‘बुङ्वाखा’ अनुभव
किरात राई भाषाहरूमात्रै २५ वटा छन्। तीमध्ये सबैभन्दा बढी सङ्ख्यामा बोलिने बान्तावा लेखनपद्दति र साहित्यमा बामे सर्दैछ, त्यो पनि ‘बुङ्वाखा’ मासिकका कारण।
मिडियामा ठूला लगानीको पत्रकारिताबाहेक अन्य पत्रकारिताको अवस्था नाजुक छ। त्यसमाथि मातृभाषाको पत्रकारिताको के बयान गर्नु। बान्तवा राई भाषाको ‘बुङ्वाखा’ प्रकाशनको डेढ दशक सम्पादक भएर बिताएपछि यसबारे प्रा.डा. नोबलकिशोर राई पटकपटक मलाई प्रश्न गर्नुहुन्छ, ‘अहिले त ‘बुङ्वाखा’ तिमीले जसोतसो प्रकाशन गरिरहेका छौं। तर तिमीले ‘बुङ्वाखा’ छोड्दा यस्तो मातृभाषाको कठिन काम कसले गर्छ ? तिम्रो उत्तराधिकारी कसलाई सोचिरहेका छौं ? ’
यसको जवाफ मैले प्रोफेसर राईलाई तत्कालै दिन सकिरहेको छैन। कारण मैले गर्ने मातृभाषाको पत्रकारिता मपछि कसले गर्ने भन्ने प्रश्न सेवा र सुविधाको अभावमा प्रश्नचिह्न खडा छ। सेवा, सुविधाको अभाव र पाठकहरूमा वितृष्णाको कारण मातृभाषा पत्रकारिताप्रति युवाहरूको चासो कम छ, जसले गर्दा पुस्ता हस्तान्तरणमा पनि समस्या र अन्योल देखिन्छ।
०००
‘बुङ्वाखा’ अर्थात् फूलबारी। यो बान्तावा राई भाषाको एक मासिक पत्रिकाको नाम हो। यो पत्रिकाको स्थापनाकालदेखि मैले सम्पादन र व्यवस्थापन गर्दै आएको छु। यो पत्रिकाको प्रकाशनले बान्तावा भाषाको लगभग शून्यबाट लेख्य परम्पराको सुरुआत गर्दै साहित्य लेखनको प्रारम्भ भएको छ। पत्रिका प्रकाशनले यो भाषाको मानकलेखन र साहित्यमा पाइला सार्ने कोसिस गर्दैछ।
२०६१ साल मंसिर २४ गते दर्ताप्राप्त यो पत्रिकाको पहिलो अंक पुस १ गते प्रकाशन भएको थियो। साउन २०७५ सम्म यो १६१ पूर्णांक प्रकाशन भइसकेको छ। यो आफैंमा एउटा इतिहास हो। किनकि, किराती राई मातृभाषाहरूमा यत्ति धेरै अंक प्रकाशित भएको कुनै मासिक पत्रिका नै छैन। पाक्षिक, साप्ताहिक र दैनिक पत्रिकाहरूको प्रकाशन त धेरै परको कुरा हो।
२०६८ सालको जनगणनाले नेपालमा एक सय २३ भाषा बोलिन्छन्। तीमध्ये किरात राई भाषाहरूमात्रै २५ वटा छन्। ती २५ भाषामध्ये सबैभन्दा बढी संख्याले बोलिने भाषा बान्तावा हो। वक्ताको हिसाबले सबैभन्दा जेठो भाषाले भर्खरैमात्रै लेखनपद्दति र साहित्यमा बामे सर्दैछ भने अन्य किरात राई भाषाहरूको स्थिति के होला ? हामी सहजै अनुमान गर्न सक्छौं।
‘बुङ्वाखा’को प्रकाशन सुरु भएपछि बान्तावा भाषाका एक दर्जनजत्ति बान्तावा कवितासंग्रह प्रकाशनमा आएका छन्। त्यस्तै बान्तावा निबन्धसंग्रह, कथासंग्रह, गजलसंग्रह, उपन्यास आदि अन्य विधागत प्रकाशन पनि थपिएका छन्। ‘बुङ्वाखा’सँगै किन यी बान्तावा साहित्य प्रकाशनको कुरा उल्लेख गर्नु परिरहेको छ भने माथिका कृति प्रकाशनका कृतिकारहरू प्रायः ‘बुङ्वाखा’बाटै