भारतलाई प्रधानमन्त्री बालेनको जवाफ- हामीसँग लिपुलेक-कालापानीको प्रमाण छ, तपाईंसँग छ भने ल्याउनुस्
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक र कालापानीको प्रमाण आफूहरूसँग भएको बताएका छन्। उनले उक्त विषयमा छिमेकी भारतले आपत्ति जनाए पनि नेपालसँग त्यसको प्रमाण रहेको बताए।
चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सीमासम्बन्धी विषय उठाउँदा विभिन्न देशले आपत्ति जनाउने गरेको उल्लेख गर्दै नेपालसँग आफ्नो दाबी पुष्टि गर्ने आधार र प्रमाण रहेको बताए।
'सीमाको विषयमा बोल्दा जुनसुकै देशले आपत्ति जनाउँछन्। उहाँहरूले पनि आपत्ति जनाउनुभयो। मलाई अचम्म लाग्यो,' उनले भने, 'यदि तपाईंहरूसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग प्रमाण छ। हामीसँग कालापानी र लिपुलेक नेपालको भएको प्रमाण छ।'
प्रधानमन्त्री शाहले आवश्यक परे ऐतिहासिक दस्तावेज र प्रमाण तत्कालीन ब्रिटिसबाट समेत ल्याउन सकिने बताए। तर, त्यसको अर्थ ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन नखोजिएको स्पष्ट पारे।
'त्यो प्रमाण पहिले ब्रिटिस शासनकालसँग सम्बन्धित भएकाले आवश्यक परे त्यहाँबाट ल्याउन सक्छौं भनेका हौं,' उनले भने, 'हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका छैनौं। हाम्रो छिमेकीसँग हामी आफैं कुरा गरेर समाधान खोज्छौं।'
उनले आफ्नो राष्ट्रवादी अडानबारे कुनै शंका नगर्न आग्रह गरे। 'मेरो राष्ट्रियतामाथि कुनै आशंका गर्न पर्दैन,' प्रधानमन्त्री शाहले भने।
प्रतिक्रिया दिनुहोस !