३१ देशका ७० बढी फिल्म, के छन् यसपटकको किम्फमा नयाँ ?
सिनेमा फिल्म ज्ञान बढाउने माध्यम त हो नै, देशभित्र या बाहिरको समाजलाई नियाल्ने आँखीझ्याल पनि हो।
काठमाडौं : मंसिर २१ देखि काठमाडौंको राष्ट्रिय सभागृह र पर्यटनबोर्डमा फिल्मी उत्सव चल्नेछ। किम्फको त्यस २६ औं संस्करणमा यसपटक ३१ मुलुकका ७० भन्दा धेरै सिनेमा प्रदर्शन हुनेछन्। ‘हामीलाई ६० देशका चार सयभन्दा धेरै मुभी आएको थियो,’ किम्फका अध्यक्ष वसन्त थापा भन्छन्, ‘तर, सबै सेलेक्सनमा परेनन्।’
किम्फको यस संस्करणमा ‘नेपाल प्यानारोमा’ शीर्षकको बेग्लै सेसन चल्नेछ। यो सेसनमा नेपालीले बनाएको सिनेमा मात्र प्रदर्शन गरिनेछ। यस शीर्षकमा २१ सिनेमा छनोट भएका छन्। हरेक चल्ने फिल्मको कुम्भमेलामा प्रदर्शन हुने फिल्म के आधारमा छानिन्छन् ? ‘यस्तो–यस्तो हुनुपर्छ भन्ने कुनै मापदण्ड वा फर्मुला हामीसँग छैन। बस्, ती फिल्म राम्रो हुनुपर्यो,’ अध्यक्ष थापा भन्छन्, ‘हामीले अहिलेसम्म फिचर फिल्मलाई नै महत्व दिइरहेका छौं।’
किम्फमा छानिएका प्रायः सिनेमाले पर्वतीय समाज र जनजीविकालाई समेट्छ। समाजका समकालीन समस्या फिल्ममा प्रतिविम्बित हुन्छन्। बसाइँसराइ, द्वन्द्व, पर्यावरण, ग्लोबल वार्मिङ यस्ता विषय हुन्, जुन पर्वतीय समाजले सधैं भोगिरहन्छन्। यी विषय किम्फ फेस्टिभलको मुख्य मुद्दा हुन्। किम्फमा छानिएका सिनेमा प्रायः हल वा थिएटरमा प्रदर्शन हुँदैनन्। न त ती सिनेमा युट्युबजस्ता सामाजिक सञ्जालमै भेटिन्छन्। यस्ता फिचर फिल्मका दर्शक र विषय नै फरक हुन्छन्। ‘त्यसैले यी सिनेमा फेस्टिभलबाहेक अन्यत्र हेर्न पाइँदैन’, थापा भन्छन्।
०००
काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को स्थापना भएको १८ वर्ष पुग्यो। सन् २००० मा वसन्त थापा र उनका केही समकक्षीले यो फेस्टिभल सुरु गरेका थिए। सन् २००६ सम्म दुई/दुई वर्षमा फेस्टिभल आयोजना गरियो। सन् २००७ बाट बर्सेनि हुन थाल्यो।
सामाजिक चेतना फैलाउन सिनेमाले महत्वपूर्ण भूमिका खेल्छ। ‘श्रव्यदृश्य माध्यमलाई हामी सामाजिक परिवर्तनको मुख्य माध्यम बनाउँछौं’, थापा भन्छन्, ‘सिनेमामा आएका विषयले समाजमा ‘डिस्कोर्स’ बढाउँछ। यसले समाजमा सकरात्मक भाइब्स ल्याउँछ। मान्छेको चेतनास्तर उकास्न पनि यस्ता फेस्टिभलको योगदान विशेष हुन्छ।’
किम्फले देशभित्र मात्र होइन, देशबाहिरका सिनेमा पनि प्रदर्शन गर्छ। फेस्टिभलले अन्तर्राष्ट्रिय समाज नियाल्न मद्दत पु¥याउने निर्देशक सुवर्ण थापा बताउँछन्। ‘फिल्मीकर्मीलाई मञ्च चाइन्छ। किम्फले त्यो मञ्च प्रदान गरिरहेको छ। सुवर्ण भन्छन्, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै प्रभाव हुन्छ। त्यसैले यस्ता फेस्टिभल जोगाउनु जरुरी छ।’ किम्फजस्ता फिल्म फेस्टिभल चलाउन सरकारले पूरा सहयोग गर्नुपर्ने सुवर्ण बताउँछन्।
फिल्म ज्ञान बढाउने माध्यम त हो नै, देशभित्र या बाहिरको समाजलाई नियाल्ने आँखीझ्याल पनि हो। नेपाली चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय चलचित्रकर्मीसँग जोड्न पनि किम्फको भूमिका उल्लेख्य रहेको निर्देशक अनिल बुढामगर बताउँछन्। ‘हलहरूमा प्रस्ततु नहुने अन्तर्राष्ट्रिय सिनेमा हेर्नका लागि पनि किम्फले सहयोग गरेको छ,’ उनी भन्छन्। गत वर्ष अनिलको चलचित्र ‘लोम्बा’ किम्फमा प्रदर्शन भएको थियो।
