नेपाल चियाउने प्रयास
कोवानले नेपालबारे जाने–बुझेका र देखे–भोगेका अरू थुप्रै कुराहरू होलान्। ती पनि क्रमशः पुस्तकाकारमा आइदिए नेपाल–अध्ययनमा सघाउ पुग्ने थियो।
बेलायतका सेवानिवृत्त जनरल साम कोवानको नेपालसम्बन्धी रुचि, जाँगर र अभिलेखन मलाई अनौठो लाग्छ। सन् १९६६ मा पहिलोपटक नेपाल आएर दुई महिना लामो पदयात्रा गरेयता यो मुलुकप्रति उनको आकर्षण कहिल्यै हराएन। उनलाई नेपालको विगतमा रुचि छ, वर्तमानमा पनि उत्तिकै। इतिहासदेखि पुस्तक, पत्रिका र फेसबुकका पानासम्ममा उनले नेपाल खोजिरहेका हुन्छन्। त्यसैको परिणाम हो उनको पुस्तक, ‘एसेज् अन नेपाल : पास्ट एन्ड प्रिजेन्ट’।
कोवानको नेपाल–अध्ययनमा जुन विविधता छ, त्यो पुस्तकमा पनि झल्कन्छ। यसभित्र इतिहास, राजनीति, भूराजनीति, माओवादी विद्रोह, नेपाली सेना, भ्रमण, भूकम्प, भ्रष्टाचारलगायत विविध विषयका १९ अध्याय छन्। यसलाई छुट्टाछुट्टै पढ्दा पनि हुन्छ, एउटै शृंखलामा बुनेर बुझ्दा अझ विस्तारित परिदृश्य सामुन्ने आउँछ।
कोवानलाई व्यावसायिक कर्मले पनि नेपालसँग जोडेको हो। सन् २००२ मा चारतारे जर्नेलबाट अवकाश पाएका उनको सैन्य जीवन गोर्खाली सैन्य वरिपरि घुम्यो। उनी सन् १९९४ मा ‘ब्रिगेड अफ गुर्खाज’को कर्णेल कमान्डेट भए। गोर्खा वेलफेयर ट्रस्टको अध्यक्ष पनि रहे। त्यही हैसियतमा बर्सेनि नेपाल आइरहे। नेपाली समाज र राजनीतिप्रति उनको अभिरुचि कहिल्यै घटेन। दर्जनौं पदयात्राले नेपाली गाउँठाउँको गहिरो अनुभूति गरायो।
पुस्तकमा माओवादी युद्ध बेलाका ६ वटा विश्लेषण छ। आफैं जर्नेल भएकाले हुन सक्छ, उनले त्यो युद्धको सैन्य पाटोबाट चिरफार गरेका छन्। खासगरी नेपाली सेना र माओवादी सेनाले फरकफरक रणनीति मातहत युद्ध लडेको र दुवैले एकअर्कालाई हराउन नसकेको विषयलाई उनले सैन्य विज्ञानको पृष्ठभूमि तानेर विश्लेषण गरेका छन्। कुनै पनि युद्ध जित्न आमजनताको जुन समर्थन चाहिन्छ, नेपाली सेनाले त्यो हासिल गर्न नसक्नु सबैभन्दा कमजोरी भएको उनको ठहर छ। नागरिकको मन–मस्तिष्क जित्ने मामिलामा माओवादी पनि सफल भएका होइनन्, तर उनीहरूको सफलता जनतालाई राज्यको पक्षमा जान नदिने मामिलामा रह्यो भन्ने कोणबाट कोवानले विश्लेषण गरेका छन्।
सेनाले माओवादीलाई सैन्य उपायबाट मात्र नियन्त्रण गर्न खोज्यो, धेरै छापामारलाई ढाल्यो पनि। तर, माओवादीको मनोबल तोड्न सकेन, त्यही भएर करिब चार–पाँच हजार हातहतियार र गुरिल्ला समूहकै भरमा माओवादीले सुरक्षा फौजलाई दबाबमा राखिरहन सकेको उनको ठहर छ। कोवानले एउटा अध्यायमा राजनीतिक रूपले अर्थपूर्ण मानिने बर्दियाको गणेशपुर, रुकुमको खारा र कालीकोटको पिलीमा भएका तीनवटा प्रतिनिधिमूलक लडाइँको विस्तृत विश्लेषण पनि गरेका छन्। तीमध्ये गणेशपुर र खारामा भएको हारले माओवादीमा पहिले आन्तरिक किचलो बढायो भने पछि वार्तामा आउन प्रेरित गर्यो। यता पिलीको पराजयले शाही शासनको मनोबल भत्कायो।
