सुरुवातमै सुन्तलाको मूल्य उच्च

सुरुवातमै सुन्तलाको मूल्य उच्च

धरान : प्रदेश १ का पहाडी जिल्लामा उत्पादन भएका सुन्तलाको मूल्य सिजनको सुरुवातमै अकासिएको छ। गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको मूल्य दोब्बर भएपछि उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन्। पूर्वी पहाडी जिल्ला धनकुटा, भोजपुर, खोटाङ, तेह्रथुम, संखुवासभा, पाँचथर र इलाममा सुन्तला उत्पादन हुन्छ।

मूल्यवृद्धि हुनुमा बिचौलियाको हात रहेको उपभोक्ताको आरोप छ। मंसिर महिनाको सुरुवातीसँगै सुन्तलाको खुद्रा मूल्य प्रतिकेजी एक सय ५० रुपैयाँ छ। गत साल मंसिरमा सुन्तलाको मूल्य प्रतिकेजी ८० रुयैयाँ थियो। पूर्वी पहाडी जिल्लामा उत्पादन भएको सुन्तला धरानको कृषि उपज बजारमा बिक्री हुन्छ। सुन्तलाको मूल्यवृद्धि हुनुमा बिचौलियाको हात रहेको धरान–१७ का सन्दीप लिम्बू दाबी गर्छन्। उनले भने, ‘बिचौलियाले दाम बढाएका छन् तर किसानले मूल्य पाएका छैनन्।’ उपभोक्तालाई निकै समस्या भएको उनले सुनाए।

सुन्तला उत्पादन वृद्धि भएसँगै बजार मूल्य पनि बर्सेनि बढ्दै गएको कृषि उपज बजार धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए। उनका अनुसार हाल सुन्तलाको होलसेल मूल्य एक सय १० रुपैयाँ र खुद्रा एक सय ५० छ। सुन्तलाको मूल्यवृद्धिले सर्वसाधारण मारमा परेको व्यवस्थापक भट्टराईको भनाइ छ। कृषकले पूर्वी पहाडी जिल्लामा उत्पादन हुने सुन्तलाको बिक्री केन्द्र धरानलाई बनाएका छन्। यहाँको सुन्तला देशका विभिन्न जिल्ला र भारतसमेत निकासी हुने गरेको व्यवस्थापक भट्टराईले बताए।

सबै पहाडी जिल्लामा सडक सञ्जाल नपुगेका कारण सुन्तला व्यवसायीले धरानलाई सुन्तला बिक्री केन्द्र बनाएका हुन्। कृषि उपज बजार धरानका अध्यक्ष पर्शुराम कट्वालले यो वर्ष दैनिक ५० मेट्रिकटन सुन्तला बिक्री भएको बताए। धनकुटाको खोकु, छिन्ताङमा उत्पादन भएको सुन्तला नेपालमै स्वादिलो मानिन्छ।

धनकुटाका सुन्तला कृषक सुरेन्द्र चेम्जोङले गाउँमा सडक विस्तार नभएको र बजार अभावले बिचौलियालाई बोटमै सस्तो मूल्यमा सुन्तला बेच्नु परेको गुनासो गरे। गत वर्ष धरानबाट मात्र ६ हजार सात सय १९ मेट्रिक टन सुन्तला बिक्री भएको व्यवस्थापक भट्टराईले बताए। उनका अनुसार गत वर्ष धरानबाट ५३ करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री भएको थियो।

यो वर्ष मूल्य वृद्धिका कारण ८० करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ। धरानमा भारतीय व्यापारी सुन्तला खरिद गर्न आउनेको संख्या बढ्न थालेपछि सुन्तलाको मूल्यवृद्धि भएको बताइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.