दुर्घटना रोक्न सचेतना अभियानमा जुट्यो प्रहरी
बैतडी : सवारी दुर्घटनाबाट धेरैको ज्यान गएपछि बैतडीमा ट्राफिक प्रहरीले सचेतना अभियान थालेको छ । विद्यालय तथा चालक र सहचालकलाई ट्राफिक नियमका बारेमा जानकारी दिन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले बताए। उनले भने, 'छिमेकी जिल्ला दार्चुला र डडेल्धुरामा सवारी दुर्घटनाबाट धेरै जनाले ज्यान गुमाएका छन्। जिल्लामा यस्ता घटना नहोउन भन्नका लागि हामीले विद्यालयका बालबालिकालाई ट्राफिक नियमका बारेमा जानकारी दिएका हौं।'
यतिबेला प्रहरी स्कुल स्कुलमा गएर सडक काट्दा अपनाउनुपर्ने सावधानीका बारेमा विद्यार्थीलाई जानकारी दिइरहेका छन्।दशरथचन्द राजमार्गसँग जोडिएका विद्यालयका बालबालिकालाई ट्राफिक नियमका बारेमा सिकाउन थालेको रावलले बताए। उनले भने, 'हामीले पहिलो चरणमा राजमार्ग नजिकका विद्यालयका बालबालिकालाई ट्राफिक नियमका बारेमा सिकाइरहेका छौं। यसले बालबालिकालाई सडक भएर विद्यालय जाँदा सजिलो हुनेछ।'
विद्यालयका बालबालिकाजस्तै चालक र सहचालकलाई पनि दुर्घटना न्यूनीकरणका विषयमा जानकारी दिन थालिएको ट्राफिक प्रहरीले जनाएको छ। 'हामीले चालक र सहचालकलाई सवारी साधन ओभरटेक नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न सचेत गराएका छौं।प्रहरी सहायक निरीक्षक रावलले भने, 'सामूहिक रुपमा चालक र सहचालकलाई एकठाउँमा भेला गरेर हामीले प्रशिक्षण दिएका छौं।'
ट्राफिक प्रहरीले थालेको सचेतना अभियानले सवारी दुर्घटनामा कमी आउने सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेश शाहले बताए। उनले भने, 'ट्राफिक प्रहरीले थालेको यो अभियान निकै सराहनीय छ। यसले सवारी दुर्घटनामा पक्कै पनि कमी आउँछ ।'
विद्यालयका विद्यार्थीलाई लागूऔषध र दुव्र्यसन नियन्त्रणका बारेमा समेत जानकारी दिन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नाउव उपरीक्षक नेत्रमणी गिरीले बताए। उनले भने, 'बालबालिकाका माध्यमबाट समाजमा हुने विभिन्न विकृतिलाई रोक्नका लागि हामीले अभियान सुरु गरेका छौं।जिल्लाका विभिन्न ठाउँका विद्यालयहरुमा गएर सचेतना कक्षा लिने गरेका छौं।'
प्रहरीले सामुदायिक प्रहरी साझेदारी अवधारणाअन्तर्गत विद्यालयमा कक्षा लिने गरेको प्रहरी नायव उपरीक्षक गिरीले बताए । उनले भने, 'हामीले विद्यालयमा विद्यार्थीमार्फत समाजमा हुने गरेका विकृति विसंगति हटाउनका लागि पनि पहल गरिरहेका छौं । प्रहरी र नागरिकको सम्बन्धलाई बलियो बनाउनका लागि प्रयासमा छौं।'