'अतिवादविरूद्ध सहकार्य गरौं'

'अतिवादविरूद्ध सहकार्य गरौं'

काठमाडौं : एसिया र प्रशान्त क्षेत्रका नेताहरूले आतंकवाद र अतिवाद नै विश्वशान्तिको बाधक रहेको बताएका छन्। कट्टरपन्थी धारकै कारण विश्वमा गरिबी र अशिक्षा निर्मूल पार्न नसकिएको उनीहरूले चर्चा गरे।

ठूला तथा शक्ति मुलुकले साना माथि गर्ने अप्रत्यक्ष शासन समेत बाधक भन्दै त्यसको अन्त्यका लागि अल्पविकसित र विकासोन्मुख मुलुकहरूबीच सहकार्य अपरिहार्य रहेको नेताहरूले जिकिर गरे। विश्वमै ‘विवादित’ मानिएको आईएनजीओद्वारा आयोजित एसिया प्रशान्त सम्मेलनको उद्घाटनमा बोल्दै उनीहरूले विश्वशान्तिका लागि नागरिक आकांक्षा र बदलिँदो विश्व परिवेशलाई स्वीकार गर्नुको विकल्प नभएको बताए।

‘समस्या समाधान सहकार्यबाट मात्र सम्भव छ,’ नेताहरूले आफ्नो सम्बोधनमा छुटाएनन्, ‘आतंकवाद, अतिवाद, जलवायु परिवर्तनको असर, मानव तस्करी जालोलगायत विकराल समस्या समाधान एकल प्रयत्नबाट सम्भव छैन।’ सहकार्य र अनुकरणीय कार्यको अनुसरण अहिलेको आवश्यकता रहेको उनीहरूले जोड दिए।

सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले बन्दुकको विश्वास एकाएक मतमा परिणत भएको नेपालको अनुकरणीय उदाहरण विश्वले भुल्न नमिल्ने बताए। १० वर्षे सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरणले नै बन्दुकमाथि मतको विजय पुष्टि भइसकेको भन्दै नेपाललाई शान्तिको उर्वरभूमिकै रूपमा दरिएको स्पष्ट रहेको उनले बताए।

मुलुक संक्रमणकालीन अवस्थाबाट पार भएर विकास र समृद्धिमा लम्किएको भन्दै विश्व सहकार्यमा नेपालले जोड दिने उनले बताए। २१औं शताब्दीअनुकूल शान्ति, समानता र विकासमा संयुक्त प्रयत्न अपरिहार्य रहेको बताए। उनले पछिल्लो समय जलवायु परिवर्तन र स्वास्थ्यका नयाँ चुनौती थपिएको विचार व्यक्त गरे।

ओलीले नेपाल पूर्वीय सभ्यताको उर्वरभूमि रहेको भन्दै नेपालका पूर्वजबाट नै विश्वले सिक्न सक्ने धारणा राखेका थिए। उनले पछिल्लो पुस्तालाई उज्ज्वल बनाउन ऋषिमुनिहरूले प्रशस्त ज्ञान दिएको पनि बताए। ‘वसुधैव कुटुम्बकम्’ (धर्तीका सबै जाति हाम्रा दाजुभाइ हुन्) मा आधारित हाम्रो समाजले मानवताप्रतिको हाम्रो ज्ञान उजागर गरेको उनले चर्चा गरे।

बुद्धको जन्मभूमिमा नेपालीले आफूभित्रै अरुलाई भेट्ने भन्दै प्रधानमन्त्रीले भने, ‘हामी संसारकै सबैभन्दा पुरानो सभ्यताको हिस्सा भएकोमा गर्व गर्छौं। एशिया प्रशान्त क्षेत्र ज्ञानको ज्योति पहिलोपल्ट बलेको क्षेत्र हो। पुस्तौंपुस्तासम्म त्यो ज्ञान र एसियाली मान्यता कायम छ र रहनेछ। हिमालयको काखमा अवस्थित यो प्राचीन सहरले पूर्वज ऋषिमुनिहरूको ज्ञानको माध्यमबाट नै हाम्रा आगामी पुस्ताको उज्जवल बनाउने बारेमा सिकाउने छ।’

उनले जलवायु परिवर्तन अहिलेको विश्व चुनौती भएको भन्दै हिमाल पग्लने क्रम रोक्ने उपायबारे घोत्लिनु पर्ने बताए। बहुपक्षीय सम्बन्धलाई बलियो बनाउन अन्तरनिर्भरतालाई कायम राख्ने, प्राकृतिक वासस्थानको रक्षा गर्दै मुलुकहरूले आपसी समृद्धिलाई अघि बढाउने र संसारभरिका मानिसलाई विश्वव्यापी मूल्य÷मान्यताबारे उपदेश दिन आवश्यक रहेको पनि उनले चर्चा गरे।

