वडाध्यक्षले धान्दै उपमहानगर

वडाध्यक्षले धान्दै उपमहानगर

धरान : सुनसरी धरान–१५ का वडाअध्यक्ष नरेश इवारमका भरमा उपमहानगरपालिकाको काम सञ्चालन भइरहेको छ। मेयर तारा सुब्बाको निधनपश्चात् उपमेयर मञ्जु भण्डारीले कार्यभार सम्हाल्दै आएकी थिइन्।

कार्यवाहक मेयर भण्डारी वडाध्यक्षलाई जिम्मेवारी सुम्पेर भारत भ्रमणमा गएकी छन्। वडाध्यक्षले महत्वपूर्ण निर्णय गर्न भने पाउने छैनन्। उपनिर्वाचन गराउन संघीय सरकारसँग माग गरे पनि सुनुवाइ नभएको इवारमको भनाइ छ। मेयर पद रिक्त भएका कारण उपमेयर अन्यत्र जाँदा कार्यालयको कामकाज सञ्चालन गर्न बाधा पुगेको उनले सुनाए।

प्रमुख प्रशासकीय अधिकृत चाँडै फेरिने गरेका कारण पनि उपमहानगरपालिकाको दैनिक कामकाज प्रभावित भएको छ। स्थानीय निर्वाचनपछि पाँच जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका हुन्। प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव विनोद पोखरेललाई सरुवा गरिएको छ। तर, उनी कार्यालयमा हाजिर भएका छैनन्।

निमित्त कार्यालय प्रमुख पीताम्बर गौतमले नक्सा सिफारिस र पास नगरिदिएपछि स्थानीयले प्रमाणपत्र लिन पाएका छैनन्। गौतमले भने आफू कार्यालयमा नभएको बताए। सामाजिक विकास अधिकृत गणेप्रसाद खतिवडाले मेयरको निधन र प्रमुख प्रशासकीय अधिकृत फेरबदलले दैनिक कामकाज सञ्चालनमा समस्या भएको बताए। ‘प्रमुख प्रशासकीय अधिकृत नभएका कारण विकास निर्माणका योजनाको रकम निकासादेखि ठेक्का प्रक्रिया रोकिनुका साथै ठूला योजना छनोट भएको छैन’, उनले भने।

धरानका मेयरको निधनपश्चात् सरकारले उपनिर्वाचन गराउन चासो दिएको छैन। कार्यवाहक मेयर भण्डारी भारत भ्रमणमा निस्किएकी छन्।

स्थानीय जनप्रतिनिधिले बसपार्क, विमानस्थल, ६ लेन सडक निर्माण, खानेपानी आयोजनालगायत काम समयमा सम्पन्न गराउन सकेका छैनन्। धरान खानेपानी आयोजनाको काम तीनपटक म्याद थपे पनि सकिएको छैन। उपमेयर भण्डारीको संयोजकत्वमा नयाँ बसपार्क निर्माण गर्न समिति बने पनि काम सुरु भएको छैन्। विमानस्थल बनाउन संघीय सरकारले बजेट विनियोजन गरे पनि उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गर्न सकेको छैन।

जनप्रतिनिधिले जनअपेक्षाअनुरूप काम नगरेको महेन्द्र क्याम्पस धरानका अध्यापक डा. राजेन्द्र शर्माको भनाइ छ। जनभावनाअनुसार काम नगरेका कारण धरानलाई समृद्ध बनाउने सोच अधुरै रहेको उनको भनाइ छ। कांग्रेस धरानका सभापति तिलक राईले तत्काल उपनिर्वाचन गराउनुपर्ने माग गरे। संघीय सरकारसँगको सहकार्यमा उपनिर्वाचन गराउने तयारी रहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको भनाइ छ।

निर्वाचन आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मेयरको निधनपश्चात् पद रिक्त भएको विषयमा औपचारिक जानकारी नआएको बताए। सरकारले उपनिर्वाचनको मिति घोषणा गरे आयोग तयार रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.