जनवादी गीतदेखि भजनसम्म

जनवादी गीतदेखि भजनसम्म

१० वर्षे सशस्त्र द्वन्द्वको उत्तराद्र्धताका माओवादी शिविरभित्र निकै सुनिएको गीत हो, ‘अरुण तरेर नाना, तमोर तरेर...।’ माओवादी आन्दोलन प्रभावित क्षेत्रमा पनि यो गीत निकै सुनियो।

मणि थापाको शब्द–संगीत रहेको यस गीतलाई प्रदीप देवानले गाएका थिए। यो गीतसँगै देवान जनवादी गायन क्षेत्रका चर्चित गायक बने। तर, उनले गीतमा गाएजस्तै तमोर तरेर काठमाडौं छिरेको प्रचण्ड नेतृत्वको मूल पार्टी राजनीतिक मञ्चबाट विलय भयो।

विलयको वर्ष दिन नबित्दै देवानले गाउन थाले, ‘जय गणेश जय गणेश जय जय देवा, माता तिम्रो पार्वती पिता महादेव।’ जनवादी गीतबाट भजन गीतमा फड्को मारेका देवान भन्छन्, ‘यो समयको माग हो।’

०००

अर्का चर्चित गायक हुन्, झंकार बुढामगर। माओवादीको उद्गम थलो रोल्पाका उनी ‘जनयुद्ध’ताका सारंगी बोकेर गाउँगाउँ हिँड्थे। लामो समय सामना परिवारसँग आबद्ध भए। माओवादीको बहुचर्चित चुनवाङ बैठकमा देखाइएको अपेराका उनी एक गायक थिए। उनले गाएको गीतमा प्रचण्ड–बाबुरामले आँसु झारेका थिए।

सारंगी बोकेर खुलामञ्चमा जब झंकार उभिन्थे, लाखौं मानिस उत्साहित हुन्थे। उनीहरू उनका गीतसँगै नाच्थे, गाउँथे। झंकारको स्वरमा माहोल नै झंकृत हुन्थ्यो। उनी सारंगी बजाउँदै गाउँथे, ‘कहिले हामी पूर्व कहिले हामी पश्चिम, आइपुग्यौं जितेर मुक्ति लडाइँ...। तर, उनी अहिले गाउँदै छन्, ‘कसको के भर दुई दिनको परानी, तिम्रो यादमा भइसकेँ खरानी...।

म्युजिक भिडियोसमेत बनेको गीतमा उनी आफैं मोडल बनेका छन्। भन्छन्, ‘क्रान्तिकारीले पनि प्रेम गर्छ। हामी प्रेमविरोधी होइनौं।’

०००

अर्की जनवादी गायिका निर्मला घिसिङ कुनै समय गाउँथिन्, ‘तिमी झन् आगो बन्नु, लक्ष्य नपुग्दै म ढलेछु भने...।’ उनले गीतमा आग्रह गरेको नायक ‘आगो बने या पानी !’ उनी नाजवाफ छिन्। ‘लक्ष्यमा पुगियो किन लक्ष्य नै भुलियो !’ उनीसँग उत्तर छैन। भन्छिन्, ‘खै के भयो मलाई थाहा छैन। तर त्यो गीत सम्झिँदा अहिले पनि म नोस्टाल्जिक हुन्छु।’ निर्मला अचेल गाउँछिन्, ‘दिलमा यस्तो चोट दिएर गयौ। जिन्दगीमा नभुल्ने कहानी छोडेर गयौ।’

भन्छिन्, ‘अहिले जीविका चलाउने समस्या प्रमुख भयो।’

०००

अर्का चर्चित गायक हुन्, मोहित श्रेष्ठ। रोल्पाका मोहितले पूर्ण घर्तीमगरको शब्द÷संगीतमा ‘कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन ? ’ जस्ता चर्चित गीत गाए। शान्ति प्रक्रियापछि जनवादी गीतका एल्बम पनि निकाले। तर,

