अग्निशिखाको मोजा
राजनीति, धेरै नै तरल रूपमा बगिरहेको थियो। माओवादी शक्तिले तन्काइरहेको जनयुद्ध शिखरतिर उन्मुख हुँदै थियो। ग्रामीण भेगमा मृत्युका फाइलहरू सदर हुँदै गइरहेका थिए, दिनानुदिन। सहरमा भने दरबारको मनोकांक्षा ब्यूँतिसकेको थियो र निरंकुशतन्त्रका पदचापहरू घनीभूत रूपमा सुनिन थालेका थिए।
अनेक आशंकाका बिजारोपण भइरहेको थियो। राजनीतिक शक्तिहरू भने अप्रभावकारी रूपले सडकमा आन्दोलनका त्यान्द्राहरू बिछ्याउँदै थिए। तर, दरबार र युद्धमा संलग्न शक्तिबीच नै टक्करका शृंखलाहरू चुलिँदै गएका हुँदा राजनीतिक शक्तिका आवाज निम्छरो र आन्दोलन पनि शिथिल बन्दै गइरहेको थियो।
दरबार, युद्धप्रेमी शक्ति र सत्ताच्यूत राजनीतिक शक्तिका आआफ्नै लयले देशको ‘नोटेसन’ नै बिग्रिरहेको थियो। र, गायकहरू आआफ्नै ‘नोटेसन’ तयार पारेर अनेक आलाप अलापिरहेका थिए।
त्यो मंसिरको कुनै दिन थियो। जाडो छिप्पिँदै थियो। बल्खुको आँगनमा पारिलो घाम तापेर शरीरमा ऊर्जा भिœयाउँदै गरिरहेका बेला अग्निशिखा दाइले अनुहारमा हलुका मुस्कान पोत्दै भन्नुभयो, ‘हाम्रा प्रधानसेनापतिको नाम कस्तो अमिल्दो छ है। उनको नाममा कुनै तालमेल नै छैन।’
‘किन र ? ’ मैले अग्निशिखा दाइको मुहारतिर हेर्दै सोधेँ।
‘प्यारजंग रे।’ उहाँले स्मीत मुस्कान पस्किँदै भन्नुभयो, ‘प्यार र जंग पनि कहीँ मिल्ने कुरा हो त ? प्रेम र युद्धबीच कसरी मेल हुनसक्छ ? ’ उहाँको अनुहारबाट हाँसोको फोहरा छुट्न लागेको संकेत मिलेको थियो र तत्काल खित्खिताउँदै हाँस्नुभयो। एक उन्मुक्त हाँसो। ध्वनिविहीन हाँसो। त्यति बेला ‘शाही’ नेपाली सेनाको प्रधानसेनापतिमा प्यारजंग थापा थिए। र, प्यारजंगको अमिल्दो नामप्रति उहाँको ठट्यौलो प्रसंग पोखिएको थियो।
अग्निशिखा हुनुहुन्न, अचेल। आठ–नौ वर्षअघि नै उहाँको भौतिक अस्तित्व मेटिइसकेको छ। तर, उहाँसँगका एकाध स्मृति भने मेरो मनमस्तिष्कबाट मेटिइसकेको छैन, अझै। बाँचुन्जेल मेटिने छैन, सायद। त्यो स्मृतिले झक्झक्याइरहने छ, बेलाबेला। छालजस्तै तरंगित स्मृतिले कति बेला निथु्रक्क भिजाउने हो, केही थाहा नहुने रहेछ।
विश्व राजनीतिका हाँगाबिंगा छिचोल्न र कम्युनिस्ट आन्दोलनको नर्सरीमा उमारिएका बिरुवाहरूमा नयाँनयाँ कलमीहरू गाँस्न सदैव उद्यत रहने अग्निशिखाको लेखन कर्म र समर्पण भाव सम्झिरहन्छु, म सधैँ। कोही, कसैले कम्युनिस्ट आन्दोलनप्रति विष बमन गर्दा उहाँमा आक्रोश र आवेगका पिपिरोहरू यति तीव्र रूपमा पलाउँथे, उहाँ त्यस्ता विष बमनकर्ताका शरीरमा तिनै पिपिरोहरूले मर्माहत हुने गरी घोचिदिन चाहनुहुन्थ्यो।
