हाई फ्लार्इ लेख्छ- ‘दुवै जहाज हाम्रा’

हाई फ्लार्इ लेख्छ- ‘दुवै जहाज हाम्रा’

काठमाडौं : नेपाल एयरलाइन्सले ल्याएका दुवै वाइड बडी विमानको स्वामित्व हाई फ्लाई एयरलाइन्सले आफ्नो देखाएको छ। उसको वेब साइटमा ‘हाम्रा जहाज’ शीर्षकको सूचीअन्तर्गत म्यानिफेक्चरर्स सिरियल नम्बर (एमएसएन) १८७२ र १८७८ का ए ३३०-२४३ पनि समावेश छन्।

हेर्नुहोस्– वेबसाइटको स्क्रिन सट ।

विस्तृतका लागि यो लिंक मा हेर्न सक्नुहुनेछ-

नेपाल एयरलाइन्सले हाई फ्लाईसँगै ती जहाज किनेको दाबी गर्दै आएको छ। उसले भने ‘आफ्नो’ भनिरहेको छ। बेचिसकेकालाई कसैले ‘मेरो’ भन्दैन। बेचेपछि सम्बन्धै सकिन्छ। तर, हाई फ्लाईको स्वामित्वमा रहेका जहाजको सूचीमा राखिनुले दुवै गम्भीर सन्देह खडा गराएको छ।

नेपाल एयरलाइन्सका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले केही दिनअघि नागरिक उड्डयन प्राधिकरणले दिएको दर्ता प्रमाणपत्र सार्वजनिक गरेका थिए। त्यसलाई हेरेर ‘स्वामित्व नेपाल एयरलाइन्सकै’ भन्ने धेरैलाई भ्रम प¥यो। कतिले हतारिएर भने÷लेखे पनि। तर, उनले सार्वजनिक गरेको प्रमाणपत्र आधा मात्र थियो। हस्ताक्षरभन्दा तलको भाग त्यसमा च्वाट्टै काटिएको थियो।

प्रमाणपत्रको पुछारमा ‘नोट’ लेखिएको छ, ‘यो प्रमाणपत्र दर्ता प्रक्रियाका लागि मात्र जारी गरिएको हो। यो स्वामित्व (टाइटल) को प्रमाणपत्र होइन। प्राधिकरणले व्यक्तिहरूबीचको स्वामित्वको अधिकार निर्धारण गर्दैन।’ प्रमाणपत्रमा ‘स्वामित्व हस्तान्तरण’ शीर्षक खाली राखिएको छ।

(हेर्नुहोस् प्राधिकरणको दर्ता प्रमाणपत्र)

उता हाई फ्लाई जहाज बेच्ने कम्पनी पनि होइन। एयरबसका जहाज भाडामा लगाउने कम्पनीका रूपमा उसले आफूलाई चिनाएको छ। उसले यसअघि कसैलाई जहाज बेचेको पनि छैन। बरु एयरबसका ठूलठूला विमान आफैं उडाउँछ। मिलेसम्म भाडामा लगाउँछ।

हाई फ्लाई​को माथिल्लो भागको ‘प्रोफाइल’ मा छर्लङ्ग देख्न सकिनेछ।)

‘हाई फ्लाई वाइड बडी विमान भाडामा दिने विशेषज्ञतासहितको विश्वव्यापी अग्रणी कम्पनी हो। एयरलाइन्सहरूका छोटा÷मध्यकालीन वा कुनै सिजनमा चाहिने आवश्यकता परिपूर्ति गर्न यो संस्था सहयोगी बन्नेछ’, उसले आफ्नोबारे वेब साइटमा भनेको छ।

आफ्नो फेसबुक पेजमा पनि उसले आफूलाई भाडावाल कम्पनीकै रूपमा चिनाएको छ। त्यहाँ यसरी परिचय दिएको छ, ‘हाई फ्लाई विश्वका प्रसिद्ध उड्डयन निकायबाट प्रमाणपत्रप्राप्त युरोपियन एयरलाइन्स हो। यो समूहमा २० जहाज छन्। त्यसको आधा हाई फ्लाईले आफैं चलाउँछ र बाँकी विश्वभरि भाडा र चार्टरमा दिइएका छन्।’ त्यस्तै ट्वीटर पेजमा आफूलाई यसरी चिनाएको छ, ‘विश्वव्यापी रूपमा सञ्चालित वायुसेवा, व्यावसायिक जहाज भाडामा लगाउने विशेषज्ञ संस्था।’

