लेखक भएँ, घाटा खाएँ
‘मलाई टाइममा नआउने मान्छे पटक्कै मन पर्दैन,’ धुलिखेल रिसोर्टको सेमिनार हलमा फिल्मका हिरो खगेन्द्र लामिछाने भन्दैथिए। एउटा कार्यक्रमका लागि हामी त्यो ठाउँमा भेला भएका थियौं। म झसंग भएँ, ‘कतै मलाई नै भनेका त होइनन् !’ त्यही बिहान मैले उनलाई १० मिनेट कुराएको थिएँ। साह्रै लाज लाग्यो। आँखा जुधाएर कुरा गर्न पनि हम्मे भयो।
०००
बिहान सवा १० बजे विश्वज्योति हलनेर भ्यानले कुरिरहेको थियो। म ढिला हुने डरले हतारहतार कुदेको थिएँ। भ्यानभित्र दायाँपट्टि खगेन्द्र दाइलाई देखेँ। पावरवाल चारकुने चस्मामा उनी सुहाएका थिए। म ढिलो भएकोमा उनी रिसाएका थिए कि ? मनस्थिति बुझुम् भनेर मुहार हेरको घामले चस्मा टलक्क टल्किएर डिस्टर्ब गर्यो।
खगेन्द्र लामिछाने (४०) हुन् कि पशुपति प्रसाद। म कहिलेकाहिँ उनको ‘एपिरिएन्स्’मै झुक्किन्छु। फिल्म ‘पशुपति प्रसाद’ मा उनको क्यारेक्टर जबर्जस्त थियो। उनलाई सम्झनु परे त्यही फिल्मको भोगटेकट ठिटो, निर्दोष चेहराको याद आउँछ।
कालो लेदर ज्याकेट, जुजुको हल्का नीलो रङको टिसर्ट र उनको झुसे दाह्री नियालेँ। गाडी स्टार्ट हुँदै थियो। खगेन्द्रको छेउमै बसेका नारायण दाइले अमिलो लप्सी चुसेको जस्तै अनुहार बिगारेर प्वाक्क भने, ‘सपना बहिनी आज तपाईंले खुब कुराउनु भयो।’
‘बिहानै अर्को एउटा काम प¥यो,’ मैले अप्ठ्यारो मान्दै यत्ति भने। खगेन्द्र रोबर्ट मुडमा मलाई हेरिमात्र रहे।
‘स्याङ्जा, पुतलीबजारको उट्पट्याङ केटो।’ खगेन्द्रले आफ्नो परिचय प्रायः यसरी नै दिन्छन्। अनि दोहर्याइ तेहर्याइ म किसान हुँ। मेरो मन किसानको हो भन्छन्। रंगमञ्चका यी माहिर कलाकार। वास्तविक चरित्र जन्माउने कुशल लेखक ‘मेरा तारिफका दुई शब्दमा किसानको परिचय पनि झुन्ड्याइदिनुस्’ भन्दै रिक्वेस्ट गर्छन्।
खगेन्द्रसँग स्क्रिप्ट राइटिङको कुरा गरुँ भनेको। उनी त गाउँतिरको खेतबारी पो सम्झन थाले। ‘मलाई त सबैभन्दा रमाइलो खेतबारी गोडेर बस्न मन लाग्छ। घर जाँदा प्रायः बारीतिरै भुलिरहेको हुन्छु।’ म भ्यानको फ्रन्ट सिटमा बसेकी थिएँ। खगेन्द्रको गफ सुन्न घरिघरि ब्याकसिटतिर फर्किनुपथ्र्यो।
‘हैन यो कलाकार देशका गहना कहाँबाट भए ? ’ उनले जंगिँदै भने। खगेन्द्र कुरालाई यसरी एकपछि अर्को टपिक्स बनाउँथे कि मानौं उनको गफ कहिल्यै सकिने छैन। उनी कस्ता स्वभावका व्यक्ति हुन् ? मलाई थाहा थिएन। उनी कडा छन्।
काममा प्रोफेसन खोज्छन्। हरेक कुरालाई गहिरिएर सोच्छन् जस्ता कुराको अलिअलि भेउ मात्र थियो। उनले फेरि जोडे, ‘के किसान चाहिँ देशका गहना होइनन् ? तिनले अन्न नफलाए हामीले खान पाउँछौं ? उफ्।’ घुमिफिरी कुरा फेरि किसानमै आयो। त्यसपछि राष्ट्रप्रेम भनेजस्तै उनको किसानप्रेम बातबातमा यात्राभरि झुन्डिदै गयो।
०००
