मृत्युपछि शरीर दान : नेपालमा कति सहज ?

मृत्युपछि शरीर दान : नेपालमा कति सहज ?

देवताहरूलाई आफ्नो शरीरको हड्डी दिएर प्राण अर्पित गर्ने पुराणप्रसिद्ध ऋषि थिए दधीचि। यी पात्रले वृत्तासुरको राज अन्त्य गर्न आफ्नो शरीर मेटाएर देवताहरूलाई हड्डी दान गरेको पौराणिक कथा छ। दधीचिकै हड्डीबाट देवराज इन्द्रको बज्र बनेको थियो, जसले देवताहरूको साख र सत्ता जोगायो। यो पौराणिक कथा भयो।

अन्नपूर्ण पोस्ट्ले यो साता हाम्रै युगका दधीचिहरू खोज्यो। जसले केही पुण्यकार्यका लागि आफ्नो शरीर दान गरेका छन्। अर्थात् मरेपछि उनीहरू जल्ने छैनन्। मलामीमा उनीहरूको शव हुनेछैन। उनीहरूका अंगहरू काम लाग्नेछन्। र, शरीरमा अनेक चिकित्सकीय परीक्षण हुनेछन्।

०००

छोराको मृत शरीरमा फूल चढाउन नपाएर कृष्णकुमारी दाहाल (८१) छट्पटाइरहेकी थिइन्। पीडाकै बीच पनि बुहारी सुधा सासूलाई सम्झाउँदै थिइन्, ‘मरेर पनि उहाँले महान् काम गर्नुभयो।’

बुझ्दै जाँदा अहिले कृष्णकुमारी ठान्छिन्, ‘आफ्नो शरीरलाई खेर जान दिएन, मरेर पनि उसको शरीर काम लाग्यो।’

साहित्यकार दाहाल यज्ञनिधि शरीर दान दिने आफ्नो इच्छा परिवारजन र आफन्तहरूलाई सुनाइरहन्थे। तर, उनीहरूको मनैदेखि स्वीकृति पाउँदैनथे। ‘आफन्तहरूले सुरुमा अप्ठ्यारो मान्नुभएको थियो’, सुधा सम्झन्छिन्, ‘अहिले धेरै कुरा बुझ्नुभएको छ।’

शरीर अस्पताललाई सुम्पिने बेला उनले सासूलाई त मनाइन् तर आफन्तको असन्तुष्टि झेल्न सजिलो भएन। ‘हाम्रो समाज धर्मले बाँधिएको छ, समाजले नयाँ कुरा सजिलै स्वीकार्दैन’, उनी भन्छिन्। श्रीमान्को निर्णय सही लागेपछि उनले पनि श्रीमान्सँगै आफ्नो शरीर दान दिने निधो गरिन्।

तर, यज्ञनिधिले बाँचुन्जेल कुनै पनि अस्पतालसँग शरीर दानको सम्झौता गर्न पाएनन्। शरीर दानबारे पुस्तक लेखेका यज्ञनिधिको शरीर उनको मृत्यु भएपछि त्रिवि शिक्षण अस्पतालले २६ साउन २०७५ मा स्वीकार गर्‍यो। अहिले उनको शरीर चिकित्साशास्त्रका विद्यार्थीका लागि प्रयोगशाला बनेको छ।

०००

२५ चैत २०६५ मा पत्रकार भैरव रिसाल (९१) र उनकी श्रीमती सुशीला (७७) ले मृत्युपछि शरीर दानका लागि पाटन स्वास्थ्य प्रतिष्ठानसँग लिखित सम्झौता गरे। रिसाल दम्पती शरीर दानको सार्वजनिक घोषणा गर्ने पहिलो नेपाली हुन्।

उनीहरूलाई शरीर दानका लागि मानसिक रूपमा तयार हुनै दुई वर्ष लाग्यो। ‘मानसिक रूपमा तयार भएपछि छोराछोरीलाई यसबारे जानकारी दियौं’, भैरव १५ वर्षअघि फर्कन्छन्, ‘छोराछोरी पनि हाम्रो निर्णयमा सहमत भए।’

भैरव कसैको हल्लामा लागेर शरीर दान गर्न होमिएका होइनन्। ‘लास पनि बाह्य देशबाट आयात गर्ने अवस्था देशको छ, कमसेकम लासमा त आत्मनिर्भर बनौं न’, उनलाई लाग्यो र शरीर दानको निर्णयमा पुगे।

शरीर दानबारे उनका आफ्नै सिद्धान्त छन्। ‘लास दान सार्थक दान’, लास दान निरपेक्ष दान’, लास दान ठोस दान’ शरीर दानसम्बन्धी भैरवका तीन नारा हुन्।