नेपाली सेना र माओवादी जुन फरकफरक युद्ध लड्दैछन्, त्यसको सैन्य समाधान नरहेको, राजनीतिक वार्ताबाट मात्र यसको हल हुन सक्छ भन्ने कुरा कोवानले सन् २००२ देखि नै लेख्दै आएका थिए। राजा ज्ञानेन्द्रसँग त्यसै वर्ष एक घण्टा वार्तालाप हुँदा पनि उनले यो कुरा भनेका रहेछन्। राजाले माओवादी र राजनीतिक दलहरूमध्ये कुनै एउटासँग गठबन्धन नबनाउने हो भने अन्ततः उनीहरू दुई पक्ष मिल्ने र त्यो राजतन्त्रका निम्ति घातक हुने आफ्नो सुझाव उसबेला राजाले नसुनेको कोवानको भनाइ छ।
माओवादीलाई सैन्य बाटोबाटै सखाप पार्न सकिन्छ भन्ने सेना र निकट सल्लाहकारहरूको सुझावमा भर पर्नु राजाको भूल रहेको उनको विश्लेषण छ। ब्रिगेड अफ गुर्खाजको कर्णेल कमान्डेटका हैसियतमा वार्षिक ब्रिफिङ दिनुपर्ने प्रचलनअनुरूप कोवानले १९९४ यता तत्कालीन राजा वीरेन्द्रलाई ६ पटक र ज्ञानेन्द्रलाई दुई पटक भेटेका थिए। नेपाली सेनामा पनि उनको गहिरो सम्पर्क देखिन्छ। तापनि उनलाई माओवादीप्रति सद्भाव राख्ने विदेशी जर्नेल ठान्ने जमात सेनामा ठूलै थियो। उनको बुझाइचाहिँ माओवादी विद्रोह नेपाली सामाजिक विरोधाभासको उत्पादन हो भन्ने थियो। सन् २००२ मा बेलायती सेनाबाट अवकाश पाएको केहीपछि कुराकानी हुँदा मैले उनको हेराइ यसैगरी बुझेको थिएँ।
कोवानले इतिहासका केही झलक पनि समेटेका छन्। ‘अक्टरलोनिज मेन’ शीर्षकको लेखमा गोर्खाली साम्राज्य र नेपाली सेनाप्रति उनको दृष्टिकोण बुझ्न सकिन्छ। पृथ्वीनारायण शाहको उदयपछि ६०–७० वर्ष गोर्खाली राज्यको जुन ढंगले विस्तार भयो, त्यसका पछाडि बढीभन्दा बढी भूमिमाथि कब्जा जमाउने र राजस्व बढाउने उद्देश्यले काम गरेको थियो भन्ने कथ्यलाई नै कोवानले समातेका छन्। उनका अनुसार बढी आम्दानी बटुल्न बढी जमिन चाहिने, बढी जमिन कब्जामा लिन ठूलो सेना चाहिने, ठूलो सेना टिकाउन बढी आम्दानी चाहिने अन्तरसम्बन्धित स्वार्थले उसबेला काम गरेको थियो। तर, गोर्खाली सेनाले जब काँगडा पार गरेर कश्मिरमाथि नियन्त्रण गर्ने सम्भावना देखायो र बढी आम्दानी हुने तराईका भूमिमाथि पनि कब्जा जमाउन थाल्यो, अंग्रेज स्वार्थसँग टकराव भइहाल्यो। अनि गोर्खाली साम्राज्यलाई पहाडमै सीमित राख्ने उद्देश्य लिई आक्रमण गरिएको र सुगौली सन्धिले त्यो उद्देश्यलाई एक हदसम्म पुरा गरेको कोवानको बुझाइ छ। त्यस क्रममा बेलायतीले पाएको अतिरिक्त लाभ आफ्नो सेनामा गोर्खाली युवाको भर्ती थियो, जो हालसम्म कायम छ। साम कोवान स्वयं ब्रिगेड अफ गुर्खाजकै अंग हुन्।
