सामाजिक सुरक्षा अभियानमा सघाउन निजी क्षेत्र तयार
काठमाडौं : सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रमलार्इ साथ दिन तयार रहेको उद्योगी व्यवसायीहरूले बताएका छन्। मंगलबार राजधानीमा आयोजित सामाजिक सुरक्षा घोषणा समारोहमा उनीहरूले सरकारको मिसनमा सघाउन निजी क्षेत्र तयार रहेको बताएका हुन्।
कायर्क्रममा उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सामाजिक रूपान्तरणको सुरूवात भएको र श्रम बजारलार्इ गतिशील बनाउने आफूहरूको चाहनेले मूर्तरूप लिँदा खुसी लागेको बताइन्।
कार्यक्रमलार्इ सफल बनाउन रोजगारदाता र श्रमिकको तथ्यांक संकलन गर्न चुनौती रहेको उनले बताइन्। यस योजनाले औद्योगिक शान्ति हुने विश्वास व्यक्त गर्दै उनले योजना कार्यान्वयनमा आउने समस्याका लागि सरोकारवाला तयार हुनेपर्नेमा जोड दिइन् ।
उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आगामी १० वर्षभित्र नेपाली श्रमिकबाट मेनेजर बन्ने दाबी गरे। उनले भने 'पाँच कदमअघि बढेर उद्योगीले निर्णय लिएका छन्। काम गरेर खाने दिन बन्न सकोस् आजको दिनलार्इ शुभकामना' । सामाजिक सुरक्षा कोष १० वर्षमा सबैभन्दा ठूलो कोष बन्ने दाबी उनले गरे ।
घरेलु तथा साना उद्योग महासंघ पूर्वअध्यक्ष सुरेश प्रधानले सामाजिक सुरक्षा अभियानले विगतको अन्योलता चिरेको भन्दै कोषलार्इ पारदर्शी बनाउनु पर्ने बताए ।