बाघ नपाए नेपाल आउनू !

बाघ नपाए नेपाल आउनू !

१. उसका बालाई हात्तीले किचेर मार्‍यो।

उसका बा उसका लागि भगवान् थिए।

हाती गणेश भगवान् हुन्।

भगवान्ले भगवान्लाई किचेर मार्‍यो।

ऊ हाम्रो पहिलो हिरो। यो हिरोको नाम हो, हेमन्त आचार्य। नाम तो सुना हि होगा ! नहीं ? अखबारको छाती नै थिचिने गरी अखबारहरूका पहिलो पृष्ठमा उसको सूर्यको जस्तो तेजिलो अनुहार छापिएको छैन नि त ! त्यही भएर नाम नसुन्या होला ! ठिकै छ। यसपालि यस्तै भयो !

२. उसले आमासँग छुटेको रतुवा (मृग प्रजाति)को सानो बच्चालाई एकैछिन पनि घाँटी सुक्न दिएन। दिनमा ६ चोटिसम्म दूध खुवाएर महिनौंदेखि आफू बस्ने कोठामा पालेको छ। हाम्री बैनी निर्मला पन्तलाई एकैछिन पनि घाँटी सुक्न नदिई वर्षौंदेखि उनका बा–आमाले पालेका थिए।

रतुवाको त्यो बच्चा आफैं घाँस चर्न सक्ने नहुन्जेलसम्म उसले त्यो बच्चालाई आफैंले जोगाएर राख्नेछ, उसको सानो छोरालाई जस्तै। आफैं आफ्नो भविष्य खोज्न सक्ने गरी नहुर्किन्जेलसम्म निर्मलाका बाआमाले उनलाई आफैंसँग जोगाएर राखे।

उसको कोठाको कुनाकुनामा रतुवाको बच्चाको वासना छ। निर्मलाको घरको कोठाकोठामा निर्मलाको वासना अझै छ।

घाँस चर्न सक्ने भएपछि उसले त्यो बच्चालाई बर्दिया राष्ट्रिय निकुञ्जमा लगेर छोडिदिनेछ। आफूले पालेर हुर्काएको कलिलो बच्चालाई जंगलमा बाघ चितुवाको अगाडि छोड्नुपर्दा उसका आँखा कति भत्किँदा हुन् !

पढ्नलेख्न भनेर निर्मलाका बा–आमाले उनलाई यो समाजमा छोडिदिएका थिए।

उस्तैउस्तै देखिने त्यतिका धेरै रतुवाहरू बर्दिया राष्ट्रिय निकुञ्जमा छन्। तर, पनि उसले गस्ती गर्न जंगलमा जाँदा आफ्नो बच्चालाई पक्कै परैबाट चिन्ला, ‘जसरी कन्सिरी मात्रै देखियो भने पनि परैबाट चिनिन्छ आफ्नो मान्छे।’ कुनै दिनदेखि गस्तीमा जाँदा धेरै दिनसम्म नदेखिएला त्यो बच्चा। र, उसले मनमनै भन्ला

‘बाघ र चितुवाले खायो होला। तेरो नियति नै त्यै हो। मिल्यो भने अर्को जुनीमा मेरो बच्चा भएर जन्मिनु। म तँलाई आफू जिउँदो हुन्जेल बचाइरहनेछु।’

निर्मलालाई उनका बा–आमाले देख्न छोडे। उनी हराइन्। बा–आमाले निर्मलालाई परैबाट चिन्थे, ‘जसरी कन्सिरी मात्रै देखियो भने पनि परैबाट चिनिन्छ आफ्नो मान्छे।’ अँध्यारोमै पनि चिन्थे। तर, कतै देखिइनन् उनी। निर्मलालाई दुईखुट्टे बाघले खाए।

