मनाङलाई पछ्याउँदै संकटा

मनाङलाई पछ्याउँदै संकटा

काठमाडौं : संकटा क्लब पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ। हल्चोकस्थित एपीएफ क्लबको मैदानमा शनिबार भएको खेलमा संकटाले एनआरटीलाई १-० गोलले हरायो। जितसँगै संकटाले शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबसँगै बराबरी १८ अंक बनाएको छ।

संकटाको कठिन जितमा अफ्रिकी खेलाडी म्यासवेलले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए। पहिलो हाफमा केही आकर्षक अवसर गुमाएको संकटालाई दोस्रो हाफमा पनि एनआरटीले टक्कर दिएको थियो। २०औं मिनेटमा संकटाका सुवास गुरुङको सशक्त प्रहार पोस्टमा लागेर बाहिरिएको थियो। संकटालाई खेलभर दबाब दिएको एनआरटीको गोल फर्काउने प्रयास सफल बन्न सकेन। एनआरटीका गोलरक्षक अजित प्रजापति म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए।

जितसँगै संकटाले सात खेलबाट १८ अंक बनाएको छ। संकटा र शीर्ष स्थानमा रहेको मनाङले समान १८ अंक बनाएका छन्। अपराजित मनाङले एक खेल कम खेलेको छ। सात खेलबाट एक अंक बनाएको एनआरटी तालिकाको अन्तिममा छ।

बराबरीमा रोकियो पुलिस

यसैगरी हल्चोक मैदानमै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। पुलिसले सुरुआतमा लिएको अग्रता जोगाउन नसक्दा हार बराबरीमा चित्त बुझाएको थियो। पुलिसका लागि ३१औं मिनेटमा भरत शाहले गोल गरेका थिए। उनले तेज तामाङको पासमा वान टच जाली चुमाएका थिए। लगत्तै उनै भरत शाह पोस्ट नजिक वान भर्सेस वानको अवस्थामा चुकेका थिए। भरतले खाली पोस्टमा हानेको सटिक प्रहार पोस्ट बाहिर परेको थियो।

पहिलो हाफमा पुलिसको दबाब खेपेको शेर्पा दोस्रो हाफमा खेलमा फर्किएको थियो। शेर्पाका लागि विश्वास श्रेष्ठले ७०औं मिनेटमा बराबरी गोल गरे। म्यान अफ दी म्याच घोषित विश्वासले १० हजार रुपैयाँ पुरस्कार पाए। बराबरीसँगै पुलिस र शेर्पाले सात खेलबाट समान ११÷११ अंक बनाएका छन्। समान अंक भए पनि गोलअन्तरका आधारमा पुलिस पाँचौं र शेर्पा छैटौं स्थानमा छ। खेलपछि पुलिसका प्रशिक्षक अनन्त थापाले भरत शाहले खाली पोस्टमा गोल गर्न नसक्दा दबाब भएको बताए। ‘टोलीमा अनुभवी खेलाडीको कमी छ। पाएको मौकामा गोल गर्न नसक्दा गाह्रो भयो। आगामी खेलमा सुधार गर्दै जानेछौं,’ अनन्तले भने।

हिमालयन शेर्पाका प्रशिक्षक सुवास लिम्बूले जित्ने हिसाबले खेले पनि बराबरीमा चित्त बुझाउनु परेको बताए। ‘हामीले पनि मौका राम्रो पाएको थियौं। दोस्रो हाफमा गोल पनि भयो। तर रेफ्रीले हामीले पाएको पेनाल्टी दिएनन्। रेफ्रीको गल्तीका कारण क्लबको लगानी डुब्ने खतरा देखिन्छ,’ सुवासले भने।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.