गत हप्ता उनले फेसबुकमा स्टाटस लेखे, ‘निर्णय दिनुस्, मैले मायाप्रीतिको गीत गाउने कि नगाउने ? ’ उसको स्टाटसमाथि सयौंले आफ्ना मत राखे। कसैले मायाप्रेमको गीत गाउँदा ठीक हुने बताए, कसैले धरातल नभुल्न सुझाव दिए।

विचलनको शृंखलामा

केवलपुरे किसान (विसं १९८३–२०६८) ले विसं २००० को दशकबाट जनपक्षीय गीत लेखन सुरु गरेको माओवादी सम्बद्ध सांस्कृतिक महासंघको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै २००९ मा प्रगतिवादी कवि श्यामप्रसाद शर्माको नेतृत्वमा प्रगतिशील लेखक संघ स्थापना भएसँगै नेपालमा प्रगतिवादी साहित्यको लेखनमा गुणात्मक काम हुन थालेको उल्लेख छ।

२०२४ मा रामेश, रायन, मञ्जुल, पारिजात, निनु चापागाईं लगायतले राल्फा आन्दोलन सुरु गरे। कालान्तरमा मञ्जुल जनपक्षीय संगीतको मैदानबाटै अलग भए। ३० को दशकबाट जेबी टुहुरे, खुसीराम पाख्रिन र जीवन शर्माहरू जनपक्षीय संगीत क्षेत्रमा आए। उनीहरूले अघिल्लो पुस्ताले सुरु गरेको विरासत बोक्न थाले। उनीहरूले ५० को दशकसम्म नेतृत्व गरिरहे।

०४६/०४७ को जनआन्दोलनपछि मणि थापा, चुनु गुरुङ, माइला लामा, अञ्जना गुरुङ, कन्हैयासिंह परियार, पूर्ण घर्तीमगर, सीता आचार्य, ध्रुव ज्ञवालीहरू अग्रभागमा देखा परे। अञ्जना–कन्हैया दम्पती त खुबै चर्चामा थिए।

अञ्जनाले ‘आँखैमा राख्छु मेरो देश...’ गाएर चर्चा बटुले। कन्हैयाले ‘चढेर हेर हिमाल त्यो, चढ्न तिमी सक्छौ’ गाएर मन जिते। तर, समयक्रमसँगै उनीहरूले पनि बाटो बदले। अञ्जनाले गाउन थालिन्, ‘म त काली सुन्दरी’ कन्हैयाले गाउन थाले, ‘तिम्रो त्यो जीउडाल, वाह रे वाह।’

शान्ति प्रक्रियाको थालनीसँगै १० वर्षको सशस्त्र युद्धका बेला गीत गाउँदै हिँडेकी योगिता मोक्तान मूलधारमा रमाउन थालिन्। पछिल्लो समय रमण थामी, धनु ग्याङ्मी, बबिता पाख्रिन पनि मायाप्रेमको गीत गाउन पुगेका छन्।

कमला घर्तीमगर लगायतका कलाकार दोहोरी साँझमा गीत गाइरहेका छन्। सयौंको संख्यामा रहेका जनकलाकार चुनावी सभामा मात्रै प्रयोग हुन थालेका छन्। चुनाव आउन मात्रै बोलाउने गरेको निर्मला बताउँछिन्। जनयुद्धताका केन्द्र, क्षेत्र जिल्ला र गाउँतहसम्म कलाकार टिम गठन गरेका सांस्कृतिक टिम अहिले अस्तित्वमा छैन।

कम्युनिस्ट आन्दोलनमा आएको उतारचढावसँगै जनवादी संगीत क्षेत्र तरंगित भएको देखिन्छ। हरेक आन्दोलनपछि जनवादी कलाकारको एउटा हिस्सा पलायन हुने र अर्को हिस्सा पार्टीसँगै रमाइरहेको देखिन्छ। साहित्यकार आहुति २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनमा आएको ‘टर्निङ पोइन्ट’ले कलाकार पनि प्रभावित भएको बताउँछन्।

तमोर तरेर काठमाडौं छिरेको प्रचण्ड नेतृत्वको मूल पार्टी राजनीतिक मञ्चबाट विलय भयो। विलयको वर्ष दिन नबित्दै देवानले गाउन थाले, ‘जय गणेश जय गणेश जय जय देवा, माता तिम्रो पार्वती पिता महादेव।’

०४६ को आन्दोलनपछि एउटा समूह संशोधनवादमै पतन भएको र अर्को समूह आन्दोलनलाई सत्तोसराप गर्दै बसेको उनको मत छ। भन्छन्, ‘पार्टीमै रहेका कलाकारमा पनि ठूलो वैचारिक, राजनीतिक अन्योल पैदा भयो।’

किन बर्जित ?