के थाहा निर्मलाका बाले अघिल्लो जुनीमा सायद कुनै जनावरको बच्चालाई अहिले बर्दियाका रेन्जरले रतुवालाई भन्नेजस्तै भनेका पो थिए कि ! ‘बाघ र चितुवाले खायो होला। तेरो नियति नै त्यै हो। मिल्यो भने अर्को जुनीमा मेरो बच्चा भएर जन्मिनु। म तँलाई आफू जिउँदो हुन्जेल बचाइरहनेछु।’

र, निर्मला उनकै बच्चा भएर जन्मिइन्। तर, यो जुनीमा पनि...।

०००

आफ्नो बच्चासमेत दिएर बाघ बचाइरहेको मान्छे हाम्रो दोस्रो हिरो हो। यो हिरोको नाम हो सरोज खड्का। नाम तो सुना हि होगा ! नहीं ? गाडीचालकको आँखा नै तिरमिराउने गरी बाटोका खम्बाभरि उसको सूर्यको जस्तो तेजिलो अनुहार टाँगिएको छैन नि त ! त्यै भएर होला ! ठीकै छ। यसपालि यस्तै भयो !

कुन बाघलाई जंगलमा बचाउने र कुन बाघलाई जेलमा कोच्याउने भन्ने चेतना नभएका शासकले चलाएको देशमा छोरीहरू रतुवाको बच्चा भइरहन्छन्।

शासकलाई बाघको चिन्ता छैन, घोडाको छ। आफ्नो सवारी हुँदा अघिअघि बाघ हैन, घोडा कुद्छ नि त !

ठेलामा आलु बेचेर बेलुका चामल किन्ने श्रमिकलाई ‘सवारी हुँदैछ’ भन्दै घन्टौं बाटो काट्न नदिएको देखेको छु। ती श्रमिक प्रहरीलाई भन्दै थिए, ‘मैले यही बेचेर भरे चामल किन्ने हो हजुर, पारिपट्टि जान दिनुस् न !’ तर पाएनन्, किनकि सवारी हुँदै थियो। उनले त्यो रात आलुमा आलु मिसाएको तरकारी आलुसँगै मुछेर खाए होलान् ! आलुको डल्लासँग डराउनुपर्ने गरी शासकले त्यस्तो के बिगारेका हुन्छन्

हँ ? हरेक सवारीमा हाम्रो तरकारीलाई बाटो काट्न किन दिँदैनन् ? हरेक सवारीमा हाम्रो चामललाई बाटो काट्न किन दिँदैनन् ? हरेक सवारीमा हाम्रो पेटलाई बाटो काट्न किन दिँदैनन् ? हामीसँग तरकारी बम छैन हौ ! चामल बम छैन ! बरु पेट बम छ, जसले हरेक दिन हामि आफैंलाई पड्काइरहेछ। नेपालमा। विदेशमा।

यस्ता शासकबाट शासित हुनुभन्दा त बरु भागेर विदेश जाऊँजस्तो लाग्दो रैछ। तर, आफू पासपोर्टमा भिसा लाएर जति टाढाको देश गए पनि नेपालको हावा पासपोर्ट नबनाई, भिसा नलगाई आफ्नै पछिपछि आफू गएको देशमा आइपुग्दो रहेछ, र नेपालीमै सोध्दो रहेछ, ‘घर कैले फर्किने ? ’

यसरी विरक्तिन लागेको बेला कोही हिरोसँग भेट हुँदो रहेछ, जसले ‘नेपाल’ नामक फिल्म अन्त्यसम्म हेर्ने आश जगाइदिँदा रहेछन्।

