बाँदरले खेती गर्नै दिएन
बैतडी : दशरथचन्द नगरपालिका–५ नौहाटका मधुसूदन भट्टको खेतबारी पाँच वर्षदेखि बाँझै छ। खेतमा गहुँ, बारीमा सुन्तला, जुनार, अमिलोलगायत फलफूल पहेँलपुर देखिन्थे। तर, हिजोआज मधुसूदनलाई ती कुरा सपनाजस्तै भएका छन्।
पाँच वर्षयता दशरथचन्द नगरपालिकाका विभिन्न वडामा बाँदरले बालीनाली नष्ट गर्न थालेपछि स्थानीयले खेत बाँझै छाडेका हुन्। ‘घरपरिवारका लागि पुग्ने अन्न, बारीको ताजा तरकारी र फलफूल प्रशस्त मात्रामा फल्थ्यो। तर, अहिले दैनिक उपभोग्य सामानका लागि बजारको भर पर्नुपरेको छ’, मधुसूदनले भने, ‘बाँदरले खेतमा लगाएको सबै अन्नबाली नष्ट गरेपछि हामीले गहुँ लगाउन छाडिसक्यौं।’
बाँदरका कारण बारीमा तरकारीसमेत लगाउन छाडेको स्थानीय लक्ष्मी भट्टले बताइन्। उनले भनिन्, ‘हामीले मिहिनेत गरेर लगाएको तरकारी बाँदरले सखाप पारिदिन्छ। त्यसैले खेतबारी बाँझो राख्न बाध्य भएका छौं।’
बाँदरले घरभित्रै पसेर नोक्सानी गर्ने गरेको स्थानीय नारायणप्रसाद भट्टले बताए। काम विशेषले घरका मानिस बाहिर भएका बेला बाँदर झ्यालबाट पसेर सामान नष्ट गरिदिने गरेको उनले सुनाए। भने, हामीलाई बाँदरले धेरै सताएको छ, बालीनाली जोगाउन पहरा दिने गरेका छौं।’ पहरा दिँदासमेत बालीनाली जोगाउन नसकिएपछि खेत बाँझै राख्नुपरेको दशरथचन्द नगरपालिका–५ की देवकी तिरुवाले बताइन्।
दशरथचन्द नगरपालिकाको वडा नम्बर ५, ७ र ८ मा बाँदरले आतंक फैलाउन थालेपछि अधिकांश किसानले खेत बाँझै छाडेका हुन्। ‘फूल फुल्नेबित्तिकै सबै फूल टिपेर बाँदरले खाइदिन्छ अनि कहाँबाट फल लाग्नु ? बाँदरकै कारण बालीनाली लगाउन छाडेका हौं’, स्थानीय माया भट्टले भनिन्।
गत वर्ष दशरथचन्द नगरपालिका–५ ले बाँदर नियन्त्रणका लागि डेढ लाख बजेट विनियोजनसमेत गरेको थियो। एक/दुई दिन गाउँका सबै मिलेर बाँदर धपाए पनि फेरि गाउँमै आउने गरेको दशरथचन्द नगरपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद भट्टले बताए। उनले भने, ‘हामीले बाँदर विशेषज्ञ बोलाएर नियन्त्रणको प्रयास गर्यौं तर सफल हुन सकेनौं।’
दशरथचन्द नगरपालिकाले तयार पारेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजनामा बाँदर आतंक मुख्य छ। ‘हामीले स्थानीयसँग छलफल गर्दा धेरैजसो वडामा बाँदर आतंक आएको छ’, योजना निर्माणमा सहभागी रेडक्रस बैतडीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले भने। उनले बाँदरकै कारण धेरैले घरबार छाडेर अन्यत्र बसाइँ सर्नुपरेको बताए।