२७ सय विद्यार्थीमाथि बेइमानी : उत्तरपुस्तिका विद्यार्थीलाई हेर्न दिन माग

२७ सय विद्यार्थीमाथि बेइमानी : उत्तरपुस्तिका विद्यार्थीलाई हेर्न दिन माग

 पोखरा : राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा ११ को विज्ञान विषयको नतिजामा गम्भीर लापरवाही भेटिएको छ। गण्डकी प्रदेशभरका विद्यार्थीको नतिजा बिग्रेर आएको भन्दै विद्यार्थी, अभिभावक र शिक्षण संस्था लगातार आन्दोलनमा छन्। 

अपेक्षाकृता नतिजा नआएपछि बोर्ड लगायत सम्बन्धित निकायसँग छलफल गरी पुनर्योग गराउँदा झन् उल्टोपाल्टो नतिजा निस्किएको छ। विद्यार्थी, अभिभावक र प्लस टुहरु थप आन्दोलित भएका छन्। 

मोहनराज तिवारीकी छोरी देशभरकै संस्थागत विद्यालयमा सर्वोत्कृष्ट भएको मदरल्यान्ड मावि मासबार पोखराकी होलसेकेन्ड हुन्। उनी भन्छन्, ‘मेरी छोरी छात्राहरुमा सर्वाष्ट र होलसेकेन्ड हुन्, तर ११ कक्षाको रिजल्ट सोच्दै नसोचेको आयो।’ 

जनप्रिय क्याम्पसले चलाइरहेको प्लसटुतर्फ १२ कक्षाका विद्यार्थी पवन गिरी अहिले १२ को किताब पढ्ने कि ११ को भन्ने दोधारमा छन्। ११ मा उत्कृष्ट नतिजाको अपेक्षा गरेका उनका भौतिक विज्ञान, रसायनशास्त्र र गणितजस्ता विषयमा सीमात्रै आयो। भन्छन्, ‘हामीलाई एप्लस वा ए चाहियो भन्ने होइन, जति लेखेका छौं, जस्तो लेखेका छौं, त्यसकै नम्बर चाहियो भनेका हौं।’ 

अर्का विद्यार्थी प्रकाश शर्मा पुनर्योग पनि चित्तबुझ्दो नभएकाले पुनःपरीक्षा दिन पाउनुपर्ने बताउँछन्। ‘राष्ट्रिय परीक्षा बोर्डले हाम्रो कुरालाई हाँसो ठट्टाको रुपमा मात्रै लिएको छ’, उनले भने। 

११ कक्षाको रसायनशास्त्र, भौतिकशास्त्र र गणित विषयको उत्तर लेखेअनुसारको अंक नआएको विद्यार्थीको गुनासो छ। असोज २० गते प्रकाशित नतिजासँग असन्तुष्ट भएपछि विद्यार्थी आन्दोलित थिए। पछि गण्डकी प्रदेशका २७३९ विद्यार्थीले रिटोटलिङ गराए। मंसिर १२ मा प्रकाशित रिटोटलिङ नतिजा पनि १३२ जनाको बाहेक कसैको पनि ग्रेड नबढेपछि आन्दोलन चर्किएको हो। 

रिटोटलिङका लागिमात्रै एउटा विषयको ५ सय रुपैयाँका दरले पोखराका विद्यार्थीहरुले ३५ लाख रुपैयाँ जति शुल्क तिरेको उच्च माविहरुको संस्था हिसान कास्कीका पूर्वअध्यक्ष बाबुराम पन्तले बताए। 

पन्त भन्छन्, ‘एउटा दुइटा विद्यार्थीको होइन, सबैको नतिजा गडबढ भएको छ।’ एसइईमा उत्कृष्ट अंक ल्याएका ६ सय विद्यार्थीबाट छानेर आफ्नो विद्यालय ग्लोबल कलिजियटले पढाएका ८१ विद्यार्थीमध्ये १ जनाको बाहेक सबैको सी आएको उनले जनाए। 