भर्खरै नेपालमा त्यही भयो। ‘टाइटनिक’ फिल्मको हिरो लियोनार्दो डिकाप्रियोले नेपालको बारेमा एक मन भरिने डायलग बोले। ‘टाइटनिक’ फिल्म पहिलोपल्ट हेर्दा यो हिरोले जहाजको टुप्पोमा उभिएर माछाले, चराले देख्ने गरी आफ्नी हिरोइनलाई किस गरेको देखेको थिएँ। त्यो दृश्य हेर्दा त्यो बेलामा लागेको थियो— यो हिरो प्रेमको भगवान् हो। प्रेम गर्नु भनेको आफू भेटिने अर्की केटीको ओठमा आफ्नो ओठले कविता लेख्नु हो, जुन वरपरका चरा वा माछाले पढून्। म मनमनै सोच्थेँ— यो हिरोलाई नेपाल भन्ने देश छ भन्ने थाहा होला कि नहोला ! झापा जिल्ला थाहा होला नहोला ! मंगलबारे बजार थाहा होला नहोला ! त्यो गाउँमा एउटा फुच्चे छ, जो गीतको अर्थ नबुझे पनि ‘माई हार्ट विल गो अन...’ गाउँदै त्यो आफू भेटिने केटीको कल्पना गर्छ भन्ने थाहा होला नहोला ! क्यै गरी कतै ‘नेपाल’ भन्ने शब्द उच्चारण गरिहाल्ला कि भनेर म त्यो फिल्म लगातार त्यतिचोटिसम्म हेर्थें जतिचोटिसम्म हेर्दा हल्दिबारीमा चार्ज गरेर ल्याएको ब्याट्रीको चार्ज सकिँदैन ! जति हेर्दा नि उसले ‘नेपाल’ भनेन। तर, केही महिनाअघि ऊ नेपालबारे खुब बोल्यो किनकि मेरो देश नेपालले संसारका अरू कुनै पनि देशले भन्दा बढी प्रेम गर्‍यो बाघलाई। (मान्छेले मान्छेलाई गर्ने प्रेमको गहिराइ वा उचाइ नाप्न मिल्ने भए, त्यसमा पनि नेपाल एक नम्बर हुन्थ्यो भन्नेमा पक्का छु म। यसभित्र शासकले जनतालाई गर्ने प्रेम पर्दैन।)

वर्ल्ड वाइल्ड लाइफ फन्डका अनुसार सन् २०१० मा भारत, रसिया लगायतका १३ देशले आफ्नो देशमा भएका बाघको संख्या २०२२ सम्ममा दोब्बर बनाउने सामूहिक लक्ष्य तय गरेका थिए। तर, विश्व नै चकित हुने गरी नेपालले भने त्यो संख्या लगभग चार वर्षअघि नै पूरा गर्न लागिसकेको छ। सन् २००९ मा हाम्रो देशमा १२१ वटा बाघ गणना भएकोमा सन् २०१८ सम्मको गणनामा बाघको संख्या २३५ पुगिसकेको छ। यसरी नै काम हुँदा बाँकी सात बाघ थपिन खासै समय लाग्ने छैन। एकदमै चाँडो नेपाल विश्वको त्यो पहिलो देश हुँदैछ, जसले तोकिएको समयभन्दा धेरै अघि बाघको संख्या दोब्बर गर्‍यो ! यो खबर विदेशी मिडियाहरूमा कसरी आयो भने सारा विश्वले नेपालको नयाँ परिचय पायो। संसारभरिबाट पर्यटकहरूले बाघ हेर्न नेपाल आउने तयारी सुरु गरिसकेका छन् ! बर्दिया राष्ट्रिय निकुञ्जमा भेटिएका केही विदेशी पर्यटकलाई मैले ‘नेपाल विशेष केको लागि आउनुभएको ? ’ भनेर सोध्दा, धेरैको मुखबाट उही वाक्य न्यानो गरी गर्जियो, ‘अफ् कोर्स फोर टाइगर !’

