समृद्धि सोचनीय छ
खम्बा–खम्बामा समृद्धि झुन्डिएको छ। भित्ताभित्तामा समृद्धि टाँसिएको छ, नयाँ युगको सुरुवात भइसकेको छ। न्याय नभएर के भयो त ? विभिन्न १५ भन्दा बढी देशका राष्ट्र तथा सरकार प्रमुख र उच्च पदस्थ अधिकारी काठमाडौंमा ओर्लंदै गर्दा सरकारले सडक खाली गरेर, सवारीमा जोर–बिजोर नियम लागू गरेर समृद्धिको परिचय दिइसकेको छ। सम्मेलन यूपीएफको भएर के भयो त, सबै उद्देश्य किन सही हुनुपर्यो ? आखिर ‘अतिथि देवो भव’ त हाम्रै संस्कार हो नि ! जनताले यात्राको सास्ती खेपेरै भए पनि, वृद्ध, बालक, महिला, रोगीले दुःख पाएर पनि अतिथि सेवामा सरकार खटेकै छ। अरू केही नभए पनि दुई हजार पाहुना व्यवस्थित गर्न नसक्ने हाम्रो सडकको अवस्था छ भनेर थाहा पाउनु र सडक व्यवस्थापन गर्नतिर लाग्नु समृद्धिको लक्षण होइन र ? हरेक घटनाले शिक्षा दिएरै गएका हुन्छन् तर दुर्भाग्य हामी शिक्षा ग्रहण गर्दैनौं।
आठौं आश्चर्य त यही हो कि मानिस गल्तीबाट पनि सिक्दैन !
सोचनीय छ– मुलुकको होस् या व्यक्ति, घर र परिवारमा जुन सुख, शान्ति र समृद्धिको परिकल्पना गरिएको छ, लक्ष्य बनाइएको छ, त्यो प्रत्येक व्यक्तिको विचारबाट निस्किनुपर्छ। यो पृथ्वी, विश्व र प्रत्येक राष्ट्रमा जुन विकास, समृद्धि या अस्थायित्व र चाहेअनुसारको विकास भएको छ या छैन, त्यसमा त्यस मुलुकका राजनेताको भूमिकाभन्दा पनि उनीहरूको विचारको प्रत्यक्ष प्रभाव परेको हुन्छ। किनभने समृद्धि कुनै प्रधानमन्त्री, मन्त्री या उच्च पदस्थ व्यक्ति र सरकारले ल्याउने नभई ती ठाउँमा रहेका व्यक्तिको विचारबाट आउने हो। हामी अझै भ्रममा छौं– प्रधानमन्त्रीले गरेनन्, राजनेताले गरेनन् भन्दै नभएको कामको नकारात्मक विचार तीन करोडले फैलाइरहेका छौं। कर्मभन्दा शक्तिशाली हुन्छ विचार। पहिले विचारबाट कर्म गर्ने प्रेरणा प्राप्त भएपछि मात्र त्यो कर्ममा परिणत हुन्छ अनि परिणाममा देखिन थाल्छ। किनकि विचारको शक्ति सबैभन्दा ठूलो शक्ति हो।
आफ्नो पुस्तक विचार विज्ञानमा खप्तडबाबाले व्याख्या गर्नुभएको छ। जुन वस्तु जति सूक्ष्म हुन्छ, त्यसको बल पनि उत्ति नै बढी हुन्छ। सबभन्दा सूक्ष्म हुनाको कारण बजुली आदि सारा वस्तुभन्दा पनि विचारको नै बल बढी मानिएको छ। जड वस्तुभन्दा चेतन र सूक्ष्म वस्तुमा सदैव नै अधिक बल हुन्छ। जस्तो– ढुंगाभन्दा माटो सूक्ष्म छ र माटोमा ढुंगाभन्दा पनि अधिक बल छ। ढुंगाभन्दा माटोमा जडता कम छ, त्यसैले ढुंगाको अपेक्षा माटोमा जीवनशक्ति धेरै छ। माटोभन्दा पानी अधिक सूक्ष्म छ, पातलो छ त्यसैले त्योभन्दा पानी ज्यादा उपयोगी र बलवान् छ। पानीभन्दा बाफ सूक्ष्म छ र बाफभन्दा वायु सूक्ष्म छ, बलवान् छ।
वायुभन्दा आकाश अर्थात् शब्द सूक्ष्म छ र शब्दको गतिभन्दा प्रकाशको बल धेरै छ। प्रकाशको भन्दा बिजुलीको बल बढी र सूक्ष्म छ। तर बिजुलीभन्दा पनि विचारको बल अतिसूक्ष्म छ। यद्यपि विचारभन्दा पनि सूक्ष्मतर वस्तु जगत्मा छन् तर तिनको ज्ञान हामीलाई भएको छैन। यसैले जगत्का सबै वस्तुभन्दा विचार र बुद्धि अतिसूक्ष्म र बलवान् भएको वर्णन उपनिषद्मा गरिएको पाइन्छ।
समृद्धि सरकारबाट अपेक्षा नगरी हामी तीन करोड नेपाली प्रत्येकले आफ्नो विचार सकारात्मक बनाएर हेर्नुको विकल्प छैन।