फिल्म मेकरको क्षितिज फराकिलो पार्न पनि किम्फजस्ता फेस्टिभलको आवश्यकता हुन्छ। ‘राम्रो पुस्तक लेख्न, राम्रो पुस्तक पनि पढ्नुपर्छ। त्यस्तै, राम्रो फिल्म बनाउन, राम्रो फिल्म पनि हेर्नुपर्छ,’ वसन्त भन्छन्, ‘राम्रा फिल्मसम्म दर्शकको पहुँच पु¥याउन किम्फले हरदम मेहनत गरिरहेको छ। दर्शकलाई फरक फिल्मी स्वाद चखाउनु पनि हाम्रो उद्देश्य हो।’ एउटै ट्रेन्डका फिल्म आइरहने नेपाली समाजमा यस्ता फेस्टिभलको भूमिका झनै उल्लेख्य हुने देख्छन् उनी। किम्फजस्ता फिल्मी उत्सवले फिल्मभित्रै पनि विकल्प खोज्छन्। ‘संसारमा फरक धारका सिनेमा पनि छन्’ भनेर बुझाउन यस्त फेस्टिभल प्रभावकारी हुन्छन्।
‘फिल्मसम्बन्धी मानिसको एउटै धारणा थियो– एउटा हिरो हुनुपर्छ, चिटिक्क परेकी हिरोइन हुनुपर्छ। उनीहरूको प्रेम पर्छ। त्यसपछि एउटा भिलेन देखापर्छ। अनि द्वन्द्व हुन्छ। यही ट्रेन्डमा हामी अभ्यस्त थियौं,’ थापा भन्छन्, ‘दर्शकसँग यस्ता फिल्म हेर्नुको विकल्प थिएन। जब फेस्टिभल हुन थाले, फिल्मबारे दर्शकको धारणा परिवर्तन हुन थाल्यो।’ यस्ता फेस्टिभलमा प्रस्तुत गरिने फिल्मले दर्शकको दृष्टिकोण नै बदलिदिने उनी बताउँछन्।
वैकल्पिक धारका फिल्म निर्मातालाई उकास्न किम्फले महत्वपूर्ण भूमिका खेलेको छ। यसले कयौं प्रतिभालाई मञ्च प्रदान गरेको छ, फिल्म बनाइरहेका तर अवसर नपाइरहेका प्रतिभालाई सतहमा ल्याइदिएको छ। फरक स्वादको फिल्म देखाइरहेकाले नै किम्फ अहिलेसम्म टिकिरहेको थापा बताउँछन्। हरेक वर्षको किम्फमा दर्शकको उपस्थिति उल्लेख्य रहन्छ।
०००
केही दिनअघि एक चाइनिजले वसन्त थापालाई सोधे, ‘फेस्टिभल राम्रो हुँदैछ। यसलाई कसरी चलाइराख्नु भएको छ ?’
थापाको जवाफ थियो, ‘हामीलाई आर्थिक समस्या छ।’ किम्फलाई जोगाइराख्न असाध्यै गाह्रो भएको महसुस गर्छन्, थापा। कार्यक्रम जहिल्यै ‘जिरो ग्राउन्ड’बाट सुरु गर्नुपर्छ। संस्थासँग पैसा छैन। जहिल्यै ‘स्पोन्सर’को भर पर्नुपर्छ। फेस्टिभल चलाउन जोस–जाँगर भए पनि आर्थिक पक्षले जहिल्यै निराश तुल्याउँछ उनलाई।
‘सधैं भिक्षा मागेर चलाउन सम्भव छैन। दुई/चार वर्षदेखि हामीलाई निकै गाह्रो भइरहेको छ,’ थापा भन्छन्, ‘काम गर्ने मान्छे थोरै छन्। गर्नुपर्ने काम धेरै छ। सरकारको उल्लेख्य सहयोग छैन।’ दर्शकको ‘मोटिभेसन’ले मात्र आफूहरूलाई अघि बढाइरहेको सुनाउँछन् उनी। मोटिभेसनले मात्र कार्यक्रम कहाँ चल्छ र ! किम्फ सुरु गरेका थापाकै केही साथी समूहबाट बाहिरिसके। हिजोआज थापा खुबै सोच्ने गर्छन्– मैले पनि छाडेँ भने किम्फको हालत के होला ?
युवा प्रतिभालाई अगाडि ल्याउन नेपाली सन्दर्भमा किम्फको भूमिका महत्वपूर्ण भएको निर्देशक थापा बताउँछन्। भन्छन्, ‘बाहिरी देशका फिल्मीकर्मी आएका हुन्छन्। फिल्मको ट्रेन्डमाथि उनीहरूको कुरा सुन्न पाइन्छ।’
फेस्टिभलमा बाहिरी देशका सिनेमा छानिन्छन्। त्यसका निर्देशक, निर्मातालाई किम्फले जानकारी पनि गराउँछ। कार्यक्रममा आइदिन निम्ता पनि गर्छ। निम्ता गर्दा कहिलेकाहीँ अप्ठ्यारो परिदिन्छ। बाहिरबाट नेपाल आउन खोज्नेहरू हुन्छन्। भाडा, गाँसबासको सुविधाको कुरा हुन्छ।
‘हामी हाम्रो पाहुनालाई फेस्टिभलमा आउनु भनेर प्लेनको टिकट दिन सक्ने हैसियतमा पनि छैनौं। उनीहरूको आधा खर्च व्यहोरिदिन पाए पनि खुसी लाग्थ्यो,’ थापाले भने, ‘नियमित आउने पर्याप्त पैसा भएदेखि यो फेस्टिभलले अझै उचाइ पाउँथ्यो। बाहिरको फेस्टिभलसँग त हाम्रो तुलनै हुँदैन।’