(बाघको लागि नि !) उनीहरू भन्दै थिए, उनीहरूको देशबाट दर्जनौं समूह बाघ हेर्न यहाँ आउने तयारी गर्दैछन् ! यो कुरा सुन्दा मात्रै पनि मेरो मनको बाघ उसको गालामा डिम्पल पर्ने गरी लजायो। बाघ दोब्बर गर्ने नेपाल संसारकै पहिलो देश हुन लागेको खुसीमा पहिलेको ‘टाइटनिक’ र अहिलेको ‘रेभनेंट’को हिरो लियोनार्दो डिकाप्रियोले भने, ‘नेपालमा बाघको संख्या वृद्धिमा यस्तो छलाङ आउनु यसको प्रमाण हो कि हामी सबैले मिलेर काम गर्ने हो भने यो ग्रहका वन्यजन्तु साँच्चै बचाउन सक्छौं। हामी ती प्राणी पनि बचाउन सक्छौं जो दुर्लभ नै हुन लागिसकेका छन्।’ नेपालप्रति गर्व गर्दै सारा संसारले सुन्ने गरी ती हलिउड सुपरस्टारले थपे, ‘नेपाल संसारलाई नेतृत्व गरिरहेको त्यो देश हो, जसले आफ्नो सीमाभित्रका बाघहरूलाई दोब्बर गर्ने यत्रो सफल प्रयास गर्‍यो। नेपाल संरक्षणको क्षेत्रमा एसिया मात्रै नभई संसारकै नमुना देश हो।’

हलिउड हल्लियो यो सुनेर। नेपालमा पनि उसको फिलिम ‘टाइटनिक’ जस्तै भयो। बर्दियाको राष्ट्रिय निकुञ्जको कुनै अग्लो डाँडामा बसेर भाले बाघले पोथी बाघको ओठमा कविता लेख्यो, जसलाई तलबाट माछाहरूले हेरे। माथिबाट चराहरूले हेरे। त्यो जोडीलाई प्रेमको भगवान् सम्झिए। नेपाल एकाएक एउटा रोमान्टिक फिल्म बन्यो। तर, तपाईंहाम्रो कल्पनाले भ्याउन सक्ने भन्दा खतरा भिलेनहरू छन् यस फिलिममा। आखिर कस्तो भिलेनसँग हाम्रा हिरोहरूले कस्तो फाइट खेले र बाघहरू बचाए ? ‘नेपालका बाघ’ कथानक चलचित्र कसरी विश्वभरि सुपरहिट भयो त ?

सीबीएपीले बर्दियामा काम गरेजस्तै देशभरिका निकुञ्जहरूले कसरी बाघ बचाइरहेछन् भने हिजो देशले ‘न्याय नपाए गोर्खा जानू’ भनेजस्तै भोलि संसारले ‘बाघ नपाए नेपाल जानू’ भन्न सक्छ !

भयानक भिलेन स्ट्राटेजी

केही वर्षअघि बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा शंकास्पद मान्छेलाई निकुञ्जका कर्मचारीले समाते। ऊ कति अनौठो थियो भने मानसिक रूपले ठीक छ जस्तो कसैलाई लागेन। ऊ एकै शब्द बोलेन। ६ महिना निकुञ्जको सुधारगृहमा राख्दा पनि एक शब्द बोलेन। सबैले माने कि ऊ बोल्न सक्दैन। भान्छामा गएर दिसा गर्‍यो। जताततै भुइँमा लडिदिन्थ्यो। ६ महिनासम्म सोधखोज गर्दा पनि कतैबाट केही प्रमाण, संकेत पाइएन। अन्ततः उसलाई सुरक्षितसाथ छोडियो। तर, त्यसको डेढ महिनापछि त्यही मान्छे बाघको छाला, हड्डीसहित समातियो।

यी र यस्ता खतरनाक भिलेनहरूलाई समात्न निकुञ्जका कर्मचारी र नेपाल आर्मी हरेक दिन घन्टौं गस्ती गर्छन्, अझ विशेष चाडबाडका बेला। किनकि तस्करहरू चाडबाडमै तस्कर गरेर त्यसैलाई आफ्नो चाड बनाउन चाहन्छन्। त्यसैले प्रायः आर्मीहरू, निकुञ्ज कर्मचारीहरू तिहारमा बाघको छातीमा देखिने रङ हेरेर दिदीबहिनीले लगाइदिने रङको चित्त बुझाउँछन्। दसैंमा हात्ती हेर्छन्, हरेक वर्ष संख्या बढेको देख्छन् अनि मनमनै भन्छन्, ‘सन्तानले डाँडाकाँडा ढाकिरहेकै छन्।’