मैले उनको पहिलो फिल्म ‘वधशाला’ हेरेकी छु। त्यो फिल्ममा निर्घात कुटाइमात्र खाइरहने पात्र खगेन्द्र नै हुन्। कालो नकाबले ढाकिएको उनको चेहेरा फिल्ममा खासै देख्न पाइँदैन।
३४ वर्षको उमेरमा हिरो बन्न तम्सिएका खगेन्द्र रंगमञ्चमै रमाउँथे। फिल्मका कलाकार नाटक हेर्न आउँदा अर्कै संसारबाट ओर्लिएजस्तो सोच्थे। ‘म त फिल्मी दुनियाँमा कहिल्यै प्रवेश गर्दिन जस्तो लाग्थ्यो।’ खगेन्द्रले धुलिखेल रिसोर्टमा आफ्नो फिल्म प्रवेशको किस्सा सुनाएका थिए।
उनलाई नाटक घरको माहोल नै प्यारो थियो। फिल्मी संसारलाई आफूले खोजेजस्तै पाएपछि मात्र उनले फिल्ममा काम गरे। बीचमा बीबीसीमा नाटक लेखनको जागिर खाए। जागिरकै कारण ‘टुल्के’ नाटक खेल्न पाएनन्। त्यतिबेला सायद उनलाई जागिरको बढी आवश्यकता थियो।
उक्त नाटकमा काम गर्न नपाउँदा उनलाई औडाहा भएछ क्यारे। पछि त्यही नाटकबाट ‘टलक जंग भर्सेस टुल्के’ फिल्म बनाए। फिल्ममा खगेन्द्र आफैंले टुल्के पात्रको अभिनय गरेका छन्। फिल्ममा उनको खुब तारिफ भयो। ‘मेरो फिल्मप्रतिको जिम्मेवारी बढेको यहीँबाट हो,’ भन्छन् उनी।
०००
टिरररर्...टिरररर्। धुलिखेल रिसोर्टको सेमिनार हलमा एक बहिनीको फोनको घण्टी जोडले बज्यो। त्यसबेला खगेन्द्र बोल्दै थिए। उनले बोलीलाई थोरै बिट लगाए र ती बहिनीतिर फर्कंदै ठट्ट्यौली शैलीमा भने, ‘कहिलेकाहीँ यस्तो हुन्छ।’ सबै गललल हाँसे। उनले फेरि थोरै कठोर भएर टुच्च जोडी हाले, ‘तर यस्तो गर्नु ठीक होइन।’ उनको दोस्रो वाक्यले माहोललाई पूरै साइलेन्ट बनाइदियो।
खगेन्द्र लामिछाने नाटकदेखि फिल्मको कथा–पटकथासम्म लेख्छन्। फिल्म–नाटकमा आफैंले जन्माएको क्यारेक्टर प्ले गर्न उनलाई खासै गाह्रो पनि हुन्न। गाह्रो हुन्छ त त्यो क्यारेक्टरबाट बाहिर निस्कन।
धुलिखेलबाट काठमाडौं फर्किंदा नारायण दाइ सोध्दै थिए, ‘खगेन्द्र आज दिनभरि तपाईंसँग बसियो तर तपाईंले गोजीबाट खासै फोन झिक्नु भएन।’ खगेन्द्रलेलगत्तै जवाफ फर्काए, ‘कामको बेला म मोबाइल चलाउँदिनँ।’ खगेन्द्रको रियक्सनबाट रातोपीरो भएकी ती बहिनीको याद आयो। अनि उनको बिचरा मोबाइलको पनि।
०००
खगेन्द्र अरूभन्दा फरक थिए। यसमा कुनै शंकै थिएन। तर हरेक विषयमा फरक सोच्थे, त्यो मलाई थाहा थिएन। कापीमा स्क्रिप्ट लेख्दा कतै नबिगारी लेख्नुपर्ने। एक ठाउँ केरमेर भयो कि कापी च्यातेर फालिदिने। कुनै पनि सामाजिक सञ्जाल नचलाउने। आफ्नै ‘कम्पनी’ प्यारो लाग्ने। बूढापाकालाई साथी बनाउने। यी सबैले खगेन्द्रलाई अलि भिन्न बनाउँथ्यो।
दाइ आफ्नै स्वभावलाई यसरी सुनाउँछन्, ‘म अलि बढी नै छुच्चो छु।’ चित्त नबुझेको कुरा तुरुन्तै भन्ने बानी रहेछ उनको। मन नलागेको विषय उनी छुँदै छुँदैनन्। जेमा मन बस्छ त्यो पुरै निष्ठाका साथ गर्छन्।
