बजेट निकासा नहुँदा ठूला आयोजना अलपत्र
ताप्लेजुङ : सरकारले बजेट निकासा नगर्दा ताप्लेजुङमा सञ्चालित ठूला आयोजना ठप्प छन्। १२ वर्षअघि स्थापना भएको उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग कार्यालय उठेसँगै विकासको काम प्रभावित भएको हो। लोकमार्ग कार्यालय मातहतमा रहेका तिब्बत जोड्ने तमोर करिडोरको फूलबारी–दोभानखण्ड, दोभान ओलाङचुङगोला सडकको दोभान–थिवाखण्ड, मदन भण्डारी राजमार्गको बहानन्दे–दोभानखण्ड स्तरोन्नति, दोभान–नाल्वु–पापुङ सडक अलपत्र परेका छन्।
यस्तै सोही कार्यालयले हेर्ने तमोर नदीमाथिको दगुर्ने मोटरेबल पुल, दोभान ओलाङचुङगोला सडकको थिवा र तावाखोला मोटरेबल पुलको समेत काम रोकिएको छ। आफूहरूले गरेको कामको पैसा नपाएको र निर्माणस्थलको अनुगमन गर्ने प्राविधिकसमेत नहुँदा काम गर्न नपाएको सेवालुङ निर्माण प्रालिका प्रोपाइटर जसबहादुर चेम्जोङले बताए। ‘अहिले धमाधम काम गर्ने समय हो’, चेम्जोङले भने,‘न कामको अनुगमन गर्ने कार्यालय छ, न प्राविधिक छन्।’ बजेट निकासा गर्ने कार्यालय नै उठेपछि समस्या भएको निर्माण व्यावसायीको दाबी छ। करोडौंका यी योजनामा सरकारको उपस्थिति छैन। उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग ताप्लेजुङबाट उठेको छ। त्यसका कर्मचारी अरु नै कार्यालयमा सुरुवा भएका छन्।
यस्तो अवस्थामा तोकिएको समयभित्र काम सक्न कठिन हुने निर्माण व्यावसायी संघका जिल्ला अध्यक्षसमेत रहेका चेम्जोङ बताउँछन्। तिब्बत जोड्ने दोभान–ओलाङचुङगोला सडकको २०७४ पुसमा ठेक्का लागेको हो। त्यहाँ काम हुन सकेको छैन। तमोर करिडोरको फूलबारी–दोभानखण्डको म्याद सकिन एक महिना बाँकी छ तर असारयता काम ठप्प छ।
‘असारसम्म काम गर्यौं, त्यसयता कार्यालय नै नभएपछि काम प्रभावित भयो’, मैनाचुली निर्माण प्रालिका दिननाथ अधिकारीले भने, ‘गरेका कामको भुक्तानीसमेत पाएका छैनौं, खुरुखुरु गर्न पाएको भए असोजमै सकिने थियो।’ दोभान जोडिन एक किलोमिटर मात्रै बाँकी रहेको अधिकारीले बताए।
१२ वर्षअघि स्थापना भएको उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग कार्यालय उठेसँगै विकासको काम प्रभावित भएको हो।
सेवालुङ निर्माण प्रालिले ३० महिनाभित्र सक्ने गरी २०७४ मंसिरमा दगुर्ने पुलको जिम्मा पाएको थियो। कुल १४ करोड १५ लाख लागतको मोटरेबल पुलको हालसम्म एकतर्फको पिलर ठड्याउने काम मात्रै सम्पन्न भएको छ। गत वर्षनै ठेक्का लागेका १८ महिनामा निर्माण समय रहेको थियो र तावा खोला पुलमा पनि काम गर्न नपाएको ठेकेदारको गुनासो छ। ‘अब कुन कार्यालयले हेर्ने हो, प्राविधिक कहिले आउने हुन्, अन्योल नै अन्योल भएपछि काम गर्न सकिएन’, सेवालुङका चेम्जोङले भने, ‘अहिलेसम्म ऋण काढेर मेसिन र कामदार लगाइरहेको छु।’
आफूहरूलाई परेको समस्या राख्ने ठाउँसम्म नभएको हिमालयन कन्स्ट्रक्सनका इन्द्र केदेम बताउँछन्। ‘चार करोड लागतको नाल्वु–पापुङ सडकको ५० प्रतिशत काम सकियो, प्राविधिक आएर नहेरेपछि असारदेखि काम गर्न पाएको छैन’, केदेमले भने।
बहुवर्षीय ठेक्का लागेको तिब्बत जोड्ने सडकको माथिल्लोखण्डको काम फक्ताङलुङ गाउँपालिका ६ लेलेप पुगेको छ। करिब ३६ करोडको लागतमा काम भइरहे पनि त्यसको अनुगमन गर्ने निकाय छैन। ‘कसैले इलाम सडक डिभिजनले हेर्छ, भन्छन्, कसैले प्रदेश सरकारले हेर्छ भन्छन्’, सेवालुङका चेम्जोङले भने, ‘जसले हेरे पनि चाँडो टुंगो लगाइदिनुपर्यो।’ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि र प्रदेशसभाका सांसदलाई समेत यसबारे जानकारी गराएको उनले बताए।