आफ्ना सन्तान जोगाउन हिरो र रेन्जर सरोज खड्काजस्ता दर्जनौं कर्मचारी एउटा लठ्ठीको भरमा बन्दुक बोकेका तस्करलाई पक्डन जान्छन् ! बाटोमा बाघ, चितुवाले ज्यान लिने डर उत्तिकै छ ! आफ्नै ज्यान लिन सक्नेको पनि ज्यान बचाउन जाने हिरोहरू छन् हाम्रो देशमा ! आफ्नै ज्यान बचाइदिनेहरूको ज्यान जाँदा पनि चुपचाप बस्ने शासकहरू छन् हाम्रो देशमा !

देशका अरू राष्ट्रिय निकुञ्जहरू जस्तै महान् काम गरेर देशलाई संसारभरिको केन्द्र बनाइराखेको बर्दिया राष्ट्रिय निकुञ्जलाई सरकारको एक सानो अंगको रूपमा लिन पाउँदा एकैछिन अरू कुरा बिर्सिएर भन्न मन लाग्छ— धन्यवाद नेपाल सरकार !

तर, सरकार एक्लैले यत्रो वर्षदेखि भइरहेको यति डरलाग्दो चोरी सिकार कसरी रोक्यो ? त्यति खतरनाक तस्करको सुराक कसरी पत्ता लगायो ? जंगलको त्यत्रो ठूलो क्षेत्रफल सुरक्षित कसरी राख्यो ? वरपरका (मध्यवर्ती क्षेत्रका) गाउँलेहरूको परिवारलाई जंगल र वन्यजन्तुको परिवारसँग नजोडी त यो सम्भव थिएन ! यो कसरी सुरु भयो ?

यहाँ हुन्छ हाम्रा दुई नयाँ हिरोहरूको इन्ट्री !

एउटा ऐतिहासिक घटना छ। २०६४ सालमा बर्दिया राष्ट्रिय निकुञ्जनजिकै एउटा गैंडा मारियो। विभिन्न पक्षले एकअर्कालाई आरोप लगाए। दुई मान्छे आरोपभन्दा माथि उठे। निकुञ्जभित्रबाट तत्कालीन रेन्जर रमेशकुमार थापा र समुदायको तर्फबाट धनीराम चौधरी। थापाले निकुञ्जबाट औंलाबीच खालि ठाउँ देखाउँदै एउटा हात ल्याए। चौधरीले औंलाबीच खाली ठाउँ देखाउँदै एउटा हात ल्याए। भर्खरै प्रेममा परेका प्रेमीले जसरी उनीहरूले औंलाको त्यो खाली चेपमा औंलाहरू छिराए। बलियोसँग हात समाते। अनि जन्मियो सीबीएपी (चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान)। निकुञ्ज र समुदायको प्रेम कति झाँगियो भने उनीहरूले गाउँगाउँ गएर लुकाइएका हातहतियार जफत गरे। कत्ति गाउँलेले आफैं बुझाए। जनचेतनाका यस्तायस्ता काम गरे कि ती मान्छे जसको सहयोग लिएर तस्करले तस्करी गर्न सक्थ्यो अब ती आफू नै तस्करको सुराक दिने सुराकी भए। गाउँलेहरूले मनमा लागेका सबै कुरा निकुञ्जसँग बाँड्न थाले। डर सुनाए ! शंका सुनाए। विश्वास सुनाए। प्रेममा सबैथोक सुनाऊँ सुनाऊँ हुन्छ नि ! त्यस्तै भयो।

नौलो नायक स्ट्राटेजी

योचाहिँ संस्कृतिले धनी देश हुनुको फाइदा है ! माघी मेला लाग्थ्यो। चाडबाडको बेला तस्कर बाठो पल्टिएर मेलामा चियो गर्न आउँथे। गाउँलेले सुराकी लगाएर माघी मेलामै नाचीनाची घेरीघेरी तस्करलाई पक्डे।

