स्थानीयले बुझाए ५५ थान बन्दुक
रुकुमकोट : रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका रन्मामैकोटका स्थानीयले भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई बुझाएका छन्। वन तथा वन्यजन्तु संरक्षण समिति रन्मामैकोटको पहलमा ५५ थान बन्दुक बुझाइएको हो। स्थानीयले संकलन गरेका बन्दुक प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले संरक्षण समितिबाट बुझेका हुन्।
खाद्यान्न उत्पादन कम हुने उच्च पहाडी तथा हिमाली क्षेत्र रन्मामैकोटका बासिन्दाका आयको मुख्य आधार पर्यटनलाई ध्यानमा राख्दै चोरी–सिकार रोक्न र गाउँमा शान्ति–सुरक्षा कायम गर्न बन्दुक मुक्त गाउँ बनाइएको हो। समितिले प्रतिबन्दुक स्थानीयलाई १० हजार रुपैयाँ दिएको छ। बन्दुकमध्ये ४७ थान तत्काल प्रयोगमा आउन सक्नेछन् भने बाँकी ८ थान प्रयोगमा आउन नसक्ने रहेको प्रजिअ शर्माले बताए।
मगर समुदायको बाहुल्य रहेको रन्मामैकोट क्षेत्रभित्र ढोरपाटन सिकार आरक्षको ६२ प्रतिशत भूभाग पर्ने भएकाले यस क्षेत्रमा सिकार गर्न बन्दुक राख्ने चलन छ। विवाह तथा मृत्यु संस्कार गर्दा पनि बन्दुक पड्काउने चलन रहेको वन तथा वन्यजन्तु संरक्षण समितिका अध्यक्ष अमरधन पुनले बताए। ‘समाजमा पहिलेदेखि विवाह अनि मृत्यु संस्कारमा बन्दुक पड्काउने चलन छ’, उनले भने, ‘यो चलनका कारण पनि धेरै स्थानीयसँग बन्दुक हुन्थ्यो तर अब रहेन।’
ढोरपाटन सिकार आरक्ष नजिक रहेको भए पनि पर्यटन विकासमा उल्लेख्य प्रगति हुन नसकेकाले पर्यटन विकास तथा चोरी–सिकार नियन्त्रण योजना बनाइएको छ। साविकको मैकोट गाविसमा पर्ने जम्मा ६ सय १० घरधुरी रहेको रन्मामैकोट क्षेत्रमा यसअघि दिनहँु जसो बन्दुक पड्काइन्थ्यो। हिमाली क्षेत्रमा पाइने वन्यजन्तु नावर, झारल, रेड पान्डा, घोरल, हिम चितुवा, मृगको दिनहुँजसो चोरी–सिकार हुने गरेको थियो। बन्दुक नियन्त्रणमा आएपछि चोरी–सिकार अन्त्य हुने विश्वास गरिएको छ।
रन्मामैकोटजस्तै अन्य स्थानमा रहेको बन्दुक पनि राज्यको मातहतमा ल्याउने गरी काम गर्ने रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए। ‘स्थानीयले आफ्नै सक्रियतामा हतियार बुझाएर शान्ति–सुरक्षा कायम गर्ने काममा सहयोग गरेकामा खुसी लागेको छ’, प्रजिअ शर्माले भने, ‘जिल्लालाई अवैध हतियारमुक्त क्षेत्र बनाउने अभियान थालिनेछ।’