दिउँसै बत्ती बालेर पढाइ
बनेपा : काभ्रेको पनौती नगरपालिका–७ स्थित आधारभूत विद्यालय (पाठशाला)मा दिउँसै बत्ती बालेर पठनपाठन हुने गरेको छ। विद्यार्थी संख्या धेरै भए पनि भौतिक पूर्वाधार अभावमा दिउँसै बत्ती बालेर पढाउनुपरेको प्रधानाध्यापक लक्ष्मीप्रसाद ताम्राकारले बताए। राणाकालीन विद्यालय भवनका कोठा अँध्यारो र साँघुरो भएकाले वर्षाैंदेखि टुकी, बिजुली र सोलारको उज्यालोमा पढाइ हुँदै आएको उनले जानकारी दिए।
‘आर्थिक समस्याले समयमै विद्युत् महसुल बुझाउन नसक्दा विद्युत् प्राधिकरणले लाइन काटेपछि विद्यार्थी झन् मारमा परेका छन्, विदेशी दातालाई हारगुहार गरेर सोलार हाल्न लगायौं, अहिले त्यसैले काम चलाउँदै आएका छौं’, ताम्राकारले भने सोलार बिग्रिएका बेला अँध्यारोमै पठनपाठन हुने गर्छ। उक्त विद्यालयमा शिशु देखि कक्षा ८ सम्म २ सय ४५ जना विद्यार्थी छन्।
विद्यालयको भौतिक पूर्वाधारकै कारण निकै समस्या झेल्नुपरेको शिक्षक राजन कर्मचार्यले बताए। उनले भने, ‘कक्षाकोठा र ट्वाइलेट सँगै भएकाले दुर्गन्धका कारण दैनिक पठनपाठन गर्न र खानेपानी समस्या छ।’ १९७२ सालमा स्थापित विद्यालयमा सम्बन्धित निकायले चासो नदिएकै कारण समस्या पर्दै आएको स्थानीयको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !