सहमति जुटाउन बैठकै बैठक

सहमति जुटाउन बैठकै बैठक

काठमाडौं : नयाँ विधान मस्यौदामा सहमति जुटाउन विभिन्न समूहसहित कांग्रेस शीर्ष तह एकै दिन पटकपटक बैठक बसेका छन्। शनिबारसम्म केन्द्रीय समितिमा विधान मस्यौदाबारे धारणा राखेका केन्द्रीय सदस्य तथा पार्टीका पदाधिकारीको भावनालाई समेटेर सहमतिमै अन्तिम मस्यौदा बनाउन यस्ता बैठक चलिरहेको कांग्रेस नेताको भनाइ छ।

सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायत आइतबार दिउँसो सामूहिक बैठक बसे। त्यसअघि सभापति इतर पक्षका नेता प्रकाशमान सिंहको निवासमा छलफलमा जुटेका थिए। त्यतिबेला सभापति पक्षका नेता भने बूढानीलकण्ठस्थित देउवा निवासमा भेला भएर छुट्टै बैठक गरेका थिए। दुवै बैठक विधानमा मस्यौदामा अन्तिम सहमति कसरी गर्ने भन्नेमा केन्द्रित रहेको नेताहरूको भनाइ छ।

दुवै पक्षहरू आइतबार बिहान छुट्टाछुट्टै बैठकमा जुटे पनि दिउँसो सभापति देउवाको पहलमा पार्टी कार्यलयमा शीर्ष तहबीच अनौपचारिक बैठक भयो। सोमबार पुनः केन्द्रीय कार्यसमिति बैठक बस्दै छ। केन्द्रीय कार्यसमितिले विधानको मस्यौदालाई पास गरेर महासमिति भेलामा निर्णयार्थ प्रस्तुत गर्नुपर्ने प्रावधान छ। महासमिति भेलाको दुईतिहाइले अनुमोदन गरेपछि मात्रै विधान लागु हुनेछ।

महासमिति भेला मंसिर २८ देखि काठमाडौंमा सुरु हुँदै छ। महासमिति भेलामा सभापति देउवाले एक्लै दुईतिहाइ पुयाउन सक्ने अवस्था नभएपछि उनी सहमतिमै विधान ल्याउन लागिपरेका छन्। केन्द्रीय समिति सुरु भएपछि उनी वरिष्ठ नेता पौडेल र नेता सिटौलासँग यसबारे अनौपचारिक बैठकमा जुटेका छन्। संवाद जारी रहे पनि कुनै ठोस सहमति नभएको नेता सिटौलाले बताए।

सिंह निवासमा भेला भएका देउवा इतर पक्षका नेताले पार्टीको पदाधिकारी संख्या बढाउनुपर्ने, पार्टीभित्रको निर्वाचन प्रणली, सदस्यता वितरण, केन्द्र–प्रान्त–जिल्ला–स्थानीय तहमा अधिकारको समान बाँडफाँड हुनुपर्नेलगायत मुद्दाबारे छलफल गरेका थिए। पदाधिकारी बढाउनेमै सभापति इतर पक्षको जोड रहेको बैठकमा सहभागी नेता गगन थापाले जानकारी दिए। विधान मस्यौदा सबैको सहमतिमै आउने प्रवक्ता विश्वप्रकाश शर्माको दाबी छ। ‘पार्टीभित्र सबै पक्षबीच संवाद भइरहेको छ, सबै कुरा सहमतिमै टुंगिन्छन्’, उनले भने।

विधान मस्यौदा समितिले केन्द्रीय समितिमा पेस गरेको विधान मस्यौदामाथि सभापति इतर पक्षका नेता असन्तुष्ट छन्। उनीहरूले पार्टीका पदाधिकारी बढाउनुपर्ने, सदस्यता वितरण प्रणली सहज तुल्याउनुपर्ने, मनोनीतको संख्या कम गर्नुपर्नेलगायत माग गर्दै आएका छन्। महासमिती भेलामा पेस गरिने राजनीतिक प्रस्तावमा समेत उनीहरू असन्तुष्ट छन्। उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा रहेको राजनीतिक प्रस्ताव लेखन समितिमा समेत पौडेल–सिटौला समूहका नेताले विरोध जनाएका छन्।

मंसिर २८ देखि काठमाडौंमा आयोजना हुने महासमिति भेलाको तयारी तीव्र पारिएको छ। कार्यक्रम व्यवस्थापनका लागि पार्टीले बनाएको सचिवालयले आइतबार पार्टीका विभिन्न भ्रातृसंगठन तथा शुभेच्छुक संस्थासँग सामूहिक बैठक गरेर जिम्मेवारीसमेत बाँडफाँट गरेको छ। भेलाको तयारी तीव्र रहेको भेला तयारी समितिमा रहेका काठमाडौं कांग्रेसका सभापति सबुज बानियाले जानकारी दिए। यसअघि महासमिति भेलाका लागि विभिन्न उपसमितिसमेत गठन भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.