सिकार खेल्न गएका युवा आफैँ गोली लागेर मारिए
धरान : हतियारसहित सिकार खेल्न जङ्गल गएका धरान उपमहानगरपालिका–१७ का आषीश थापाको साथीले हानेको गोली लागेर ज्यान गएको छ ।
मङ्सिर ६ गते राति सुनसरीको धरान उपमहानगरपालिकाको उदय सामुदायिक वन क्षेत्रमा आफ्नै साथीले हानेको गोली लागेर थापाको ज्यान गएको प्रहरीले जनाएको छ । थापासँग अन्य ६ जना पनि सिकार खेल्न गएका थिए । सिकार खेल्न गएका ६ जना फर्किए तर, आशीष फर्किएनन् ।
त्यसपछि परिवारले इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दि । सोमवार चार कोसे जङ्गलबाट थापाको शव बरामद गरिएको छ । थापालाई गोली हानी हत्या गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी सुमन तिम्सिनाले बताए । उनले अनुसन्धानमा असर पर्ने भन्दै पक्राउ परेकाको नाम गोप्य राखिएको बताए ।
सिकार खेल्न गएका बेला जङ्गलका बोट बिरुवा हल्लिएपछि थापालाई बँदेल ठानेर गोली हानिएको थियो । गोली चलेपछि ढलेको बँदेल लिन पुगेका अन्य सिकारीहरू साथी ढलेको देखेपछि घर फर्केको थियो । उनीहरूले घटना लुकाएर बसेका थिए ।
घटनाको १० दिनपछि आइतबार मृतकका भाइले जाहेरी दिएपछि प्रहरीले उनीहरू छ जनालाई पक्राउ गरेको थियो । त्यसपछि थापाको गोली लागेर ज्यान गएको पत्ता लगाएको डिएसपी तिम्सिनाले बताए ।