अर्थात्, कम्युनिस्ट विरोधीहरूलाई उहाँ शाब्दिक रूपमा प्रतिकार गर्न तत्क्षण सक्रिय भइहाल्नुहुन्थ्यो। एक अर्थमा भन्नुपर्दा अग्निशिखा ‘कालो कम्युनिस्ट’ नै हुनुहुन्थ्यो। कसैले माक्र्सलाई गालीगलौज गर्दा आफ्नै साख्यै हजुरबुवालाई गाली गरेजस्तो, लेनिनलाई दुत्कार्दा आफ्नै बाउलाई दुत्कारेजस्तो र होची मिह्नलाई होच्याउँदा आफ्नै काकालाई अपमान गरेजस्तो सहृदयीपन र निकटता उहाँले विश्व कम्युनिस्ट आन्दोलनका हस्तीहरूप्रति दर्शाउनुहुन्थ्यो।
त्यति बेला काठमाडौंमा हिउँदका चिसा दिनहरूले विस्तारै पदचिह्न बिसाउँदै थियो। त्यो समय उहाँ नेकपा (एमाले) को प्रचार सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो। बल्खुमा बिहान चाँडै नै आउनुहुन्थ्यो, प्रायः।
काठमाडौंको पूर्वी भेग चाबहिलबाट कहिले चक्रपथ त कहिले कुनै सवारी रुट पछ्याउँदै नितान्त पश्चिम–दक्षिण बिन्दु बल्खुसम्म सार्वजनिक यातायात पक्रिएर जिम्मेवारी सम्हाल्न आउँदा उहाँमा कुनै ग्लानिबोधको आभास मिल्दैनथ्यो। एक कर्तव्यनिष्ठ पात्रका रूपमा आफूलाई उभ्याउने कसरत गर्नुहुन्थ्यो।
हिउँदका तिनै दिनहरूमा बल्खु खोला क्रमशः सुक्ने क्रम/उपक्रममा थियो। र, पानीको बहाव कम हुँदै जान थालेपछि तीव्र रूपमा दुर्गन्ध प्रवाह पनि हुन थालिसकेको थियो। आखिर, पवित्र नदी, खोलामा सहरका ‘सभ्य’ जनहरूले आफ्ना शरीरबाट अवशोषित विकारहरू मिसाउँदा दुर्गन्धको खानी उत्खनन नभए अरू के नै हुन्थ्यो र, ती खोलाहरूमा। बल्खु खोलाले हिउँदका दिनहरू प्रारम्भ भएपछि त्यस्तै नियति झेल्नुपथ्र्यो।
केही क्षण पत्रिका ओल्टाइपल्टाइपछि फेला प¥यो— एउटा मृत मुसा। लाग्थ्यो, जुन मुसाले केही दिनपूर्व नै मृत्युवरण गरेको थियो। र, त्यो कुहिने प्रक्रियामा थियो।
त्यस दिन अग्निशिखा दाइ सधैँझैं बिहानै बल्खु आइपुग्नुभयो। र, ढोकामा जुत्ता फुकालेर भित्र छिर्नुभयो। तर, कोठाको वातावरण पहिलाजस्तो रहेन। कोठाभरि नमीठो हरकले तत्क्षण नै कब्जा जमाउन पुग्यो। एउटा नमीठो र प्रतिगामी गन्धले कोठाको वातावरणलाई पूरै बिथोल्न पुग्यो।
‘के गन्हाएको हो यस्तो ? ’ अग्निशिखाले नाकको पोरा थुन्दै भन्नुभयो। त्यो गन्ध यति भयावह थियो कि, हाम्रो घ्राण शक्ति नै धर्ममराउन पुगेको थियो।
‘खोला गन्हाएको होला, अब पानी कम हुन थाल्यो। त्यही भएर खोला गन्हाएको होला’, मेरो प्रतिक्रिया थियो।
हामीले छेउकै बल्खु खोलामा नजर पुर्यायौं। पानीको निशाना बिस्तारै मेटिँदै गइरहेको थियो र खोलाले लेदोको तहलाई बढाउँदै लगिरहेको थियो। तर, दुर्गन्धको स्तरोन्नति झनै हुन थालेपछि भने अग्निशिखा दाइले संशय उमार्दै भन्नुभयो, ‘बुझ्नुभो, यो खोलाको दुर्गन्ध होइन। हुँदै होइन। खोला त यसरी गन्हाउँदै गनाउँदैन।’
‘केको दुर्गन्ध होला त ? ’
‘खै, पत्ता नै लगाउन सकिएन।’
