यात्रुबसमै बेहोस बनाएर लुटियो यात्रु !
विराटनगर : काठमाडौँबाट विराटनगरका लागि छुटेको कोसी डिलक्स बस भित्र बेहोस बनाएर एक यात्रुलाई लुटेको आशङ्का गरिएको छ ।
सुनसरीको इटहरीमा झर्ने गरी काठमाडौँको गोङ्गबुबाट ना ६ ख १५६१ नम्बरको यात्रुवाहक बसमा चढेका धनकुटाको साँगुरी गढी गाउँपालिका ३ घर भई सुनसरीको धरान उपमहानगरपालिका ११ मा बसोबास गर्दै आएका ३५ वर्षीय खगेन्द्र लिम्बूलाई विराटनगरमा बेहोस अवस्थामा आइतबार आफन्तको जिम्मा लगाइयो ।
यात्राकै क्रममा बेहोस भएको भन्दै बसका कर्मचारीले उनलाई विराट नगर बसपार्कमा ल्याएर आफन्तको जिम्मा लगाएका हुन् । उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगर लगिए पनि त्यहाँबाट रेफर गरेर थप उपचारका लागि लिम्बूलाई नोबेल शिक्षण अस्पताल पठाइएको थियो ।
नोबेलको आईसीयूमा राखेर उनको उपचार थालिएको छ । उपचारमा संलग्न नोबेलका चिकित्सक आशिष चौधरीले अहिले सम्म बेहोस हुनुको कुनै कारण खुल्न नसकेको बताए ।
'हाम्रै निगरानीमा राखेर ल्याबदेखि विभिन्न परीक्षणहरू गरिरहेका छौँ,' उनले भने, 'अहिले सम्म बेहोस हुनुको कुनै कारण खुल्न सकेको छैन ।' बिरामीमा देखिने लक्षणका आधारमा मात्रै उपचार गर्ने काम भइरहेको डा. चौधरीको भनाइ छ । उनले कुनै वस्तु सुँघाएर बेहोस बनाएको हुन सक्ने पनि बताए ।
सोमबार दिउँसोबाट होसमा आएका लिम्बूले धनुषाको ढल्केबरमा ओर्लिएर चिया खाएर गाडीमा चढेपछि आफूलाई केही पनि थाहा नभएको बताएका छन् । उनले आफूसँग दुबईको सात सय रुपैयाँ र नेपाली २६ हजार रुपैयाँ साथमा रहेको जानकारी दिएको दाजु प्रेमकुमार लिम्बूले बताए ।
साथमा फेला परेको पैसा राख्ने पर्स भने खाली अवस्थामा फेला परेको तथा दुबईको सात सय, नेपाली २६ हजार रुपैयाँ र १० ग्रामको सुनको औँठी भने नभेटिएको दाजु प्रेमकुमारको भनाइ छ ।
उनले पैसा र औँठी फेला नपरे पनि साथमा रहेको मोबाइल तथा घाँटीमा लगाएको सुनको सिक्री चैँ भेटिएको जानकारी दिए । पत्नी शकुन्तलाका अनुसार डेढ वर्ष अघि वैदेशिक रोजगारीका लागि दुबई गएका खगेन्द्र दाजुकी छोरीको विवाहका लागि भनेर नेपाल फर्किएका थिए ।
दुबईबाट काठमाडौँ आइपुगेपछि खगेन्द्र घर आउनका लागि शनिवार साँझ इटहरीका लागि कोसी डिलक्स गाडी चढेका हुन् । तर बसका कर्मचारीले इटहरीमा ओराल्न खोज्दा बेहोस भएको पाइएपछि कसैलाई पनि खबर गर्न नसकेकाले विराट नगर बसपार्क ल्याएर मात्रै आफन्तलाई जानकारी दिएको बताएका छन् ।
खगेन्द्र बसेको छेउको सिटमा एक जना ट्राफिक प्रहरी पनि बसेका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका लागि रवाना पत्र लिएर हिँडेका ट्राफिक जवान नरबहादुर आले मगर खगेन्द्रको छेउकै सिटमा बसेको खुलेको छ ।
