एक किलो नुनको मूल्य ७०!
हुम्ला : हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन्। डिपोमा नुन अभाव भएपछि एक पोका नुन किन्न ७० रुपैयाँ तिर्नुपर्ने स्थानीय बाध्य भएका हुन्।
सर्केगाड गाउँपालिकामा रहेको डिपोले १० रुपैयाँ नुन बिक्री वितरण गर्दै आएको भएपनि यतिबेला उक्त डिपोमा नुन अभाव भएको छ। गाउँपालिकामा रहेका आठवटै वडाका स्थानीयवासीले एक पोका नुनको ७० रुपैयाँ तिरेर खानु परेको उक्त गाउँपालिका-४ निवासी कृष्ण शाहीले बताए।
जिल्ला सदरमुकाम सिमकोटबाट खच्चरले बोकेर ल्याएको नुनको मूल्य गाउँमा पुग्दा ७० रुपैयाँ तिरेर खानु परेको शाहीले बताए। सर्केगाड डिपोमा नुनका लागि ठेकेदारले यतिबेला ढुवानी ढिलाइ गरेका कारण खाने नुनको समस्या भएको सोही गाउँ निवासी कवीन्द्र शाहीले बताए।
डिपोमा नुन नहुँदा व्यापारीले खच्चरमार्फत छिमेकी जिल्ला बाजुराबाट ल्याइएको नुन खरिद गरेर चर्को मूल्यमा किनेर खानुपरेको शाहीले बताए। कतिपय स्थानीयले दुई दिनको पैदलयात्रा लगाएर जिल्ला सदरमुकाम सिमकोटबाट नुन ल्याउने गरेका छन् । सिमकोट डिपोमा नुनको समस्या नभएता पनि सर्केगाड गाउँपालिकामा रहेको खाद्य डिपोमा भने यति बेला नुनको अभाव भएको छ।रासस