कोवानले उसबेलाको नेपाली राज्यलाई मूलतः ‘सैन्य राज्य’ भनेका छन्। त्यसैको फलस्वरूप यो राज्यको नाभीमा नेपाली सेना रहँदै आएको र हालसम्म पनि राजनीतिक शक्ति यसैमा निहित रहेको उनको विश्लेषण छ। राणाशासन, महेन्द्र र ज्ञानेन्द्रको ‘कू’लाई उनले यसै सेरोफेरोमा रहेर विश्लेषण गरेका छन्। यो किताबमा मलाई मन परेको आलेख ‘महाराजा एन्ड मोनार्क’ हो। यसमा कोवानले राणा महाराज चन्द्रशमशेर र राजा महेन्द्रले आधा शताब्दीको अन्तरमा गरेको बेलायत भ्रमण र त्यसको पृष्ठभूमिबारे विस्तृत वर्णन गरेका छन्। हालसम्म सार्वजनिक नभएको ‘आर्काइभ’मा आधारित दुई महत्वाकांक्षी शासकको यो व्यक्तिगत चित्रणले उसबेलाको कूटनीतिक इतिहास बुझ्न सघाउँछ।
चन्द्रशमशेर नेपालको इन्चार्ज छँदा भारतमा लर्ड कर्जन अंग्रेज भाइसराय थिए। कर्जन सन् १९०१ मा तराईमा सिकार खेल्न आउँदा चन्द्रले मेजबानी गरेका थिए। १९०३ मा तिब्बतमा ‘यङहजबेन्ड मिसन’ पठाउँदा चन्द्रले कर्जनलाई अझ गुण लगाए। लर्ड कर्जन ल्हासामा कब्जा जमाउन चाहन्थे, तर बेलायत सरकार त्यस निम्ति तयार थिएन। तिब्बतमा रुसी चलखेल बढेको भन्ने चन्द्रशमशेरको अतिरञ्जित सूचना कर्जनका निम्ति लन्डनलाई सम्झाउने अस्त्र बनिदियो। अनि त्यो मिसनलाई बन्दोबस्तीका सामान दिएर सघाउने र ल्हासामा आफ्ना वकिल परिचालन गरेर तिब्बत–बेलायतबीच सम्झौता गराउने भूमिका चन्द्रशमशेरले खेले। त्यसैको बदलामा उनले १९०८ मा लन्डनमा भव्य खातिरदारी पाए। बेलायती सम्राट् एडवर्ड सातौंको स्वागत, शाही कक्षमा बसेर त्यहाँ भइरहेको ओलम्पिक खेलको अवलोकनदेखि अक्सफोर्ड विश्वविद्यालयमा ‘डक्टर अफ सिभिल ल’को मानार्थ उपाधिसमेत मिल्यो। चन्द्रका पुराना परिचित कर्जन उसबेला अक्सफोर्डको कुलपति थिए, जसले यो प्रबन्ध मिलाए।
राजा महेन्द्र पनि सन् १९६० मा बेलायतको राजकीय भ्रमणमा जाँदा अक्सफोर्ड पुगे। त्यहाँ उनका ‘कर्जन’ थिएनन्, त्यसैले मानार्थ उपाधि पाउने उनको आकांक्षा अधुरै रह्यो। यी दुई घटनाको तथ्यपरक तुलना कोवानले मजासँग गरेका छन्, अक्सफोर्डकै पुराना कागजातहरू खोतलेर। राजा महेन्द्रले सरकारी सम्मान भने राम्रैसँग पाए। बेलायती रानी, प्रधानमन्त्रीलगायत लन्डनका सत्ताधारीहरू उनको स्वागत गर्न भिक्टोरिया रेल स्टेसनमै पुगेका थिए। शीतयुद्धको त्यो बेला राजा महेन्द्रको महत्व थियो र आफ्नो महत्व बढाउन पनि महेन्द्र जान्दथे।