शरीर दान गरेपछि मरे पनि बाँचिइरहन पाइन्छ जस्तो लाग्छ भैरवलाई। ‘बाँचुन्जेल केही गर्न सकिएन, मरेपछि पनि शरीरले केही त काम गरोस्’, उनी भन्छन्। कुनै समुदायले मृत शरीर जलाउँछन्, कुसैले टुक्राटुक्रा पारेर गिद्धलाई खुवाउँछन्, उनलाई यो मन परेन। उनमा शरीर दानको मोह यही बिन्दुबाट उम्रिएको थियो।

२०२२ सालतिर भैरवपत्नी सुशीला धरानमा असिस्टेन्ट मेड वाइफ पढ्दा प्रयोगात्मक अध्यनन गर्न मानव हड्डीको अभाव हुन्थ्यो। ‘भएका थोह्रै हड्डी खोसाखोस गथ्र्यौं’, सुशीला सम्झन्छिन्, ‘पछि वीर अस्पतालमा स्टाफ नर्स पढ्दा पनि त्यस्तै। त्यो अभाव भोगेको भएर उहाँको प्रस्तावमा सोचविचार नगरी नै सहमत भएँ।’

अन्धविश्वासको अवरोध

जलाएर वा अन्य विधिबाट अन्तिम संस्कार गर्ने चलन तोडेर शरीर दान गर्न सजिलो भने छैन। वरिष्ठ चिकित्सक डा. अर्जुन कार्की अनेक अन्धविश्वास नेपालमा शरीर दानको बाधक रहेको बताउँछन्। ‘भूत पिचासको अन्धविश्वास र धार्मिक मनोविज्ञानका कारण शरीर दान गर्न मानिसहरूलाई प्रेरित गर्न पनि गाह्रो छ’, कार्की भन्छन्, ‘दाहसंस्कार नगर्ने कुरालाई धर्मविपरीत मान्ने सोच यसको बाधक हो।’ रिसाल दम्पतीको शरीरदान गर्ने अतिइच्छा बुझे पछि डा. कार्की पाटनको डिन छँदा सम्झौता गरेका थिए।

हालै नेपालगन्ज मेडिकल कलेजसँग शरीरदान सम्झौता गरेका राजनीतिक विश्लेषक तथा लेखक नरेन्द्रजंग पिटर केही दिन त आफन्तजनहरूबाट आएका प्रतिक्रियाबाट हैरान भए। ‘लौ दस दान बैतर्णी गरिसकेछौ, हाइहाइ भएछौ’ भन्न थालेपछि उनले सबैलाई जवाफ दिए, ‘मैले आत्महत्या गर्न लागेको होइन, जीवन जिउने हो, मरेपछि शरीरलाई माटोखरानी बन्नबाट जोगाउनमात्र खोजेको हो।’

लामो समय वामपन्थी राजनीतिमा रहेका पिटरलाई पनि परिवारलाई सहमत गराउन चारपाँच वर्ष लाग्यो। उनी मूल रूपमा अन्धविश्वासयुक्त आध्यात्मिक चेतना सबैभन्दा ठूलो समस्या रहेको ठान्छन्।’ कसैले केही नयाँ चिज सोच्नै सक्दैन जस्तो भयो’, उनी भन्छन्, ‘म विज्ञान मान्छु, त्यसैले स्वर्गीय ढोका हुन्छ भन्ने अन्धविश्वासयुक्त चेतनालाई चुनौती पनि दिन खोजेको हो।’

मान्दैनन् अस्पताल

अस्पतालले ‌औपचारिक सम्झौता गर्न मान्दैनन्। बाहिर हल्ला नगर्ने सर्तमा गुपचुपमा शव स्वीकार गर्नेहरू भने छन्।

भैरव र सुशीला आफन्त र परिवारजनलाई मनाएपछि शरीर स्वीकार्ने अस्पतालको खोजीमा लागे। तर, अस्पताल पाउनै गाह्रो भयो। बीपी स्वास्थ्यविज्ञान प्रतिष्ठानले सार्वजनिक घोषणा गरेर सम्झौता गर्न मानेन। निराशाकै बीच उनीहरू पुगे पाटन स्वास्थ्य प्रतिष्ठान। बल्ल पूरा भयो सपना। उनीहरूले मृत्युपछि शरीर दान दिने लिखित सम्झौता गरे।

यज्ञनिधि र सुधा पनि पटकपटक त्रिवि शिक्षण अस्पताल धाए। तर, विभिन्न कारण देखाउँदै अस्पतालले हरेकपटक सम्झौता टा¥यो। ‘मलाई नलगी उहाँ आफैंमात्र पनि पटकपटक जानुहुन्थ्यो। फेरि आनाकानी गरे भनिरहनुहुन्थ्यो’, सुधा सुनाउँछिन्।