बान्तावा लेखनको थालनी गरेर बान्तावा साहित्यकारको रूपमा स्थापित हुँदैछन्। यस अर्थमा ‘बुङ्वाखा’ प्रकाशनले खास महत्व बोकेको छ। नीराजन बतास, असीम बान्तावा, जीडी राई, मनोज साङ्सोन (संगीत), दीपक बान्तावा, उत्तम स्माइल, विजय ग्वाले, लक्ष्मी राई, रवीन्द्र दिखुक्पा, कृष्ण बान्तावा, आशा साप्लाटेन, रामकुमार राई र आन्को राईजस्ता वर्तमान बान्तावा साहित्यका नामहरू ‘बुङ्वाखा’कै उत्पादनहरू हुन् भन्दा फरक पर्दैन। त्यस्तै डिक बान्तावा, जय सिवाहाङ, चन्द्रकुमार हतुवाली, मानबहादुर खाम्लुङ लगायतका अग्रज लेखकहरूमा पनि ‘बुङ्वाखा’को प्रत्यक्ष–परोक्ष प्रभाव परेकै छ।
त्यसैले मातृभाषाको पत्रकारिता गर्नु भनेको पाठकले मातृभाषामा सूचना, समाचारमात्रै पढ्न पाउने हैनन् कि यसले त्यो भाषाको भाषा, संस्कार–संस्कृतिको संरक्षण र विकास अनि त्यो मातृभाषामा साहित्यको सिर्जना पनि रहेछ भन्ने कुरा ‘बुङ्वाखा’को प्रकाशनले प्रमाणित गरिरहेको छ।
बान्तावा भाषाको विकासका लागि ‘बुङ्वाखा’को भूमिका यत्तिमै सीमित छैन। यो पत्रिकाको पहिलो स्थापना दिवससँगै बर्सेनि बान्तावा भाषाको राष्ट्रिय कविता प्रतियोगिताको आयोजनाले पनि बान्तावा साहित्यको बढावामा साथ मिलेको छ। सधैझैं ‘बुङ्वाखा’ले मोरङको उर्लाबारीमा ‘तेह्रौं वार्षिकोत्सव तथा तेह्रौं बान्तावा राष्ट्रिय कविता प्रतियोगिता’ गत २०७४ पुस ८ गते सम्पन्न गरिसकेको छ। चौधौं वार्षिकोत्सव आगामी मंसिर २४ गते इलाममा हुँदैछ।
‘बुङ्वाखा’लाई निरन्तर चलायमान गर्न समुदायको प्रत्यक्ष सहभागितामा विभिन्न पुरस्कार, अक्षयकोष स्थापना गरिएका छन्। त्यसले वार्षिक बान्तावा साहित्य कार्यक्रमका लागि जीवित कोष र तन्तुले झैं काम गरेका छन्। बर्सेनि लेखक, साहित्यकारहरूको सम्मानका लागि ३५ हजार रुपैयाँ राशि सहितको ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार’को स्थापना भएको छ। बान्तावा संगीतलाई बढावा दिन ‘बुङ्वाखा’मा छुट्टै २० हजार रुपैयाँको ‘बुङ्वाखा–पञ्च कुमारी संगीत पुरस्कार’ स्थापना गरिएको छ। ‘बुङ्वाखा’मा कार्यरत संवादाताहरूलाई ६ हजार रुपैयाँ राशिको ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार’ स्थापना गरिएको छ। त्यस्तै, बुङ्वाखामा नियमित लेखिरहने लेखकहरूलाई हौसलाका लागि पाँच हजार राशिको ‘बुङ्वाखा–धनेन्द्र बादिहाङ स्मृति पुरस्कार’ प्रदान गरिँदै आएको छ।
कविता प्रतियोगितामा विजेता कविहरूलाई पुरस्कार प्रदान गर्न बान्तावाकर्मी स्व. श्यामराज दुब्देङहाङको स्मृतिमा ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ पुरस्कार’ स्थापना गरिएको छ। प्रथम, दोस्रो र तेस्रो हुने कविहरूले सो पुरस्कार कोषबाट क्रमशः १० हजार, ६ हजार र चार हजार रुपैयाँको पुरस्कार पाउँदै आएका छन्। यी पुरस्कारमा राज्य र कुनै गैरसरकारी संस्थाहको सहभागिता छैन।