जनवादी कलाकार आफूलाई ‘कला कलाका लागि’ भन्ने मान्यताको विरोधी ठान्छन्। उनीहरू कला समाजोपयोगी र जनपक्षीय हुनुपर्ने वकालत गर्छन्। कलाको अन्तर्यमा विचार हुनुपर्ने उनीहरूको मान्यता छ।

मायाप्रेमको गीत गाउनेलाई बुर्जुवा गीत भन्दै निषेध गर्ने परम्परा यस क्षेत्रमा जबरजस्त छ। तर, आन्दोलन सेलाउँदै गएपछि मायाप्रेमको गीत गाउने बढ्छन्। अर्काथरी मायाप्रेमको गीत गाउनु बेठीक ठान्छन्। पछिल्लो समय मायाप्रेमको गीत मात्रै होइन, भजनसम्मै गाउन पुगेपछि अवस्था गम्भीर रहेको जनवादी संगीतका अगुवाहरू बताउँछन्।

अगुवा जनवादी गायक रामेश श्रेष्ठ जनवादी कलाकारहरू बाध्यताले मायाप्रेमको गीतदेखि भजन गीतसम्म गाउन पुगेका बताउँछन्। भन्छन्, ‘कतिपय कलाकारले रहरले होइन बाध्यताले गाएका छन्। उनीहरूलाई गाली गर्नु हुँदैन।’ तर, भजन र क्रान्तिकारी गीत सँगै गाउनेचाहिँ हुन नसक्ने बताउँछन्। नेताहरूका कारण जनवादी संगीत क्षेत्रमा पहिरो नै गएको उनको भनाइ छ। भन्छन्, ‘बेवास्था गरेपछि यस्तो अवस्था आएको हो।’

अर्का अगुवा जनवादी गायक जीवन शर्मा धार्मिक क्षेत्रमा कलाकार पनि जनवादी क्षेत्रमा आएको दाबी गर्छन्। भन्छन्, ‘यताको उता र उताको यता आउने जाने भइरहेको छ।’ उनी कलाकार भजन गाउन पुग्नुलाई नेता र कार्यकर्ता दुवैमा आएको विचलनको संकेत मान्छन्। भन्छन्, ‘नेताहरूमा राजनीतिक–सांस्कृतिक विचलन र कलाकारमा सांगीतिक विचलनको आयो। त्यसैको परिणाम हो यो।’

दोष कसको ?

जनवादी कलाकारमा देखिएको विचलन आन्दोलनको विचलनसँग जोडिएको बताउँछन्, साहित्यकार आहुति। व्यक्तिकेन्द्रित नभई प्रवृत्तिमा केन्द्रित हुनुपर्ने उनको धारणा छ। यसलाई उनी कम्युनिस्ट आन्दोलनमा आएको विचलनको परिणाम ठान्छन्। भन्छन्, ‘यसमा कलाकारको दोष प्रमुख छैन।

कम्युनिस्ट आन्दोलनमा आरोहअवरोह आउँदा यस्ता रूपहरू देखिने गरेका छन्।’ माओवादी आन्दोलनका मुख्य नेता नै दार्शनिक रूपमा पतन भई धार्मिक कर्ममा लागेपछि कलाकारमा त्यसको अंश प्रकट भएको उनी बताउँछन्। भन्छन्, ‘मुख्य नेताहरू नै धार्मिक कर्ममा लागे। त्यो प्रभाव कलाकारमा देखिएको हो।’

