नेप्से दोहोरो अंकले बढ्यो
काठमाडौं : आइतबार नेप्से परिसूचक १०.८५ अंकले बढेको छ। सेयर बजार बढ्नुपर्ने माग राख्दै लगानीकर्ता अनसनमा बसेकै दिन बढेर ११३१.७० बिन्दुमा पुगेको हो। नेप्से कारोबारमा सूचिकृत भएका ११ समूहमध्ये नौवटा समूहका सूचक बढेको छ भने बाँकी दुई समूहको नेप्से परिसूचक घटेको छ।
वाणिज्य बैंक समूहको सूचक १३.५१ अंकले माथि उक्लेको छ। निर्जीवन बिमा कम्पनीको नेप्से परिसूचक ३९.८९ अंकले माथि उक्लिएको छ। फाइनान्स कम्पनी र उत्पादनमूलक कम्पनीको सेयर मूल्यमात्र बढ्न सकेको छैन।
एक सय ५५ कम्पनीको सात लाख १४ हजार ६१८ कित्ता सेयर खरिदबिक्री भएका छन्। आइतबार २२ करोड ३७ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ। नेपाल बैंकले सेयर कारोबारमा अग्रता लिएको छ।
नेपाल बैंकको २ करोड ९७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।कारोबार रकमकै आधारमा प्रभु बैंक दोस्रो र एनएमबी बैंक तेस्रो स्थानमा परेका छन्। नेप्सेले आइतबारदेखि लगानीकर्ताको हातमा अनलाइन प्रणाली छाड्नका लागि युजर नेम र पासवर्ड वितरण गर्न थालेको छ । यसको प्रभाव पुँजी बजारा देखिएको हो।
अनलाइन चलाउनुअघि लगानीकर्ताले ब्रोकरसँग कारोबारसम्बन्धी सम्झौता गर्नुपर्ने हुन्छ।