दुर्गन्धको चमक झनै विस्तारित हुन थालेपछि हामीले आआफ्नो खुट्टामा सुशोभित मोजातिर नजर दौडायौं। र, मोजालाई नै दुर्गन्ध फैलाउने तŒवका रूपमा उभ्याउँदै शंकाको दायरामा तान्यौं, तत्कालै। मैले भनेँ, ‘मोजा नै गन्हाएजस्तो लाग्यो, मलाई त।’
‘हो, मलाई पनि त्यस्तै लाग्यो। मेरै मोजा गन्हाएको हुनुपर्छ। नधोएको पनि तीनचार दिन नै भइसकेको थियो।’ अग्निशिखाले आफ्नो मोजातिर एक टकले नजर लगाउनुभयो र दुवै खुट्टालाई मोजामुक्त तुल्याउनुभयो।
‘यस्तो गन्हाउने मोजा के काम ? ’ उहाँले मोजालाई कारबाही गर्ने मनशाय बनाउनुभयो र तीव्र गतिमा एक जोर मोजा बल्खु खोलातिर हुत्याइदिनुभयो। मैले भने आफ्नो मोजा खुट्टाबाट उतारेर जुत्ताभित्र घुसारिसकेको थिएँ। किनभने मेरो मोजा सही सलामत थियो।
‘मोजा त नयाँ नै रहेछ। धुनुभएको भए फेरि लगाउन हुन्थ्यो नि’, बल्खुमा मोजा हुत्याइसकेपछि मैले अग्निशिखा दाइलाई भनेँ।
‘आ, त्यस्तो गन्हाउने मोजा लगाएर के हिँड्नु ? घरमा अर्को पनि नयाँ मोजा छ, त्यही लगाउँछु।’ अग्निशिखा दाइले निःसंकोच भन्नुभयो। र, उहाँ आफ्नो कार्यमा व्यस्त रहन थाल्नुभयो।
अग्निशिखाले आफ्नो मोजालाई ‘कारबाहीस्वरूप’ बल्खु खोलामा हुत्याउनुभए पनि र मैले जुत्तामा स्थानान्तरण गरे पनि हाम्रो घ्राण शक्तिलाई झनै नष्ट र क्षतविक्षत तुल्याउने गरी, ठाडो चुनौती दिने गरी दुर्गन्ध भने फैलिई नै रह्यो। दुर्गन्धको अन्त्येष्टि हुन सकेन। दुर्गन्ध फैलाउन मोजाले अहम् भूमिका खेलेको भन्ने हाम्रो निचोड गलत साबित भइसकेको थियो।
पल्लो कोठामा पुराना पत्रिकाहरू थन्किएका थिए। दुर्गन्धको सही र मूल स्रोत पत्ता लगाउन म त्यही कोठामा छिरेँ र असरल्ल छरिइरहेका पत्रिकाहरू पल्टाउन थालेँ। दुर्गन्धको तीव्र प्रहारले मेरो घ्राण शक्तिलाई झनै अपाहिज तुल्याउन थाल्यो। मैले ठम्याएँ, दुर्गन्धको स्रोत यहीँ कतै छिपेर बसेको छ।
केही क्षणको पत्रिका ओल्टाइपल्टाइपछि फेला प¥यो— एउटा मृत मुसा। लाग्थ्यो, जुन मुसाले केही दिनपूर्व नै मृत्युवरण गरेको थियो। र, त्यो कुहिने प्रक्रियामा थियो। दुर्गन्धको प्रधान कारण नै त्यही मृत मुसा थियो। मृत मुसाको उत्खनन गर्दै मैले अग्निशिखा दाइलाई भनेँ, ‘दुर्गन्धको स्रोत पत्ता लाग्यो नि, दाइ। यहीँ मरेको मुसा गन्हाएको रहेछ।’
‘ए, हो र ? मैले त आफ्नो मोजा गन्हाएको ठानेको थिएँ।’ अग्निशिखा दाइले केही समयअघि बल्खु खोलामा फ्याँक्नुभएको आफ्नो एक जोर निर्दोष मोजातिर नजर लगाउनुभयो र चुक्चुकाउँदै भन्नुभयो, ‘मैले त मेरो मोजा गन्हाएको भन्ठानेर फ्याँकिदिएँ।
आखिर मोजा त गन्हाएको होइन रहेछ नि। बेकारमा फ्याँकेछु।’ उहाँको अनुहारमा आफ्नो निर्दोष मोजाप्रति सहानुभूति झल्किएको प्रस्टै देखिन्थ्यो। त्यसपछि अग्नि दाइको नजर धमिलो पानीले भरिएको बल्खु खोलामा केही क्षण एक टकले पोखिइरह्यो।