बेलायतबाट फर्केको एक महिनामै महेन्द्रले ‘कू’ गरे। कोवानले त्यो सत्ताविप्लव अघि र पछिका घटनाक्रमको बेलायती स्रोतबाट प्राप्त जानकारीका आधारमा मिहिन विश्लेषण गरेका छन् भने त्यसलाई पछि राजा ज्ञानेन्द्रले गरेको ‘कू’सँग पनि दाँजेका छन्। अनि दुवै घटनाको केन्द्रीय भूमिकामा नेपाली सेनालाई उभ्याएका छन्। सेना नै नेपाली संस्थापनको केन्द्रमा रहेको भन्ने आफ्नो बुझाइ उनले यहाँ पनि पुष्टि गर्न खोजेका छन्।
यो पुस्तकको ठूलो अंश नेपालको उत्तरी सीमातर्फ केन्द्रित छ। त्यहाँ १७ ठाउँमा सन् १९५२–६९ को अवधिमा भारतीय सेनाको चेकपोस्ट कसरी रह्यो, त्यसलाई उसबेलाका घुमक्कड विदेशीले कस्तो देखेका थिए, अन्त्यमा ती चेकपोस्टहरू कसरी हटाइए आदिबारे कोवानको विवरण र विश्लेषणले हाम्रो भूराजनीतिक जटिलता बुझ्न मद्दत पुर्याउँछ। यसै सेरोफेरोमा कालापानीमा चाहिँ भारतको सैन्य शिविर कसरी रहिरह्यो र पछिल्लो समय त्यहाँ भारत–चीन दुवैको व्यापारिक स्वार्थ कसरी मिल्दै गएको छ भन्नेबारे कोवानले तयार पारेको खोजमूलक आलेख नेपाली नीति–निर्माताहरूका निम्ति पनि पठनीय छ।
सन् ६२ को युद्धपछि चीनले बन्दी बनाएका करिब चार हजार भारतीय सैनिकहरूमा गोर्खाली पनि रहेका र तिनलाई बन्दी अवस्थामा साम्यवादको पाठ पढाएर फिर्ता पठाइएको पृष्ठभूमि उल्लेख गर्दै कोवानले नेपालको पहाडी इलाकामा कम्युनिस्ट प्रभाव विस्तारमा तिनको भूमिका रह्यो कि भनेर खोजबिन गरेका छन्। यो आफैंमा नयाँ विषय हो, तर तथ्यभन्दा बढी आकलनमा आधारित रहेकाले यसमा थप खोजी आवश्यक देखिन्छ।
यसबाहेक सन् २०१५ को भूकम्पमा उद्धार कार्य गर्दा नेपालका सैन्य र नागरिक निकायहरूबीच कस्तो समन्वय थियो भन्नेदेखि फुटबल क्षेत्रमा भएको भ्रष्टाचार र आफूले पुराना आर्काइभ खोज्दा बेलायतको विदेश मन्त्रालयले गरेको असहयोग समेतका विषयमा कोवान पसेका छन्। त्यसबाहेक पदयात्रा गर्ने आफ्नो पुरानो रुचिको विस्तारित वर्णन पढ्न पाइन्छ। तर उनको यात्रा कथा ‘बोरिङ’ किन छैन भने त्यसमा उनले नेपाली सामाजिक वस्तुस्थितिको राम्रोसँग अवलोकन गरेका छन्।
कोवानका अधिकांश आलेख पूर्वप्रकाशित हुन्। त्यसलाई परिमार्जन नगरी जस्ताको त्यस्तै राखिएको कारण यदाकदा दायरा सीमित भएजस्तो लाग्छ। हरेक लेखको अन्त्यमा अध्यावधिक नोट दिइए पनि त्यो पर्याप्त छैन। कुनै विषयमा पढ्दै गयो, कुरा नपुगेको या त्यसबारे अझै विस्तृतमा आइदिए हुन्थ्यो भन्ने जस्तो लाग्छ। हामी पाठकको अपेक्षा भए पनि एउटै पुस्तकमा सबै कुरा अट्न सम्भव हुँदैन, यो कुरा बुझ्न सकिन्छ। कोवानले नेपालबारे जाने–बुझेका र देखे–भोगेका अरू थुप्रै कुराहरू होलान्। ती पनि क्रमशः पुस्तकाकारमा आइदिए नेपाल–अध्ययनमा सघाउ पुग्ने थियो।
एसेज् अन नेपाल : पास्ट एन्ड प्रिजेन्ट
लेखक : साम कोवान
प्रकाशक : हिमाल बुक्स, काठमाडौं
सन् २०१८, पृष्ठ : ३६२, मूल्य : रु.९९०