०००
पत्रिका प्रकाशनका लागि ‘बुङ्वाखा’को कुनै कार्यालय छैन। म आफू सम्पादकले नै लगनखेल, ललितपुरको डेरामा रहेर यो पत्रिकाको सुरुदेखि आजपर्यन्त निरन्तर स्वयंसेवी काम गरिरहेको छु। पहिलो अंकको प्रकाशनदेखि हालसम्म मैले समाचार, लेख, विज्ञापन संकलन, कम्प्युटर टाइप, डिजाइन, प्रेसदेखि कार्यालयसम्म पत्रिकाको ढुवानीदेखि ग्राहकको घरघरमा पुर्याउने काम गर्दै आएको छु। समग्रमा सम्पादकदेखि वितरक सम्मको काम मैले गरिरहनु पर्दा ममा कति पनि आत्मग्लानि छैन। यो मेरो मातृभाषाको लागि गरेको सेवा भन्ठानेको छु। आमाको दूधको भाडा तिरेको महसुस गरेको छु। आफ्नो भाषाको काममा ममा हाकिमी शैली कदापि महसुस हुन्न। र, यसैमा मलाई सन्तुष्टि र आनन्द पनि मिलिरहेको छ। आफूले नगरे कसले गरिदिन्छ ? अर्काको मुख ताकेर बस्नुभन्दा मैले सकेको गर्ने हो भनेर मातृभाषा संरक्षण र विकासका लागि आफ्नो सम्पूर्ण समय यसमा लगानी गरिरहेको छु। यसले बान्तावाभाषीले मातृभाषामार्फत सूचनाको हक पाएका छन्। मेरो काममा जिल्ला–जिल्लामा स्वयंसेवी साथीहरूले निरन्तर सहयोग गरिरहेका छन्।
आर्थिक अभावले पत्रिकाको कर्मचारी राख्न सकिएको छैन। ‘बुङ्वाखा’ प्रकाशनका लागि भनेर सुरुदेखि नै कुनै यसको निश्चित आयस्रोत छैन। यो पत्रिका त मैले र चन्द्रकुमार हतुवालीले काठमाडौं बसाइको दु:खजिलो अवस्थामा हाम्रो खाजा खर्च बचाएर सुरु गरेका हौं। तिलक वालाहाङले केही समय पत्रिका प्रकाशनका लागि भरथेग गरे। पछिल्लो समय समाजसेवी राजेन्द्र बान्तावा लगायतका अग्रज यो पत्रिकाको स्थायित्वका लागि गम्भीर भएका छन्। समुदायको साथ, सहयोग र राज्यको आँखा पुगे भविष्यमा ‘म बुङ्वाखामा काम गर्छु’ भन्ने गर्विला अनुहारहरू सबैको सामु उभ्याउने हाम्रा सपना र योजना छन्।
कुनै पनि पत्रिकाको आयस्रोत भनेको व्यावसायिक विज्ञापन हो। तर, यो मातृभाषा पत्रिका भएकाले यसका पाठकहरू लक्षित समूहमात्र हुन्छन्। ‘बुङ्वाखा’मा व्यावसायिक विज्ञापन शून्य छ। समुदायका आफ्नै शुभकामना, सूचनामूलक विज्ञापन, ग्राहकबाट उठेको रकम र लोककल्याणकारी विज्ञापनमार्फत सूचना विभागले दिने रकमले एक हजार दुई सय प्रति पत्रिका छाप्नलाई जेनतेन पुगिरहेको छ। रकम नपुग्दा आफ्नै गोजीको पैसा खर्चनु परेको छ। सूचना विभागबाट लोककल्याणकारी विज्ञापन प्राप्त गर्न पनि बुङ्वाखाजस्तो मातृभाषाको पत्रिकाले कम्ती पापड पेल्नु परिरहेको छैन। प्रेस काउन्सिल नेपालले पत्रिकाहरूको वर्गीकरण गर्न बनाएको मापदण्ड एकाध मूलधारे पत्रिकाहरूबाहेक कुनै पनि पत्रपत्रिकाले पूरा गर्न सक्दैनन्। मातृभाषामा प्रकाशित हुने पत्रिकाहरूको त कुरै नगरौं। सम्बन्धित निकायले यसमा गम्भीर भई मातृभाषाका पत्रिकालाई छुट्टै मापदण्ड बनाएर मूल्यांकन गर्नु जरुरी छ।