हाई फ्लाईको वेब साइटमा एयरबसका विभिन्न विमान भाडामा दिनेबारे यस्तो सूचना राखिएको छ- ‘हाई फ्लाई एयरबसका सबै किसिमका विमान भाडामा दिने सबैभन्दा ठूलो कम्पनी हो। ईएएसए र आईओएसए प्रमाणित तथा एफएएबाट स्वीकृतप्राप्त यस विमान सञ्चालकसँग एयरबसका ए३२१, ए३३०, ए३४० र ए३८० विमान भाडामा उपलब्ध छन्। भाडामा दिनु (चालक दलसहितका विमान, मर्मतसम्भार र बिमा) हाई फ्लाईको ब्यापार हो। र, यसमा हाम्रो एक दशकभन्दा लामो दक्षता छ।’

त्यति मात्र होइन, विमान निर्माता एयरबसले २८ जुन २०१८ मा एउटा विज्ञप्ति निकाल्यो। विज्ञप्तिमा भनिएको छ, ‘नेपाल एयरलाइन्सले पहिलो ए३३० वाइड बडी जेटलाइनर बुझेको छ, जुन पोर्चुगलको लिजर (भाडामा लगाउने) हाई फ्लाईले भाडामा दिने दुइटामध्ये एउटा विमान हो।’

उक्त विज्ञप्ति एयरबसको वेब साइटमा अझै देख्न सकिन्छ। हेर्न यो लिंक मा जान सक्नुहुनेछ-


यसले पनि विमानको स्वामित्वबारे प्रश्न उब्जाएको छ। अन्नपूर्ण पोस्ट्ले यसबारे समाचार लेखेपछि संसद्का सार्वजनिक लेखा र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छानबिन सुरु गरेका छन्। यसबारे हालै एपी वान टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा पर्यटनमन्त्री रबीन्द्र अधिकारीले भनेका थिए, ‘मसँग कागज छैन, भाडामा त नहुनु पर्ने हो !’

नेपाल वायुसेवा निगम आर्थिक विनियमावली, २०६५ को विनियम २३६ (१) मा नयाँ विमान उत्पादक कम्पनीसँग सोझै मात्र किन्न सकिने व्यवस्था छ। त्यसलाई छल्न सेकेन्ड ह्यान्ड किन्ने भनियो। निगमले २६ सेप्टेम्बर २०१६ मा जारी गरेको प्रस्ताव आह्वान (आरएफपी) मा ‘हजार घण्टाभन्दा बढी नउडेको र जनवरी २०१४ भन्दा अघि नबनेको’ मागियो।

आरएफपीमा ११ प्रस्ताव परे। तीमध्ये अमेरिकी कम्पनी एएआर इन्टरनेसनल इन्कको सस्तो अर्थात् १० करोड ४८ लाख अमेरिकी डलरको थियो। उसले त्यति मूल्यमा नयाँ विमान दिने भन्यो। तर, ऊसँग जहाज थिएन। उसले जर्मन एभिएसन क्यापिटल र हाई फ्लाई ट्रान्सपोर्ट एरियोजलाई साझेदार थप्यो। ७ अप्रिल २०१७ मा जब खरिद सम्झौता गर्दा भने दुवै पक्ष मिलेर ‘स्पेसल पर्पोज’ हाई फ्लाई एक्स आयरल्यान्ड बनाइयो।

नेपाल एयरलाइन्सले त्यसैसँग जहाज किनेको दाबी गर्दै आएको छ। जब कि निर्माता एयरबसले १८७२ र १८७८ सिरियल नम्बरका जहाज हाई फ्लाई एयरलाइन्सलाई बेचेको थियो। हाई फ्लाई एयरलाइन्सले आफ्नो साइटमा ती आफ्ना जहाज भएको देखाएको पनि छ।

प्रश्न उठ्छ- विमान नेपाल एयरलाइन्सकै स्वामित्वमा छन् भनेर कसरी ढुक्क हुने ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.