प्रहरीलाई तीन सय घुस दिन खोज्दा हिरासतको बास
काठमाडौं : प्रहरीलाई घुस दिन खोज्दा दुईजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–९ काँडाघारी चोकमा प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हरहर महादेव बस्ने नुवाकोटको खडक भञ्ज्याङ–३ का २२ वर्षीय प्रज्वल तामाङ र रामेछाप फुपा–७ का २३ वर्षीय सुजन श्रेष्ठ छन् । प्रहरीले बा.२४ प ८७८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मादक पदार्थ पिएर मोटरसाइकल चलाएका उनीहरुले घुस दिन खोजेका थिए ।
प्रहरीका अनुसार उनीहरुसँग मोटरसाइकलका कागजपत्रसमेत नभेटिएपछि कारवाही गर्न खोज्दा ५ सय रुपैयाँ घुस दिन खोजेका थिए । प्रहरीले उक्त नगद र मोटरसाइकलसहित तामाङ र श्रेष्ठलाई पक्राउ गरेको हो ।
तीन सय घुसले हिरासतमा
यसैगरी काठमाडौं महानगरपालिका–३२ स्थित पेप्सिकोला चोकबाट प्रहरीलाई घुस दिन खोज्दा ट्याक्सी चालक बौद्ध बस्ने काभ्रे पाँचखाल–१२ का ४१ वर्षीय राजाराम दनुवार पनि पक्राउ परेका छन् ।
प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले बा.२ ज ४५९१ नम्बरको ट्याक्सीको कागजपत्र जाँच गर्ने क्रममा चालकको लाइसेन्ससमेत भेटिएको थिएन । त्यसपछि कारबाही गर्न खोज्दा राजारामले प्रहरीलाई तीन सय रुपैयाँ घुस दिन खोज्दा उक्त ट्याक्सीसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जानकारी दिएको छ ।