म्यान्मारका विदेशमन्त्री आङसाङ सू चीले पनि विश्वशान्तिमा जोड दिँदै यस क्षेत्रको महत्व विश्वले बुझ्दै आएको बताइन्। ‘दिगो विकास र शान्ति स्थापनाका लागि एसिया प्रशान्त क्षेत्रसँगको पश्चिमा सहकार्य अपरिहार्य छ। विश्व नै सहकार्यमा अघि बढ्नुपर्छ,’ उनले भनिन्, ‘हरेक चुनौतीलाई अवसरका रूपमा लिई सकारात्मक सोचमा अडेर त्यसको प्रतिवाद गर्न आवश्यक छ।’ उनले आफ्नो मुलुकभित्रको समस्याभन्दा पनि यस क्षेत्रको समस्या समाधानमा हातेमालो आवश्यक रहेको बताइन्।

सम्मेलनमा ३४ वर्षदेखि लगातार शासनमा रहेका कम्बोडियाका प्रधानमन्त्री हुन सेनले विश्व अझै खुला हुन नसकेको भन्दै विकासमा सहकार्य गर्न आफूहरू तयार रहेको बताए। उनले पश्चिमा शक्तिको नामै नलिई विश्व परिवेश अझै अस्पष्ट रहेको बताए। शासन प्रणाली सबैको आआफ्नै हुने भन्दै कुनै मुलुकमा रहेको शासन प्रणाली अर्कोले अवलम्बन गर्न नपर्ने र विकासका लागि सहकार्य गर्न सक्ने बताए।

भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले आतंकवाद विश्वकै समस्या रहेको चर्चा गरे। यसलाई अन्तर्राष्ट्रिय कानुनअनुरूप समाधान गरिनुपर्ने बताए। आतंकवाद विश्व शान्तिका लागि सबैभन्दा ठूलो चुनौती रहेको उनले बताए। पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफराजा गिलानीले पनि शान्ति र विकासका लागि आतंकवाद प्रमुख चुनौती बन्दै गएकोमा दुःख व्यक्त गरे। द्वन्द्व निवारणलाई उच्च प्राथमिकता दिएर यसको अन्त्य गर्न आवश्यक रहेको बताए।

उनले चीनले अघि बढाएको ‘बेल्ट एन्ड रोड इनिसियटिभ्स’ प्रयासले पनि यस क्षेत्रको महत्व बढाएको बताए। बन्दरगाह, आर्थिक क्षेत्र तथा सम्पर्क सञ्जालको विकास गरेर पूर्वीय शक्तिको उद्गार गरेको उनले चर्चा गरे। आतंकवादको चपेटमा पाकिस्तानले ठूलो मूल्य चुकाएको उनले बताए। ‘राम्रो तालिवान वा आतंकवादी भन्ने हुँदैन। आतंकवादी आतंकवादी नै हो,’ उनले भने, ‘मेरो आफ्नै छोरा पनि आतंकवादीको अपहरणमा परेका थिए।’

फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेदोले विश्व शान्तिका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताइन्। यस क्षेत्रमा हुने सहकार्यबाट शान्ति र दिगो विकासको प्रक्रिया थप बलियो हुने उनले बताइन्। त्यस्तै टुभालुका राज्य प्रमुख लाकोबा ताइया इतालेनीले सेना र बन्दुकबाट मात्रै जनतालाई सुरक्षित गर्न नसकिने धारणा राखे। प्राकृतिक स्रोतलाई वर्तमान तथा भविष्यको पुस्ताका लागि सुरक्षित गर्न जोड दिनुपर्ने उनले बताए।

सामोआका राष्ट्रप्रमुख अफिओगा भालेतोआ सुआलौभी द्वितीयले सम्मेलनलाई सामूहिक प्रयत्नको एक उदाहरण भन्दै सहकार्यमा जोड दिन सबैलाई आग्रह गरे। त्यस्तै कार्यक्रमा पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, नेपालका सांसदहरू पनि बोलेका थिए। कार्यक्रमको अध्यक्षता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए। उनले विश्वलाई विभाजन होइन, जोडेर अघि बढ्न पर्ने बताए। सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन : अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल भइरहेको छ।

नेपाल सरकार, संघीय संसद्, युनिभर्सल पिस फेडरेसन (युपीएफ), इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिक्स (आइक्याप), इन्टरनेसनल एसोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपीपी) को सहकार्यका सम्मेलन नेपालमा आयोजना भएको हो। दुई दिनसम्म जारी रहने सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्ररसरकार प्रमुखका साथै अन्य मुलुकका पनि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, तथा प्रभावशाली व्यक्ति सहभागी छन्।

हुन सेन फर्के

कम्बोडियाका प्रधानमन्त्री हुन सेन सम्मेलन नसकिँदै शनिबार दिउँसो स्वदेश फर्केका छन्। उनी निर्धारितभन्दा एक दिनअघि अचानक स्वदेश फर्केका हुन्। उनी आफ्नो निजी विमानमा आएका थिए। समापन समारोहमा समेत उपस्थिती रहने सूची रहेको छ। उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल बिदाइ गरे। उनले नेपालसँग हवाई सम्झौता र सरकारी कामकाजको लागि अनअराइभल भिसाको सम्झौता पनि गरे। फिलिपिन्सका उपराष्ट्रपति पनि फर्केकी छन। म्यानमारकी सू ची र नाउरुका राष्ट्रपति आइतबार फर्कने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.