थन्कियो महानगरको ब्रुमर

थन्कियो महानगरको ब्रुमर

विराटनगर : धुलो सफा पार्न विराटनगर महानगरपालिकाले ५५ लाखमा खरिद गरेको ब्रुमर प्रयोगविहीन बनेको छ। यो गाडी गत असोजदेखि महानगरपालिका परिसरमै थन्किएको छ। सडक विस्तार र निर्माण भने जारी छ। दक्ष जनशक्ति नभेटिएका कारण ब्रुमर सञ्चालनमा ल्याउन नसकिएको मेयर भीम पराजुलीले बताए। ‘तत्काल ब्रुमर आवश्यक देखिएका कारण खरिद गरेका हौं’, मेयर पराजुलीले भने, ‘तर, यसलाई सञ्चालन गर्ने दक्ष जनशक्ति पाउन सकेका छैनौं।’ उनका अनुसार दक्ष चालकका लागि आवेदन माग गरिएको छ।

एक कर्मचारीले भने चालक व्यवस्था नगरीकन गाडी खरिद गर्न हतार गरिएको बताए। ‘अहिलेसम्म प्रयोगमा ल्याउन नसक्नु लाजमर्दो विषय हो’, उनले भने। अत्यधिक धुलो उडेको समयमा प्रयोग गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ। महानगरपालिकाले स्विपर भ्याकुम टाइप पावर ९५ एचपी नामक भारतीय टाटा कम्पनीको ब्रुमर गाडी खरिद गरेको थियो। यसका लागि गत वर्ष नै ई–टेन्डर प्रक्रिया अघि बढाइएको थियो। म्याप इन्टरप्राइजेजले गाडी खरिद गरी महानगरपालिकालाई दिने ठेक्का पारेको थियो।

समयमा ब्रुमर खरिद गर्न नसक्दा ४० हजार रुपैयाँ जरिवाना नै तिर्नुपरेको थियो। ‘ढिलो गरी गाडी प्राप्त भएका कारण जरिवाना तिर्नुपर्यो’, जिन्सी शाखाका एक कर्मचारीले भने, ‘जरिवाना तिरेर ढिलै भए पनि ल्याइएको गाडी दुई महिनादेखि थन्किएर बसेको छ।’ उनका अनुसार असोजमै सञ्चालनका लागि परीक्षण गर्दा गाडीमा प्राविधिक समस्या आएको थियो। समस्या सल्टाएर गाडी तयारी अवस्थामा राखिए पनि दक्ष चालक नपाएको उनको भनाइ छ। यसका लागि एक चालक र दुई जना सफाइ कर्मचारी आवश्यक पर्छ।

स्थानीय सन्तोष कोइरालाले ब्रुमर सञ्चालन गरे धुलो कम हुने बताए। तत्काल दक्ष चालकको व्यवस्था गरेर गाडी चलाउनुपर्ने उनको माग छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.