युवामा बढ्दो डिप्रेसन

युवामा बढ्दो डिप्रेसन

डिप्रेसन मानसिक समस्या हो। संसारभर डिप्रेसनको समस्या बढिरहेको र पुरुषको तुलनामा महिलालाई बढी हुने गरेको त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक डा.सुमन पन्त बताउँछन्। ‘महिलालाई डिप्रेसन बढी हुन्छ तर युवा अवस्थाका पुरुषहरूमा पनि यो रोगले सताएको छ। विशेषगरी १५ देखि ४५, ५० वर्षसम्मका मानिसलाई डिप्रेसन बढी हुने गरेको छ।’

युवामा डिप्रेसन बढ्नुको कारण

युवामा विभिन्न कारणले डिप्रेसन बढेको पाइन्छ। कुनै एक कारणले नभई अनेक कारणले युवामा डिप्रेसन बढेको बताउँछन् डा. पन्त। ‘युवाहरूमा विशेषगरी बदलिँदो जीवनशैली, वंशाणुगत गुण, तनाव, पारिवारिक संरचनामा आएको परिवर्तन प्रमुख कारण बनेको छ।’

‘हाम्रो व्यस्त जीवनशैलीले गर्दा सम्पूर्ण परिवार एकै ठाउँमा बस्दैनौं। रोजगार तथा अन्य कुराको सिलसिलामा मानिसहरू अलगअलग ठाउँमा बस्न बाध्य छन्।’ उनी भन्छन्, ‘बालकदेखि नै परिवारबाट अलग्गिनुपर्ने अवस्थाले पारिवारिक दूरी कायम हुन्छ। उनीहरू आफ्ना अभिभावकसँग रमाउन पाउँदैनन्। यसले समस्याहरू कसैसँग साट्ने अवस्था नै सिर्जना हुँदैन। र विस्तारै यसले मानसिक तनाव भएर डिप्रेसनको सिकार हुन्छन्।’

युवा अवस्थामा बदलिँदो शारीरिक र मानसिक परिवर्तनले गर्दा उनीहरूलाई अभिभावकको साथ चाहिने र यस्तो समयमा पारिवारिक साथबाट वञ्चित हुनु डिप्रेसनको कारण भएको उनले बताए। २०/२५ वर्षपछि जिम्मेवारीहरूले थिच्दै लान्छ। आफू जिम्मेवारीहरूमा कति सफल भइयो भन्ने कुराको आकलन गर्न नजानेर पनि डिप्रेसन बढ्ने बताए।

परिणाम

डिप्रेसन मस्तिष्क रोग भए पनि यसले शरीरमा पनि विभिन्न रोग निम्त्याउने बताउँछन् डा. पन्त। ‘डिप्रेसनले गर्दा सुरुमा युवाहरू एकान्त मन पराउँछन्। विस्तारै उनीहरूको दैनिक क्रियाकलापमा परिवर्तन आउँछ। निर्णय लिने क्षमतामा पनि ह्रास आउँछ।’ उनले भने, ‘समयमा नै उपचार नगराए पढाइमा ह्रास आउने, नकारात्मक सोच पलाउने, निद्रा अत्यधिक लाग्ने वा फिटिक्कै नलाग्ने, अन्त्यमा आत्महत्या गर्ने सोच आउन सक्छ। रोग प्रतिरोधात्मक क्षमतामा समेत कमी आउँछ।’

पहिचानको उपाय

पन्तका अनुसार डिप्रेसन दैनिकीमा आएको परिवर्तनबाट पत्ता लगाउन सकिन्छ। यसको सुरुआती लक्षण निराशा हो। अन्य मानिससँग घुलमिल नहुनु, डराउनु आदि यसका प्रमुख लक्षण हो। यसबाट भविष्यप्रति नकारात्मक सोच पलाउने र विस्तारै जीवन बेकामको लाग्ने हुन्छ।

निराकरण

युवाहरूमा आएको डिप्रेसनलाई कम गर्न सबैभन्दा पहिला जनचेतना फैलाउन पर्छ। उपचार गरे निको हुन्छ भन्ने सबैलाई थाहा भए उपचारको लागि आउने बताउँछन् मनोरोग विशेषज्ञ पन्त। ‘डिप्रेसन भएको थाहा भएपछि उनीहरूलाई परामर्श तथा उपचारको लागि मनोविशेषज्ञकहाँ वा पु¥याई हाल्नुपर्छ।’, उनले भने, ‘युवामा बढ्दो आत्महत्याको प्रमुख कारण डिप्रेसन भएकोले जनचेतना जगाउनु र उपचार गराउनु यसको निराकरणको प्रमुख उपाय हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.