स्पष्ट कानुन अभावका कारण शव लिन अस्पतालहरू हिच्किचाउने अवस्था रहेको सुनाउँछन्, लामो समय त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागको नेतृत्व गरेका डा. हरिहर वस्ती। केही कानुन बने पनि स्पष्ट नभएको उनको भनाइ छ।

हालसम्म १० शव विभिन्न शिक्षण अस्पतालमा छन्, जसले पहिले जीवित छँदा नै शरीर दान दिन लिखित रूपमा इच्छा गरेका थिए।

कानुनको अड्को

शरीरदान सम्झौताबारे स्वास्थ्य विज्ञान प्रतिष्ठान र शिक्षण अस्पतालहरू नै अलमलमा छन्। नेपालमा शरीरदानसम्बन्धी कानुन नबनेकाले प्रतिष्ठानलाई जीवित मानिससँग सम्झौता गर्न अप्ठ्यारो भएको चिकित्सकहरू बताउँछन्।

‘शरीर दानको इच्छा राखेर मानिसहरू आउँछन् तर लिन सकिरहेका छैनौं’, डा. वस्ती भन्छन्‍, ‘मर्नुभन्दा पहिल्यै आफ्नो मृत शरीर अस्पताललाई दिने सार्वजनिक माध्यममा उल्लेख गरेकाहरूको शव लिएका छौं।’

भदौ १ देखि लागू भएको मुलुकी देवानी संहिता ऐनमा रहेको शरीर दान गर्न पाउने व्यवस्था स्पष्ट नभएको चिकित्सकहरू बताउँछन्। ऐनको दफा ३८ को उपदफा १ मा ‘कुनै पनि व्यक्तिले आफ्नो मृत्युपछि आफ्नो शव, शरीरको कुनै अंग वा त्यसको कुनै अंश खास कामको लागि प्रयोग गर्न वा गराउन कसैलाई दान दिने गरी लिखित रूपमा इच्छा व्यक्त गर्न सक्ने’ प्रावधान छ।

शरीर दाताले अस्पतालसँग पहिले नै सम्झौता गर्ने कुरा भने देवानी संहितामा उल्लेख छैन। उपदफा २ मा ‘इच्छा व्यक्त भएकोमा हकवालाले पनि मर्ने व्यक्तिको शव, शरीरको अंग वा त्यसको कुनै अंशको प्रयोग मर्ने व्यक्तिको इच्छा बमोजिम गर्नुपर्ने’ उल्लेख छ। उपदफा ३ मा ‘त्यस्तो शव, अंग वा त्यसको कुनै अंश स्वीकार गर्ने व्यक्ति उपलब्ध हुन नसकेमा वा त्यस्तो शव, अंग वा त्यसको कुनै अंश छुट्याउन सम्भव नहुने भएमा त्यस्तो शवको दाहसंस्कार, काज किरिया वा सदगत गर्नुपर्ने’ प्रावधान छ।

राम्रा क्याडभरको अभाव

वरिष्ठ चिकित्सक डा. कार्की नेपालका मेडिकल कलेजहरूले अहिले दुईवटा स्रोतबाट क्याडभर (शव) उपलब्ध भइरहेको बताउँछन्, एउटा बेवारिसे र अर्को आयातीत। चिकित्सा विज्ञानमा परीक्षणका लागि राखिने शवलाई क्याडभर भनिन्छ।

पहिलेपहिले धेरै क्याडभर आयात हुने भए पनि अहिले त्यो घटेको छ। कलेजले एकपटक आयात गरेको शव धेरै ब्याचका विद्यार्थीले प्रयोग गर्ने भएकाले हाल क्याडभरको आयात घटेको डा.कार्की बताउँछन्।

कार्कीका अनुसार दक्ष चिकित्सकले सुरुमा क्याडभरका प्रत्येक अंग छुट्याउँछन्। पछि तिनै छुट्याइएका अंगको माध्यमबाट विद्यार्थीलाई अध्ययन गराइन्छ। त्यही विधि प्रयोग गरेर पुराना शव अहिले पनि प्रयोगमा आइरहेका छन्।

नेपालमा फोरेन्सिक गर्नैपर्ने बेवारिसे शव पनि भेटिन्छन्। तर, पोस्टमार्टम गर्न चिरफार गर्नुपर्ने भएकाले त्यस्तो शव विद्यार्थीका लागि उपयुक्त नहुने डा. कार्की बताउँछन्।

‘नेपालमा चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थीले वर्षौं पुरानो क्याडभरको अध्ययन गरिरहेका छन्’, कार्की भन्छन्‍, ‘मानिसहरूले शरीर दान गर्न थालेपछि चिकित्साशास्त्रका विद्यार्थीले पुराना पुराना क्याडभर प्रयोग गरिरहनु पर्दैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.