको अवस्था र भोग्नु परेको दुर्दशाको अनुहार पढ्न पाउनु हुनेछ। हिजो द्वन्द्वले निम्त्याएको बीभत्सतामा, आजको समाजले भोग्नुपरेको अवस्था, परदेसिनुको पीडा, मधेस आन्दोलनजस्ता घटना कथामा आएका छन्। चरम गरिबी र शक्तिहीनहरूले भोग्नु परेका दारुणिक कथादेखि प्रेम, यौन र घातका कथासम्म यसमा समेटिएकाले यो कथासंग्रहमा फरकफरक किसिमको स्वाद पाउन सकिनेछ। तर बहुमतमा चाहिँ यो नेपाली समय र समाजको जीवन्त कथाको सँगालो हो, जसको मूल विषय चाहिँ युगौंदेखि आजसम्म पनि हामी डसित र पीडित छौं भन्ने हो। र, यो अवस्थाबाट अब उठ्नुपर्छ भन्ने पाठक आफैं बुझ्नेछन्।

तपाईंका अधिकांश कथामा समस्याप्रधान घटनामा पात्रहरू रुमल्लिएका देखिन्छन्, यस्तो किन भएको हो ?

सामान्यतयाः कथा भनेकै कुनै घटनामा आधारित हुन्छ। दैनिकी वा केही विवरणले मात्र कथा हुँदैन। जीवनका सानाठूला समस्या पनि कथाको राम्रो विषय बन्न सक्छन्। तर, कथाकारले कथामा समस्या समाधान गरिदिने होइन, उसले त पाठकलाई त्यो आफ्नै समस्या हो भन्ने भान पारिदिनुपर्छ।

समस्या समाधानका लागि स्वस्फुर्त विवेक प्रयोग गर्ने हदसम्म पाठकलाई छोडिदिनुपर्छ। मेरा कथाले साना समस्यालाई औंल्याएको छ, जसलाई पाठकले मिहिन ढंगले बुझ्नेछन् र आफ्नो विचार बनाउनेछन्। यसले पाठक झन् सचेत हुन सक्छ। त्यसैले यसलाई समस्यामा रुमल्लिएको मात्र भन्न मिल्दैन।

दंशका कथाहरू भन्ने शैली उस्तै पाइन्छ, किन यस्तो ?

कथा भन्ने शैली हरेकका आ–आफ्नै हुन्छन्। लेखकले आफ्नो शैलीबाटै आफ्नो पहिचान बनाउन खोज्छ। जहाँसम्म मेरा कथाहरूको कुरो छ, धेरै कथा भन्ने शैली उस्तै भए पनि कथाको उद्गम र अन्त्यको शैली बिल्कुल बेग्लै छ। कथामा विविधता हुनुपर्छ भन्ने म सोच्छु। त्यसैले पाठकले मेरो कथालाई सकारात्मक हिसाबले आस्वादन गर्नेछन् भन्नेमा मलाई विश्वास छ।

तपाईंको कथामा नेपाल प्रहरी, अपराध र भ्रमका घटना धेरै आउँछन्। हाम्रो सुरक्षा निकाय र समाज कथामा भनेजस्तै विकराल छ ?

मेरा कथाहरू हाम्रै वरिपरि घटिरहेका घटनामा आधारित छन्। आख्यानमा कल्पना मात्रै गरिएको हुन्न। सर्जकले देखेको सत्यलाई अघि सार्नै पर्छ। यथार्थबाट हामी कहिलेसम्म भागिरहने ? जहाँसम्म मेरा कथाको कुरा छ ती कथाले हाम्रै समाजको वास्तविकतालाई अघि सारेका छन्। यिनमा हाम्रै वरिपरि घटेका अपराधलाई नंग्याउन खोजिएको छ। जहाँसम्म भ्रमका घटनामा आधारित कथा भनियो, भ्रमभित्र कति सत्यता छ त्यो पनि हेरिनुप¥यो। भ्रमका कथामा यो संसार महिलाबिना चल्न सक्दैन भन्ने सन्देश पनि छ।

आख्यान एउटा कला हो कि समाज र जीवनको प्रतिविम्ब वा प्रतिरूप हो ?

आख्यान समाज र जीवनको प्रतिरूप नै हो तर कलाबिनाको चाहिँ होइन।

आजका नेपाली कथा एकैसाथ धेरै कथाकारहरूसँगै अघि बढेको छ, आजका समस्या के छन् ?

पछिल्लो नेपाली कथा–लेखन कमजोर बन्दै गएको गुनासो पनि छ। संख्यात्मक हिसाबले पनि कथा लेखनको गति धीमा छ। तर, ६० को दशकदेखि नै केही राम्रा कथाकार देखापरेका छन् र कथा लेखनमा नयाँ शैली, विषयले प्रवेश पनि पाएको छ। यो हिसाबले आजको कथा लेखन भनिए जति कमजोर छैन। तर, समस्या नभएका भने होइनन्। आजको मुख्य समस्या बजारको अनुहार हेरेर लेखिन्छ। यसले कथा मात्रै होइन अरू विधालाई पनि कमजोर बनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.