निर्माण उपकरणको बजार बढ्दो

निर्माण उपकरणको बजार बढ्दो

काठमाडौं : पछिलो समय नेपालमा हेभी इक्विपमेन्ट (निर्माण उपकरण) को बजार बढ्दो क्रममा छ। मुलुक विकासको बाटोमा अग्रसर भएसँगै व्यवसायीले नयाँ प्रविधिका अत्याधुनिक हेभी इक्विपमेन्ट भित्र्याइरहेका छन्। पूर्वाधार विकाससम्बन्धी नेपालको लक्ष्य हासिल गर्न हेभी इक्विपमेन्ट महत्वपूर्ण हुने व्यवसायीको भनाइ छ। हेभी इक्विपमेन्ट निर्माता कम्पनीले नेपाललाई सम्भावित बजारको रूपमा लिएका छन्। मंसिर ६ गते भक्तपुरको सल्लाघारी मैदानमा पहिलो पटक हेभी इक्विपमेन्टसम्बन्धी बृहत् प्रदर्शनी आयोजना गरियो।

भारतीय उद्योग संघ (सीआईआई)को सहकार्यमा प्रदर्शनी आयोजना गरिएको थियो। सीआईआईले भारतीय उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नेगर्छ। यसले पनि नेपालमा हेभी इक्विपमेन्ट बजार विस्तारको सम्भावना प्रबल छ। ‘नेपाल कनम्याक प्रदर्शनी २०१८’ उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गरेका थिए। प्रदर्शनी उद्घाटन गर्ने क्रममा मन्त्री महासेठले चार वर्षमा मुलुकको पूर्वाधार विकासमा कायापलट ल्याउने बताएका थिए।

२०५० सालसम्म सरकारी स्वामित्वका हेभी इक्विपमेन्ट डिभिजन कार्यालयमा निवेदन दिएर भाडामा लिनुपथ्र्यो। त्यतिबेला विकासका काम देशव्यापी हुन नसकेका कारण हेभी इक्विपमेन्टको प्रयोग खासै भएको थिएन। केही विकास निर्माणका काम भए पनि विदेशी कम्पनीले ठेक्का पाउँथे। विदेशबाटै आयात गरिएको उपकरणबाट काम हुने हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवर सुनाउँछन्।

सरकारले ०५१ सालमा हेभी इक्विपमेन्टलाई निर्माणजन्य उद्योगअन्तर्गत राखेर भन्सार दर ४ प्रतिशतमा सीमित गरेपछि यन्त्र उपकरणको आयात बढ्न थालेको हो। मूल्यमा आएको कमी र सहज उपलब्धताले हेभी इक्विपमेन्टमा लगानी बढेको अध्यक्ष कुँवर बताउँछन्। सुरुमा हेभी इक्विपमेन्ट जुन देशमा निर्माण भएको हो त्यही देशबाट आयात गर्नुपथ्र्यो। त्यो अवस्था २०६० सालबाट उल्टिएको कुँवर बताउँछन्। निर्माणको काम विस्तार भयो, निजी क्षेत्रले प्रशस्त हेभी इक्विपमेन्ट भिœयाए। उनका अनुसार नेपालमा हालसम्म २२ हजार हाराहारी हेभी इक्विपमेन्ट भित्रिइसकेका छन्।

कुनै बेला डोजरले माटो धकेल्दै बाटो बनाउने प्रचलन थियो। यसपछि एक्साभेटर भित्रियो। विकास निर्माणमा क्रमशः रोलर, क्रेनजस्ता उपकरण भित्रिए, जसको प्रयोगले निर्माण कार्यले फड्को मारेको छ। हेभी इक्विपमेन्टले हाम्रोजस्तो पहाड र हिमालले ढाकिएको अधिकांश स्थानमा मोटर पुग्न सम्भव बनाएको हो।

निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जयराम लामिछानेका अनुसार आर्थिक विकासका लागि पुँजी, प्रविधि, व्यवस्थापन र यन्त्र उपकरण जरुरी छ। जनशक्तिका लागि पुँजी आवश्यक छ। उनी भन्छन्, ‘प्रविधि संरचना व्यवस्थापन र यन्त्र उपकरण सहजताका लागि हो।’ सहजताका लागि प्रयोगमा आएको हेभी इक्विपमेन्ट जलविद्युत्, खानेपानी, सिँचाइलगायत आयोजना निर्माणमा प्रयोगमा आएको छ। स–साना विकासे काममा पनि यन्त्रको प्रयोग हुन थालेको छ।

