संघ-प्रदेशका समस्या समन्वय परिषद्बाट : परराष्ट्रमन्त्री ज्ञवाली
सुर्खेत : संघीय सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संघीय र प्रदेश सरकारबीच देखिएका असमझदारी अन्तरप्रदेश समन्वय परिषद्को बैठकले हल गर्ने बताएका छन्।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विषयगत मन्त्री र सचिवहरूसँग बुधबार बसेको बैठकमा मन्त्री ज्ञवालीले संघीय व्यवस्था नेपालका लागि नयाँ प्रयोग भएकै कारण समस्या देखा परेको बताए।
‘नेपालको संघीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ हो, सुरुमा सबै तारतम्य मिलाउन समस्या देखिन्छ’, उनले भने, ‘अन्तरप्रदेश समन्वय परिषद्को बैठकबाट दुवै निकायबीच भएका असमझदारी समाधान गरिनेछ।’
मन्त्री ज्ञवालीले निर्वाचनअघि नै संरचना र कर्मचारी व्यवस्थापन गर्न नसक्दा पनि प्रदेश सरकारको कार्य सम्पादनमा प्रभावकारिता नदेखिएको बताए।
‘सरकारले भर्खरै जारी गरेको कर्मचारी समायोजन अध्यादेशले कर्मचारी व्यवस्थापनको समस्या हल गर्नेछ’, उनले थपे, ‘संरचना निर्माण र प्रदेश लोकसेवा आयोग गठनपछि कर्मचारीको समस्या दीर्घकालीन रूपमा समाधान हुनेछ।’
विद्यमान संरचनामा २५ हजार कर्मचारी अपुग रहेको तथा अवकाशका लागि इच्छुक संख्या १० हजार रहेको जानकारी दिँदै मन्त्री ज्ञवालीले समस्या समाधानका लागि केन्द्र सरकारले तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय र प्रदेश सरकारले निश्चित तहसम्मका कर्मचारी भर्ना र खटनपटन गर्न संविधानमा भएको अस्पष्टता हटाएर भए पनि प्रदेश लोकसेवा आयोग गठनको बाटो खोलिने जानकारी दिए।
कर्णालीको विकास र समृद्धिबिना नेपालको समृद्धि असम्भव रहेको भन्दै प्रदेश सरकारमातहत क्रियाशील कर्मचारीलाई दत्तचित्तसाथ काम गर्न उनले आग्रह गरे।