भद्रपुर अब खुल्ला दिसामुक्त नगर
भद्रपुर : झापाको भद्रपुर नगरपालिका खुल्ला दिसामुक्त नगर घोषणा भएको छ ।
स्थानीय संघसंस्था र नियमित रुपमा नगरपालिकाको अनुगमनले गर्दा सोचेभन्दा छिटो खुल्ला दिसामुक्त नगर सम्भव भएको घोषणा गर्दै प्रदेशसभा सदस्य बसन्त बानियाले बताए ।
१५ हजार २ सय ७० घरधुरी रहेको भद्रपुर नगरपालिकाको जनसंख्या ६५ हजार ५ सय ३३ छ । नगरपालिकाले आर्थिक वर्ष २०७२÷७३ को वार्षिक नीति तथा कार्यक्रम मार्फत नगरलाई खुल्ला दिसामुक्त नगर बनाउने अभियानमा जोड दिँदै आएको थियो ।
अभियान सुरु गर्नुअघि भद्रपुर नगरपालिकाभित्र १२ हजार ६४ घरधुरीमा सुरक्षित शौचालय थिए । ३२ सय ६ वटा घरधुरीमा अभियान सुरु भएपछि नसक्नेलाई केही अनुदान र सक्नेलाई सम्झाइ बुझाइ र दबाबमुलक तबरबाट भए पनि शौचालय बनाउन लगाइएको नगरप्रमुख जिवनकुमार श्रेष्ठले बताए ।
नगरपालिकाले आफ्नो नगरको कारणले जिल्ला नै खुल्ला दिसामुक्त हुनबाट रोकिने अवस्था नआओस् भन्नका लागि विगत एक वर्षयता दिउसो २ बजेपछि नगरप्रमुख सहितको टोलीले शौचालय बनाउनेलाई कसरी प्रयोगमा ल्याउने र नबनाउनेलाई कसरी बनाउने वातावरण बनाउने भन्ने अभियान र अनुगमनमा निरन्तर लागेको थियो ।
झापामा अब २ वटा स्थानीय तह मेचिनगर नगरपालिका र हल्दिबारी गाउँपालिका खुल्ला दिसामुक्त हुन बाँकी छन् ।