बर्दिया निकुञ्ज र सीबीएपीको प्रेम यसरी सप्रियो कि ऐले सीबीएपीमा संलग्न युवाको संख्या दुई हजार तीन सय आठ छ। अर्थात् मध्यवर्ती छेत्रका दुई हजार तीन सय आठ जना युवाले बर्दिया राष्ट्रिय निकुञ्जले नै परिचयपत्र दिएको छ। अर्थात् दुई हजार तीन सय आठ जना हिरो हिरोइन बाघ, गैंडा, हात्ती आदिलाई आफ्नै परिवारको सदस्य मानेर सुरक्षा गर्छन्। वन्यजन्तुले गाउँमा बिगार गरे तुरुन्त त्यहीँ पुग्छन्। वन्यजन्तु गणना, निरीक्षणमा सघाउँछन्। कति दिन कति रात नेपाल आर्मी र निकुञ्ज कर्मचारीसँगै गस्तीमा हिँडेका छन्। सीबीएपीका सदस्यहरू निकुञ्ज कर्मचारी र आर्मीको बोलीचालीमा लठ्ठ छन्। दाजुभाइ दिदीबहिनी जस्तै छन् उनीहरू ! मानौं, जनावर बचाउने पर्व चलिरहेछ अनि उनीहरू सँगै त्यो पर्व मनाइरहेछन् !

फिल्मको दुखद डाइलग

बर्दिया ठाकुरद्वाराको हात्तीसार नजिकैको खोलाबाट सूर्य अस्ताएको हेर्दै सीबीएपीको साथीभाइसँग म कुरा गर्दै थिएँ। त्यहाँ घाम यस्तरी अस्ताउँदो रहेछ मानौं तीन वर्षपछी घाम अरबबाट नेपाल फर्किएको छ र उसकी श्रीमती उदाउँदो घाम आफ्नो अनुहारमा लिपेर उसलाई पर्खिरहेकी छन्। जंगलका रूख माथिबाट एउटा घाम अस्ताइरहेथ्यो अनि तल खोलाभित्रबाट त्यही घाम माछालाई काउकुती लगाउँदै अस्ताइरहेथ्यो ! खोलाका माछा र रूखका चरा दुवैले त्यो लजाउँदै ढल्किँदै गइरहेको घामलाई देखिरहेथे। अब घामले टाइटनिक गर्ने पालो थियो। बर्दियाको सूर्यास्त प्रेमको भगवान् बनेर अस्ताइरहेथ्यो, त्यत्तिकैमा सीबीएपीका एक सदस्य भाइ उदाए। उनी आजै पासपोर्ट बनाएर आएका रहेछन्। मैले सोचेँ, उनी बर्दियामा यत्तिका बाघ बढ्नुको प्रेरणादायी कथा सुनाउन कुनै देशमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जाँदैछन्। तर, उनी त काम गर्न खाडी मुलुक जाने तयारीमा रहेछन्। किनकि वन्यजन्तु संरक्षणका लागि काम गरेर दुई हजार तीन सय आठ जनाको पेट भरिन्न रहेछ। राज्यले उनीहरूलाई बर्दियामै बसेर काम गर्न सकिने रोजगारको अवसर दिलाए केही वर्षमा बर्दिया आउने पर्यटकबाटै आएको पैसाले राज्यले त्यो लगानी उठाउन सक्थ्यो नि ! तर, शासकलाई फोटो खिचाउनु छ। लाखौंको विदेश यात्रा र भोज गर्नु छ। करोडौंको गाडी चढ्नु छ ! बाघ बचाउनेलाई बचाउन शाषकलाई फुर्सद छैन, कुर्सी बचाउनु छ नि त !

ती भाइजस्ता दुई हजार तीन सय आठ हिरोहिरोइन अलिअलि गर्दै कामको नाममा हराए भने के हुन्छ ? उनीहरू हराएसँगै पहिल्यैजस्तो बाघहरू हराए भने के हुन्छ ? बाघहरूको टाइटनिक बन्द भयो भने के हुन्छ ? प्रेमको भगवान्लाई के हुन्छ ?