उनी रंगमञ्चको दुनियाँमा आउनुको पनि कथा छ। जिन्दगीमा कहिल्यै नाटक नहेरेका खगेन्द्र एक दिन पोखराको क्षेत्रीय नाटक घर पुगे। त्यतिबेला इन्टरमिडियट लेभलमा नेपाली र अंगे्रजीमा गुल्टिएपछि उनी खाली समय बिताइरहेका थिए। ‘नाटक भनेको के हो ? मलाई थाहा थिएन।’ खगेन्द्रले यात्राको क्रममा आफ्ना केही अनुभव सुनाएका थिए। उनलाई नाटकमा खेल्ने अफर तिनै दिनहरूमा आएको थियो रे।
श्याम अर्यालको निर्देशनमा बनेको फिल्म ‘सूत्रधार’ मा उनी पहिलो पटक रंगमञ्चमा देखिए। नाटक खेलेपछि असीम आनन्द पाएको उनले अझै भुलेका रहेनछन्। २०५६ सालमै १५ हजार तिरेर प्रतिबिम्ब नाटक घरमा नाटक सिक्न हौसिएका थिए उनी।
मान्छे एसएलसीमा पास हुन कत्ति मेहनत गर्छन्। खगेन्द्र चाहिँ फेल हुने तर्किब सोच्थे। घोकन्ते र रटन्ते विद्या त उनलाई मनै पर्दैनथियो। त्यसमाथि जागिर खाने इच्छा त उनमा बिल्कुल थिएन। नाटक खेल्न र सिक्न पाएपछि उनी त्यतै भुले।
आफ्नो उमेरका साथीभाइसँग खासै संगत नगरेका उनी एक्लोपन मन पराउथे। आफैंमा मग्न रहने, खेतबारीमै समय बिताउने अनि केही न केही लेख्दै पन्नाहरू भरिरहने।
०००
खगेन्द्र त फिल्म खेल्ने सपना नबुनी बसेका व्यक्ति हुन्। उनको आगमन पछि नै मूलधारका नेपाली फिल्म फिका पर्न थाले। सधैं कथावस्तुमा कमजोर भेटिने नेपाली चलचित्र खगेन्द्रकै जेनेरेसनबाट सुधारियो।
खगेन्द्र नाटक लेखनदेखि लिएर फिल्मको कथा पटकथा सबै लेख्छन्। फिल्म तथा नाटकमा आफैं जन्माएको क्यारेक्टर प्ले गर्न उनलाई खासै गाह्रो पनि हुन्न। गाह्रो हुन्छ त त्यो क्यारेक्टरबाट बाहिर निस्कन।
‘मेरो जीवनको सबैभन्दा ठूलो घाटा भन्नु नै राइटर हुनु हो जस्तो लाग्छ।’ पुस्तकसमेत लेखिसकेका उनले आफ्नो सबैभन्दा ठूलो दुःख सुनाए। के भन्दैछन् यी ? जुन कामले उनलाई चिनायो, त्यहीमा घाटा भयो भन्छन्। उनको कुराले मलाइ खुल्दुली भो। म अरूले जन्माएको पात्रमा काम गर्न चाहन्छु। उनले आफ्नो इच्छा जताए र साथै प्रश्न पनि गरे, ‘खै, म अरूले लेखेको फिल्ममा कहिले पो अभिनेता भएर काम गर्न पाउँछु ? ’
०००
‘दाइ त एकदम सही हुनु हुँदो रहेछ।’ नारायण दाइले कुरा थपे। ‘तपाईंलाई एकदिनको किस्सा सुनाउँछु।’ खगेन्द्रले भने। एक व्यक्तिले ४५ मिनेटसम्म कुराएपछि खगेन्द्रले ‘हस् त नमस्ते’ भनेर हिँडेका थिए रे। उनको कुरा सुनेर म हाँसे। ‘किन नि दाइ त्यसो गर्नु भएको ? ’ मैले उनलाई हाँस्दै सोधेँ। ‘समयको महत्व बुझाउन।’ ओहो, बिहान म पनि लेट भाको थिएँ। रिसोर्टमा पनि उनी समयकै चर्चा गर्दै थिए। पहिलो भेटमै मेरो ब्याड इम्प्रेसन प¥यो। त्यसपछि त के थियो र भित्रभित्रै कुटुकुटु मन कुँडिन थाल्यो।
हैन, पाँच दस मिनेट त ठिकै हो। ४०, ५० मिनेट कुराउनु भनेको नट अ जोक नि। उनले पाँच दस मिनेटको कुरा ल्याएपछि मेरो आत्माले बल्ल शान्ति पायो। तर योभन्दा पनि ज्यादा हरेक कुरामा भिन्न आउट साइडर खगेन्द्रको स्वभावबारे जान्न पाउँदा म पुलकित थिएँ।