‘एकजनाको सी प्लस आएको छ, रिटोटलिङ गर्दा थप एकबाहेक कसैको सच्चियर आएन’, पन्तले भने। उनले अमरसिंह, सगरमाथा, डायमन्ड, मदरल्यान्ड, लगायत संस्थागत र सामुदायिक सबैजसो विद्यालयको नतिजा गडबढ भएको सुनाए। 

उनकै भनाइमा कास्कीमा ३८ प्लसटुमा विज्ञान संकाय छ। तीमध्ये नतिजा गडबढीको चपेटामा नपरेका कुनै छैनन्।  

म्याग्दी, नवलपरासी, पर्वत, तनहुँ र बागलुङ लगायत गण्डकी प्रदेशका सबैजसो जिल्लाको हालत उही रहेको पन्त बताउँछन्। ‘म्याग्दीमा एउटामात्रै विज्ञान संकाय थियो, अब त्यही पनि बन्द हुने भयो’, उनले भने। 

नतिजा गडबढ आउनासाथ राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष डा. चन्द्रमणि पौडेल, शिक्षा सचिव खगराज बराल, मन्त्री गिरिराजमणि पोखरेल र नेकपाका अध्यक्ष प्रचण्डसम्मलाई हारगुहार गरेको पन्तले सुनाए। ‘सबैतिरको छलफलपछि रिटोटलिङ गर्ने निष्कर्षमा गयौं’, उनले भने, ‘रिटोटलिङमा पनि नतिजा सच्चियर आएन। बरु उल्टै रिटोटलिङ गरेको विषयभन्दा फरकको नतिजा फेरिएरसमेत आएको उदाहरण छन्।’ 

परीक्षा नतिजा गडबढीबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक नहुनुलाई पनि विद्यार्थी र अभिभावकले शंकास्पद रुपमा हेरेका छन्। शिक्षक पन्त भन्छन्, ‘रिजल्ट बिग्रिएकैले पोखराका २ विद्यार्थीले आत्महत्याको प्रयास गरे, तिनको बेलैमा उपचार भयो, ज्यानै गएको भए के हुन्थ्यो ?’ 

राष्ट्रिय परीक्षा बोर्डका पोखरा प्रमुख विष्णुनारायण श्रेष्ठका अनुसार २ हजार ७ सय ३९ विद्यार्थीले रिटोटलिङ गराएका थिए। त्यसमध्ये १३२ जनाको ग्रेड वृद्धि भएर आएको जानकारी उनले दिए। पोहोरपरार भने यसरी रिटोटलिङ गर्नेको संख्या १ पनि हुँदैनथ्यो। शिक्षक बाबुराम पन्त भन्छन्, ‘ग्रेड थपिएकाको पनि २ ग्रेड कसैको थपिएको छैन।’ फुलमाक्र्स नै हल गरेका विद्यार्थीले ए प्लस अपेक्षा गरेकोमा ए पनि नआएको उनले बताए। 

उनकै भनाइमा कक्षा ११ मा कुनै विषयमा सी प्लस नआएको विद्यार्थीले चिकित्साशास्त्र पढ्न प्रवेश परीक्षै दिन पाउँदैनन्। ‘यति धेरै विद्यार्थीको भविष्यमाथि बेइमानी भएको छ’, उनले भने, ‘विधि र प्रक्रियाबाट समस्या समाधान भएको छैन।’ उनले पुनर्यागको सट्टा पुन परीक्षण गरिनुपर्ने बताए। नियम छैन भने पनि त्यस्तो नियम बनाउनुपर्ने उनको भनाइ थियो। 

आन्दोलनकै क्रममा सोमबारबाट विद्यार्थी, शिक्षक र अभिभावकले रिले अनसन सुरु गर्दैछन्। विश्वभरका विश्वविद्यालयहरुमा पुनपरीक्षण र विद्यार्थीलाई उत्तर पुस्तिका हेर्ने मौका दिइने गरेको पन्त सुनाउँछन्। उनले भने, ‘अरु नियम बनाउन मिल्छ भने त्यस्तो नियम पनि बनाउनुपर्‍यो, विद्यार्थीलाई न्याय दिनुपर्‍यो।’ 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.