वैचारिक विघटनको संक्रमणकाल चलिरहेको बेला अभिव्यक्त भएको यस्ता घटनालाई दुभाग्यपूर्ण तर स्वाभाविक मान्नुपर्ने उनको मत छ।

रामेश जनवादी कलाकारमाथि ठूलो अन्याय भनेको बताउँछन्। ‘कलाकारमाथि ठूलो अन्याय भयो’, भन्छन्, ‘वर्गीय अभियानमा लागेका कलाकारलाई पार्टीले संरक्षण गर्नुपर्छ।

दुःख र बाध्यताले उनीहरू भजन गीतसम्म गाउन पुगेका हुन्।’ तर, नेकपाका नेता तथा गीतकार मणि थापा पार्टीलाई मात्रै दोष दिनु उपयुक्त नहुने तर्क गर्छन्। ‘यसमा नेतृत्व र आन्दोलनको मात्रै दोष होइन। आन्दोलन र व्यक्ति दुवैको कमजोरीबाट उत्पन्न समस्या हो’, उनी भन्छन्। तर, उनी मुख्य आन्दोलन नै सम्झौतामा पुगेर टुंगिदा यस्तो समस्या आएको स्वीर्काछन्। भन्छन्, ‘आन्दोलन सम्झौतामा छ। गीतसंगीत पनि यस्तै भयो।’

अब कसले हाँक्ने ?

दुई ठूला कम्युनिस्ट पार्टी एक भयो। पार्टी सम्बद्ध सांस्कृतिक टिमको पनि एकता प्रक्रिया चलिरहेको छ। तर, सत्ताधारी पार्टी भित्रका कलाकारले जनवादी सांगीतिक आन्दोलन हाँक्न नसक्ने कतिपयको धारणा छ। केवलपुरे किसान, गोकुल जोशी लगायतले सुरु गरेको जनपक्षीय संगीत क्षेत्रको अगुवाइ अब कसले गर्छ भन्नेबारे अन्योल देखिन्छ।

यस क्षेत्रका नयाँ पुस्ता भजन गीतसम्म गाउन पुग्दा पुस्तान्तरणकै समस्या चुलिएको छ। संविधानमा समाजवादमा पुग्ने लक्ष्य राखिएको छ। तर, सरकार हाँकिरहेको कम्युनिस्ट पार्टीभित्रको सांस्कृतिक क्षेत्रमा आएको विचलनले राम्रो संकेत नदिने कतिपय बताउँछन्। तर, जीवन शर्मा जनवादी संगीत क्षेत्रमा नयाँ पुस्ताको खडेरी नपरेको दाबी गर्छन्। भन्छन्, ‘मैदान खाली छैन। आन्दोलन हाँक्ने पुस्ता मैदानमै छ।’

रामेश पनि यसमा आशावादी छन्। भन्छन्, ‘जनताको गीत स्वार्थ भावले गाइँदैन। कसैले घोटाएर पिलाएर पनि हुँदैन। आफैं बुझेर जीवन समर्पण गर्न पछिल्लो पुस्ता आउनेछन्।’ तर, नयाँ पुस्ता तयार नभएको स्वीर्काछन् मणि थापा। भन्छन्, ‘अहिले नयाँ पुस्ता तयार छैन। नयाँ पुस्ता आन्दोलनले मात्रै जन्माउँछ। समाजवादतिर जाने आन्दोलनले नयाँ पुस्ता जन्मिने हुन्छ।’

आहुतिको मत पनि थापासँग मिल्छ। भन्छन्, ‘अब नयाँ युग अनुसारको नयाँ कम्युनिस्ट आन्दोलन र नयाँ कम्युनिस्ट आन्दोलन अनुसारकै नयाँ प्रगतिशील सांस्कृतिक आन्दोलन जन्मिन्छ। त्यो आन्दोलन नयाँ कलाकार जन्माउनेछ।’ तर, नयाँ पुस्ताकी गायिका निर्मला भन्छिन्, ‘हिजो टाँगा तान्ने घोडाजस्तै एकोहोरो थियौं। अब आफ्नै तरिकाले अघि बढ्ने हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.