मातृभाषा पत्रकारिता एक हिसाबले निल्नु न ओकल्नुजस्तै छ। कठिन र आम्दानीविहीन भयो भन्दैमा यत्तिकै काम नगरे वा बीचमै छोडिदिए भाषा विकास फेरि शून्यतर्फ जानेछ। त्यसैले यो एउटा सामाजिक अभियानमा जुट्नुको विकल्प छैन। र, मातृभाषा पत्रकारितालाई स्थापित गरेर यसलाई सेवामात्र नभएर ‘करिअर’ र आम्दानीको रूपमा विकास गर्न पनि ‘बुङ्वाखा’को अभियान निरन्तर जारी छ। यसका लागि मेरो व्यक्तिगत ‘करिअर’लाई थाती राख्दै जबरजस्त काम गरिरहेको छु।
आधुनिक समाजका केही बुज्रुकहरू भन्छन्, ‘एक्काइसौं शताब्दीको अंग्रेजी जमानामा पनि केको मातृभाषाको कुरा गरेको होला ? ’ कुरो सही हो जस्तो पनि लाग्छ। तर मातृभाषाको प्रयोग यति शक्तिशाली हुन्छ कि यसभित्र ज्ञान र सीप हुन्छ; जो कहिल्यै मेटिँदैन। मातृभाषामा अपनत्व हुन्छ। शिक्षाशास्त्रीहरूको भनाइमा त झन् मातृभाषामा शिक्षा आजको आवश्यकता हो। भाषाशास्त्रीद्वय डेनियल नेटल र सुजेन रोमेन भन्छन्, ‘भाषा र संस्कृति मर्न दिनु भनेको संसारका बारेमा भएका हाम्रा कुल ज्ञान घटाउनु हो।’
हाम्रोजस्तो बहुभाषिक मुलुकमा भाषाहरूका लागि राज्यले जे गर्नुपर्ने हो, त्यो गरिरहेको छैन। गरे पनि कनिका छरेजस्तो मात्रै छ। नतिजामूलक र दीर्घकालीन काम भएको छैन। उता आफ्नै मातृभाषी समुदाय पनि यसमा गम्भीर छैनन्। अरूलाई किन दोष दिनु ? यसलाई माया गर्ने नगर्ने समुदायको चेतनाको स्तरमा पनि भर पर्छ। र, मातृभाषालाई जबसम्म शिक्षा र रोजगारसँग जोडिन्न, तबसम्म मातृभाषाको घिट्घिटो यसरी नै निरन्तर भइरहन्छ।
अहिले पहिचानको मुद्दा उठेका छन्। यसमा आदिवासी जनजाति र पिछडिएका वर्गका मागहरूमा मातृभाषाको प्रयोग र विकासबारे पनि छ। यस्तो अवस्थामा राज्यले भाषाहरूको संरक्षण र विकासका लागि कदम चाल्नुपर्ने हो तर उल्टै असहयोग गरिरहेको छ। संघीय र प्रदेश सरकारको यसमा अझै ध्यान पुग्न सकेको छैन। भाषावैज्ञानिक तथा अभियन्ता टोवे एस. कंगासले आफ्नो पुस्तक ‘लिंगुइस्टिक जेनोसाइट इन एजुकेसन’मा भनेका छन्, ‘भाषाहरू आफैं मर्दैनन्, मारिने काम गरिन्छ।’ यस्तो मर्न र मार्न प्रेरित अवस्थामा राज्यले गर्नुपर्ने काम ‘बुङ्वाखा’ प्रकाशनमार्फत समुदायले गरिरहेका छन्। यसमा समुदाय चनाखो हुन जरुरी छ।
‘बुङ्वाखा’को प्रकाशनले वर्तमान मातृभाषा पत्रकारिताको अवस्थाबारे ऐनाको काम गर्छ। ‘बुङ्वाखा’ लगायतका मातृभाषा पत्रकारिताले कैयौं अप्ठ्यारा बाटाहरू पार गरेका छन्। भविष्यमा पनि त्यस्ता अप्ठ्यारा बाटाहरू छन् भन्ने निश्चित थाहा छ, तर यात्रा निरन्तर छ।