बचाउनेलाई जसरी पनि बचाउनुपर्छ।

जब खाडीमा औधी गर्मी हुनेछ, तब त्यो भाइले साथीहरूलाई सुनाउनेछ, ‘बर्दियामा गर्मी हुँदा हामी सीबीएपीका केटाहरू जंगल छेउको एकतले घरमा भेला भएर सुत्थ्यौं। बाघको डरले राति छतबाटै सबैले पिसाब फेथ्र्यौं। पिसाबको गन्धले गर्दा बिहान उठ्दा त माथि छतभरि हामी केटाहरू हुन्थ्यौं, तर भुइँभरि गैंडा। अलि उज्यालो भएपछि, गैंडाहरू आफ्नो घर जान्थे, हामी आफ्नो घर। रातभरि गैंडाहरूले हामीलाई उल्टै सुरक्षा दिन्थे। बुझ्यौ केटाहरू ? ’ यति सुनेर अरूहरू रोमाञ्चित भएर हाँस्नेछन्। यति सुनाइसकेर ऊचाहिँ चर्पीमा गई रुनेछ।

उसलाई खाडीको गर्मी होइन, बर्दियाकै गर्मीमा रोक्नुपर्छ।

बचाउनेलाई जसरी पनि बचाउनुपर्छ।

आफूलाई बचाउने मान्छे आफ्नैअघि टाढा गएको बाघले थाहा पायो भने उसलाई कस्तो लाग्ला ? आफूलाई बचाउने मान्छे आफ्नैअघि टाढा गएको मान्छेले थाहा पायो भने उसलाई कस्तो लाग्ला ? पहिलो प्रश्नको उत्तर मलाई थाहा छैन, दोस्रोले भत्काउँछ।

बचाउनेलाई जसरी पनि बचाउनुपर्छ।

निर्मलाले आफ्ना बाआमाभित्र भोलि ठूली भएर खुसी दिने आश बचाएकी थिइन्। हामीले निर्मलालाई बचाउन सकेनौं। अपराधीलाई पकड्न अझै ढिला गर्‍यौं भने मानसिक रूपले विक्षिप्त भएका निर्मलाका बुवालाई पनि बचाउन गाह्रो हुनेछ।

बाउ भनेकै छोरी बचाउने ऊर्जा हो। बाउ बचाउनुपर्छ। बचाउनेलाई जसरी पनि बचाउनुपर्छ।

राज्य कसलाई बचाइरहेछ हँ ?

सीबीएपीले बर्दियामा काम गरेजस्तै देशभरिका निकुञ्जहरूले यसरी बाघ बचाइरहेछन् कि हिजो देशले ‘न्याय नपाए गोर्खा जानू’ भनेजस्तै भोलि संसारले ‘बाघ नपाए नेपाल जानू’ भन्न सक्छ !

सीबीएपीको सहयोगले आज बर्दिया राष्ट्रिय निकुञ्जमा सयभन्दा बढी हात्ती, ८७ बाघ, २९ गैंडा लगायतका जनावर सुरक्षित भएर मर्निङ वाक, इभिनिङ वाकमा निस्कन्छन्। त्यही सीबीएपीमा विगत १० वर्षदेखी एउटा हिरो हात्ती बचाउन लागेको छ। ऊ अहिले ती दुई हजार तीन सय आठ हिरोहिरोइनको मुख्य हिरो हो, संयोजक हो। आफ्नो ज्यान बच्ने टुंगो छैन तर उसलाई जसरी नि हात्ती बचाउनु छ। उही हो हाम्रो पहिलो हिरो,

उसका बालाई हात्तीले किचेर मार्‍यो।

उसका बा उसका लागि भगवान् थिए।

हाती गणेश भगवान् हुन्।

भगवान्ले भगवान्लाई किचेर मार्‍यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.