नेपालमा अहिले जेसीबी, हुन्डाई, एसकर्टस, क्याट, कोमात्सू, टाटा, केस, कावासाकी, टेरेक्स, भोल्भो, हिटाची, कोभेल्को, रिटगनलगायत ब्रान्डका हेभी इक्विपमेन्ट भित्रिएका छन्। यसले बजार विस्तार मात्र नभएर बजार प्रतिस्पर्धीसमेत बनाएको छ।

सरकारले तोकेको भाडादर महँगो भएपछि व्यवसायीले २०६० सालपछि हेभी इक्विपमेन्टमा बुलडोजर भिœयाएका थिए। माटो काट्दै ठेलेर बाटो बनाउने बुलडोजरलाई पछिल्लो समय एक्साभेटरले विस्थापित गरिदियो। बहुउपयोगी एक्साभेटरका साथै नेपालमा अहिले भ्याकु लोडर, रोलर, ब्याकु लोडर, डोमालुसन, क्रेनलगायत हेभी इक्विपमेन्ट प्रयोगमा आइरहेका छन्। सडक निर्माणमा बाटो कटिङ गर्ने र पहाडको ढुंगा फुटाउने मेसिन रक ब्रेकरको प्रयोग पनि बढिरहेको छ। ब्याकहो लोडर बहुउपयोगी भएकाले लोकप्रिय छ। तैपनि पहाडी क्षेत्रमा बाटो खन्न सजिलो र बहुउपयोगी हुनाले एक्साभेटर सबैभन्दा बढी बिक्री भइरहेको व्यवसायी बताउँछन्।

अहिले नेपालमा जेसीबी, हुन्डाई, एसकर्टस, क्याट, कोमात्सू, टाटा, केस, कावासाकी, टेरेक्स, भोल्भो, हिटाची, कोभेल्को, रिटगनलगायत ब्रान्डका हेभी इक्विपमेन्ट भित्रिएका छन्। यसले बजार विस्तार मात्र नभएर बजार प्रतिस्पर्धीसमेत बनाएको छ। अहिले वार्षिक चार हजार हाराहारीमा हेभी इक्विपमेन्ट बिक्री हुने गरेको व्यवसायी बताउँछन्। सातदेखि ३५ टनसम्मका उपकरण भित्रिएको नेपालमा अहिले २५ लाखदेखि दुई करोड ५० लाखसम्मका हेभी इक्विपमेन्ट छन्।

भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसी सिटौला जनशक्तिको प्रयोगबाट हुने कामभन्दा हेभी इक्विपमेन्टबाट हुने काम स्तरीय हुने बताउँछन्। विकट पहाडी गाउँ पनि सडक सञ्जालमा जोड्ने अभियानलाई हेभी इक्विपमेन्टकै प्रयोगले सम्भव बनायो’, सिटौलाले भने। यसको प्रयोग सडक निर्माणमा मात्र सीमित नभएर जलविद्युत्, खानेपानी, सिँचाइलगायत आयोजनामा प्रयोग भइरहेको छ। स–साना निर्माणमा पनि यसैको प्रयोग हुन थालेको छ।

सहर र सहरोन्मुख ठाउँमा हेभी इक्विपमेन्टबाटै व्यापारिक कम्प्लेक्स, होटल, हाउजिङ आदि संरचना ठडिइरहेका छन्। हेभी इक्विपमेन्टको प्रयोग अधिक हुँदा श्रमिक बेरोजगार हुनुपर्ने अवस्था सिर्जना भइरहेको उनको भनाइ छ। ‘जनशक्ति र हेभी इक्विपमेन्टलाई सन्तुलनमा राखेर काम गर्नुपर्छ। अहिले व्यवस्थित तरिकाले हेभी इक्विपमेन्टको प्रयोग भइरहेको छ’, इन्जिनियर र डिजाइनबिनै स्थानीय स्तरमा बाटो निर्माण भइरहेका छन्।’ अहिले त्यो विकास देखिए पनि दीर्घकालीन रूपमा त्यसले विनाश निम्त्याउने उनले बताए।

नेपालमा हाल करिब ७५ हजार किलोमिटर सडक निर्माण भइसकेको छ। नेपालको पुँजीगत खर्चको करिब ९० प्रतिशत ठेक्कापट्टाबाटै हुने गरेको छ। यस्तो काममा अधिकांश आधुनिक साधन प्रयोग हुने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए। नेपाल पूर्वाधार निर्माणको चरणमा छ। राज्यले पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। २१ वटा आयोजना राष्ट्रिय गौरवका छन्। ती आयोजना अघि बढे हेभी इक्विपमेन्ट अपुग हुन्छ। हाल भित्रिएका हेभी इक्विपमेन्टका कारण सरकारको करोडौं राजस्व गुम्ने गरेको उनको दाबी छ।