'खगेन्द्र र ट्राफिक जवानबिच राति चिनजान र कुराकानीसमेत भएको रहेछ,' घटनाको अनुसन्धानमा खटिएका एक प्रहरीले भने, 'तर खगेन्द्र बेहोस भएको कुरा भने ट्राफिक जवानले इटहरीमा आइपुगेपछि मात्रै थाहा पाएछन् ।'
ट्राफिक जवान आले मगर पनि झापा नगइकन साथी भेट्न भन्दै त्यही बसमा चढेर विराट नगर नै आएका छन् । उनीमाथि प्रहरीले सोधपुछ थालेको छ । सोधपुछका क्रममा आलेमगरले गाडीमा यात्रा गर्दा चिनजान भएको र लिम्बू कति बेला बेहोस भएको हो भन्ने कुरा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
'इटहरी झर्नु पर्ने मान्छेलाई विराट नगर ल्याएर मात्रै आफन्तलाई जानकारी दिइयो,' दाजु प्रेमकुमारले भने, 'यसका पछि धेरै रहस्य लुकेको सहज अनुमान गर्न सकिन्छ ।'
प्रेमकुमारले इटहरीमै ओराल्न खोज्दा गाडीमा बेहोस भेटिएपछि बसका कर्मचारीले नजिकैको प्रहरी कार्यालय वा आफन्तलाई खबर गर्नु पर्नेमा त्यसो नगरी सिधै विराट नगर ल्याएर मात्रै आफन्तलाई जानकारी दिएकाले घटना रहस्यमय रहेको बताए ।
उनले आइतबार बिहान ८ बजे विराट नगर आइपुगेको बसका कर्मचारीले बेहोस यात्रालाई उपचारका लागि लैजानु पर्नेमा त्यसको दुई घण्टापछि १० बजे परिवारका सदस्य पुग्दा उपचारमा नलगिकन बसको पछाडिको सिटमा लगेर सुताइदिइरहेको अवस्थामा भेटिएकाले घटनालाई गम्भीर रूपमा लिइएको बताए ।
'यस घटनाको सत्य तथ्य छानबिन गरेर दोषीमाथि तत्काल कारबाही गर्नु पर्छ,' उनले भने, 'बेहोस बनाउने कुनै पदार्थ सुँघाएर लुटपाट गरिएको हो भन्ने हाम्रो ठम्याई छ ।'
प्रेमकुमारले बेहोस बनाएर लुट्ने काम भएको दाबी गर्दै यस घटनालाई लिएर बसका कर्मचारी र सँगैको सिटमा बसेका ट्राफिक जवानमाथि अनुसन्धान हुनु पर्ने माग पनि गरेका छन् ।
उनले यस्तो घटनाका कारण सार्वजनिक सवारी साधनमा यात्रा गर्न पनि डर मर्दो स्थिति बनेको बताए । प्रदेश १ का प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्वाहाङले पनि खगेन्द्रलाई सोमबार अस्पतालमै पुगेर भेटेका छन् । तुम्वाहाङले घटनाको सत्य तथ्य छानबिन गरेर वास्तविकता पत्ता लगाउन र कोही दोषी भेटिएमा कारबाही अघि बढाउन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
प्रहरीले बसका कन्डक्टर मोरङ सुन्दरहरैंचा नगरपालिका ६ का अनिश राई र सह चालक सुनसरी भन्टावारीका २१ वर्षीय शिवनारायण यादवमाथि सोधपुछ थालेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कुनै कुरा खुलिन सकेको बताए ।
'बस भित्र यात्रु कसरी बेहोस हुन पुगे भन्ने कुरा नै खुलिरहेको छैन,' उनले भने, 'त्यही पनि हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ ।' डिएसपी श्रेष्ठका अनुसार बाटोमा तीन-चार ठाउँ बसहरू रोकेको देखिन्छ । उनले गाडी रोकेको ठाउँमा नास्ता खाँदा फुट पोइजन भएर स्वास्थ्यमा यस्तो समस्या आएको हुन सक्ने पनि बताए ।