चंगाको धागोमा अड्किएको बकुल्लो..(फोटो कथा)
काठमाडौं : मंसिर महिनाको चिसो मौसम र गोधूलि साँझ। काठमाडौंको कंक्रिट जंगलभित्र नारायणहिटी दरबार परिसरको कंक्रिट जंगलभित्रको रूखमा एउटा बकुल्ला चरा छट्पटाउँदै थियो।
दसैंतिहारको उल्लास मनाउने क्रममा चंगा उडाएर रूखमा अल्झाइएको एउटा बलियो धागो। त्यही धागोको धरापमा एउटा बकुल्ला बाँच्ने रहर गर्दै छट्पटाउँदै थियो।
बकुल्ला बचाउन त्यो अग्लो रूखमा न कोही चढ्न सक्थे न बाँस वा कुनै काठले भेटिन्थ्यो। बकुल्ला निरन्तर छटपटाइरह्यो।
बकुल्ला छट्पटाएको देखेर काग कराइरहेका थिए। काग बकुल्लो बचाउन वरिपरि झुम्मिन्थे। तर, तिनको केही सीप लागेन। यो दृश्य क्यामेराको भ्यु फाइन्डरबाट चियाउँदै कैद गरेँ। धेरै समय बस्दा पनि चंगाको धागो नचुडिएपछि म घर फर्किएँ।
त्यो बकुल्ला खोज्दै फेरि भोलिपल्ट नारायणहिटी दरबार परिसरमा पुगेँ। म पुग्दा बकुल्ला मरिसकेको थियो।