विकास निर्माणमा प्रयोग हुने डोजर र एक्साभेटरले नाफा कमाएबापत सरकारलाई आयकर नतिर्ने भएकाले करोडौं राजस्व गुम्ने गरेको हो। विभिन्न भागका स्थानीय तह तथा अन्य विकास निर्माण क्षेत्रमा काम गरिरहेका डोजर र एक्साभेटरको संख्या ठूलो भए पनि यिनीहरूले काम काम गरेबापत आयकर वा राजस्व तिर्ने गरेका छैनन्। तर प्रत्येक वर्ष त्यस्ता व्यक्तिले हेभी इक्विपमेन्ट खरिद गरिरहेका छन्। ‘वार्षिक रूपमा राज्यलाई भ्याट तिरेको आधारमा हेभी इक्विपमेन्ट थप गर्न दिनुपर्छ’, उनले भने, ‘भ्याट छल्ने संघसंस्था तथा व्यक्तिलाई स्वतन्त्र छाड्नु हुँदैन।’ कारोबार रकमको १३ प्रतिशत राज्यलाई भ्याट तिर्नुपर्ने व्यवस्था छ।

एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगड तीव्र गतिमा विकास निर्माणका कार्य सम्पन्न गर्न हेभी इक्विपमेन्ट सहयोगी हुने बताउँछन्। ‘मानिसको प्रयोगले मात्र विकास सम्भव छैन। प्रविधिको प्रयोग गरेर क्षणभरमा काम गर्न सकिन्छ’, दुगडले भने, ‘देशले लिएको विकासको लक्ष्य भेटाउन उपकरणको सहयोग लिनुपर्छ।’ मुलुकलाई द्रुत गतिमा विकास चाहिएको छ। नेपालले त्यसअनुसार विकास गर्न प्रविधिको प्रयोग गर्न चुक्नु हुँदैन। प्रविधिको प्रयोगबाट निर्माणसम्बन्धी कार्य राम्रो र छिटो हुन्छ। हामीले पनि प्रविधिलाई आत्मसात गर्दै अघि बढे त्यसको विकास सम्भव छ। पुरानो प्रविधिका कारण काम सुस्त भइरहेको उनको भनाइ छ।

हाल मुलुक संघीय संरचनामा छ। स्थानीय स्तरबाटै विकास निर्माणसम्बन्धी कार्य हुन थालेका छन्। स्थानीय सरकारले पनि विकासलाई नै आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। विकास निर्माणका काम गर्न स्थानीय सरकारसँग आवश्यक उपकरण अभाव छ। त्यस्तो अभाव पूर्ति गर्न उनीहरूले हेभी इक्विपमेन्ट खरिद गरिरहेका छन्।

दक्ष जनशक्तिको अभाव

हेभी इक्विपमेन्ट सञ्चालनका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको अक्ष्यक्ष कुँवर बताउँछन्। २२ हजार हेभी इक्विपमेन्ट प्रयोगमा भए पनि तीन हजार मात्र लाइसेन्स प्राप्त चालक रहेको उनको दाबी छ। राज्यले दुई वर्षअघि हेभी इक्विपमेन्ट चालक अनुमति पत्र लिन ठूला गाडी चलाएको अनुभव आवश्यक नपर्ने नीति लिएको छ। उक्त व्यवस्थाले चालकलाई लाइसेन्स लिन सहज हुने अपेक्षा गरिएको थियो। तर लाइसेन्स लिन सरकारी निकायबाट सीटीईभीटीको मान्यता पाएको ड्राइभिङ स्कुलको प्रमाणपत्र लिनुपर्ने व्यवस्थाले चालक मारमा परेका छन्। ‘सहचालक बसेर गाडी सिक्ने हाम्रो परिपाटी छ।

गाडी राम्रोसँग चलाउन सक्ने व्यक्तिले लाइसेन्सका लागि प्रमाणपत्र लिन बाध्य छन्’, उनले भने, ‘ड्राइभिङ स्कुलले मोटो रकम दिएर प्रमाणपत्र वितरण गर्छन्।’ सहचालकको रूपमा काम गरेका व्यक्ति त्यही पैसा तिर्न नसकेर लाइसेन्स प्रक्रियामै सहभागी हुन नसकेको उनको भनाइ छ। प्रविधिको विकाससँगै अत्याधुनिक हेभी इक्विपमेन्ट भित्रिरहेका छन्। ‘त्यस्ता उपकरण चलाउन सक्ने जनशक्ति उत्पादन हुन सकेको छैन। कम्पनीहरूले हेभी इक्विपमेन्ट बेच्ने काम मात्र गरिरहेका छन्’, उनले भने, ‘उपकरणमा खराबी आए मर्मत गर्ने जनशक्ति पनि छैन। हेभी इक्विपमेन्ट वृद्धिदर थेग्ने जनशक्ति आवश्यक छ।’


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.