झापामा सौर्य उर्जाबाट १० मेघावाट विद्युत उत्पादन हुने
भद्रपुर : झापामा सौर्य उर्जाबाट व्यवसायिकरुपमा विद्युत उत्पादन गरिने भएको छ। सोलार एनर्जीबाट १० मेघावाटसम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिएर झापा एनर्जी लिमिटेड प्रालि दर्ता गरिएको झापा क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य बसन्त बानियाँले जानकारी दिए।
काठमाडौंलगायत देश विदेशमा रहेका झापाका सांसद, पूर्व सांसद, व्यावसायी र सामाजिक अगुवाको उस्थितिमा शनिबार काठमाडौंमा भएको भेलाले रामचन्द्र अर्यालको संयोजकत्वमा १३ सदस्यीय समिति समेत गठन गरेको छ।
समितिको शनिबार बसेको पहिलो बैठकमा १ करोड ३० लाख बराबरको सेयर पूँजी जम्मा हुने अंकसहितको प्रतिबद्धता प्राप्त भएको प्रदेशसभा सदस्य बानियाँले जानकारी दिए। छलफलमा सहभागीलाई झापा क्षेत्र नम्बर ४ का संघीय सांसद सदस्य एल.पि साँवाले सौर्य उर्जा कम्पनीको बारेमा विस्तृत जानकारी गराएका थिए।
आगामी मंसिर २५ गतेसम्ममा २५ प्रतिशत कम्पनीको खातामा रकम जम्मा हुने भएको पनि प्रदेशसभा सदस्य बानियाँले बताए।