एकातिर मुलुकमा सोचेअनुसारको शान्ति, स्थिरता, सुरक्षा नहुने अर्कोतिर सबैले भएन, हुँदैन, हुन सक्दैन भनेर नकारात्मक विचार बढाउँदै, फैलाउँदै जानुको कारणले नहुनुमा धेरै मद्दत पुगेको हुन्छ। जे विचार उत्पन्न हुन्छ त्यसले बडो तेजगतिमा कर्मको रूप लिन पुग्छ। विचारको गति प्रकाशको भन्दा पनि वेगवान् छ। प्रकाश एक सेकेन्डमा सातपटक पृथ्वीको परिक्रमा गर्नसक्छ तर विचारको गति त्योभन्दा पनि तीव्र छ। किनभने विचारका परमाणु प्रकाशभन्दा पनि अतिसूक्ष्म र बलवान् हुन्छन्। प्रकाश आदि तŒवहरूभन्दा विचारको शक्ति अधिक चैतन्य तथा विशेष गति भएको छ। त्यसैले विचारहरूलाई आफ्नो नजिक खिच्न तथा टाढा पठाउनमा ज्यादा श्रम पर्दैन। विचार आयो, जस्तो आयो त्यस्तै रूपमा कर्ममा परिणत भइहाल्छ त्यसैले नकारात्मक विचार जति धेरैले फैलाउने कोसिस गर्यो, त्यति मात्रामा त्यसको परिणाम हात लाग्छ। कुनै पनि सफल मुलुक या सफल व्यक्तिको सफलताको राज यही विचारप्रतिको सोच र कर्मको विज्ञान नै हो। यसलाई आधुनिक विज्ञानमा ‘आकर्षणको नियम’ भनिन्छ। हामी जे कुरालाई विचारद्वारा आकर्षित गर्दछौं त्यही परिणाम हात लाग्छ।
घरमा सासू–बुहारीको झगडा र वैमनस्य होस् या पतिपत्नीबीचको कटुता, छोराछोरीको गुनासो होस् या नातेदारको गुनासो कुनै पनि नकारात्मक विचार अरूसँग व्यक्त नगर्नु नै बेस हुन्छ। किनभने व्यक्त गर्नासाथ उनीहरूका विचारमा नकारात्मक सन्देश प्रवेश गरिहाल्छ र त्यो नकारात्मक ऊर्जा सबैतिर फैलिन
थाल्छ। नकारात्मक ऊर्जा फैलाउनु समस्याको समाधान पटक्कै होइन। त्यसैगरी, मुलुकको विकास भएन, राजनेताले गरेनन् भनेर नकारात्मक ऊर्जा जति फैलिँदै जान्छ त्यति नै असफलता हात लाग्छ।
अहिलेसम्म मुलुकमा कुनै पनि राजनेताका कारणबाट समृद्धि आएको छैन। किनकि उनीहरूले ल्याउनेभन्दा पनि उनीहरूका विचारमै यो समृद्धि विकास हुन सकेको छैन। त्यसको अलावा हामी सबै तीन करोड नेपालीका विचारमा सकारात्मक सोच आउन सक्यो भने मुलुकले सीधै फटको मार्नेमा द्विविधा छैन। हाम्रो भाव र सकारात्मक विचारले रूपान्तरण ल्याउँछ यसलाई प्रयोग गरेर हेरौं !
हाम्रो मस्तिष्कको आकार हेर्दा जति सानो छ, त्यसको तुलनामा यसको सोच्ने शक्ति र विचार शक्ति अथाह छ। त्यसैले त मानिस जन्मजात चेतनशील, विवेकशील प्राणी कहलाउँदै आएको छ। सोच्ने र विचार गर्ने सक्ने शक्ति अरू प्राणीमा भन्दा बढी छ मानिसमा त्यसैले हामी जे चाहन्छौं त्यही सोचौं र पूरा गरौं किनकि हाम्रो समग्र जीवन विचारअनुसारको कर्मले ओगटेको छ। समस्या र नकारात्मक विचार जति फैलायो त्यति समस्या र नकारात्मक भएर फैलिने हुनाले त्यसलाई रूपान्तरण गरेर सकारात्मक विचार उत्पादन गर्ने र भित्रैदेखि यो कुरा सकारात्मक भएरै निस्कन्छ भन्ने भरोसा आफैंमा जाग्न सकेको दिन संसारमा कतै विफलता र अस्थिरता भोग्नु पर्दैन।
हाम्रो नकारात्मक विचारलाई कसैले सकारात्मक बनाउन सक्दैन त्यसको भागेदार प्रत्येक व्यक्ति हामी आफैं हौं। नकारात्मकतामा पनि सकारात्मकता देख्ने खुबीको विकास सबैले गर्न सकेको क्षणमा मात्र समृद्धि हासिल हुन्छ। समाधान हाम्रो विचारमा र हाम्रो हातमा हुन्छ कसैको नकारात्मक विचारमा हुँदैन। सकारात्मक सोच हुने व्यक्तिले कहिल्यै कसैसँग हीनताबोध गर्नुपर्दैन। कसैले भन्दैमा, नकारात्मक सोच्दैमा र गाली दिँदैमा हीनताबोध हुँदैन। हीनताबोध त्यतिबेला हुन्छ जब अरूको नकारात्मक विचारले हामीमाथि कब्जा जमाउन थाल्छ। समृद्धि सरकारबाट अपेक्षा नगरी हामी तीन करोड नेपाली प्रत्येकले आफ्नो विचार सकारात्मक बनाएर हेर्नुको विकल्प छैन।