ड्युटीका प्रहरीमाथि मध्यराति आक्रमण, १३ जना पक्राउ

ड्युटीका प्रहरीमाथि मध्यराति आक्रमण, १३ जना पक्राउ

परासी : ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने १३ जना युवालाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले पक्राउ गरेको छ । आक्रमणमा प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरी घाइते भएका छन् । आक्रमण गर्ने अन्य व्यक्तिको समेत प्रहरीले सोमबारसम्म खोजी जारी राखेको जनाएको छ ।

परासी-भैरहवा सडक खण्ड अन्तरगत रामग्राम नगरपालिकाको रानीपाकडमा नियमित सवारीसाधन चेकिङका क्रममा प्रहरी सहायक निरीक्षक नारायण विकको नेतृत्वमा खटिएको नौ जना प्रहरी टोलीमाथि शुक्रवार राति आक्रमण भएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

आक्रमणबाट प्रहरी सहायक निरीक्षक विक र प्रहरी जवान लोमन साउथ घाइते भएका छन् । प्रहरी उपरीक्षक भट्टका अनुसार नियमित काम सकेर चेकिङ सामानहरू गाडीमा राख्ने क्रममा पछाडिबाट १५-२० जनाको समूहमा आएको समूहले एक्कासि ढुङ्गा प्रहार गरेका थिए । 

ढुङ्गा प्रहार गर्दै अगाडी बढेको समूहले प्रहरी नजिक आएर आक्रमण सुरु गरेका थिए । आक्रमणसँगै हतियार खोस्न थालेपछि प्रतिकार नगरी प्रहरीको टोली गाडी लिएर भागेको थियो । 

तर प्रहरी जवान साउथ भने त्यही छुटेका थिए । आक्रमण गर्ने समूहले एकलै रहेका साउथको साथमा रहेको हतियार तान्दै उनलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । 

त्यसपछि भूमहीबाट आउँदै गरेको अर्को प्रहरीको टोलीले उद्धार गरी विकलाई पृथ्वीचन्द्र अस्पताल परासीमा पुर्‍याएको थियो । साउथको टाउकोमा गम्भीर चोट लागेको छ । जिल्ला अस्पतालले उनलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाएको थियो । हाल उनको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

प्रहरी उ परीक्षक भट्टका अनुसार चेकिङका क्रममा लागूपदार्थ सेवन गरेर आउँदै गरेका दुई जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ परेका दुई जनालाई गाडीमा राखेर परासी ल्याउन लागेका बखत साइकलमा आएका चार जना युवाले उनीहरूलाई किन समातेको भन्दै वादविवाद गरेका थिए । युवाहरू पक्राउको वादविवाद छाडेर उनीहरूले फेरि सडकमा बसेर किन चेकिङ गरेको भन्दै प्रहरीलाई धम्काएका थिए । 

चेकिङमा खटिएको टोलीले नियमित कार्य हो भन्दै उनीहरूलाई गन्तव्यमा जान अनुरोध गरेको थियो । करिब आधा घण्टापछि उनीहरू १५÷२० जनाको समूह लिएर आएका थिए । उक्त समूहले अँध्यारो स्थानबाट एक्कासि ढुङ्गा प्रहार गर्दै प्रहरी माथि जाई लागेको प्रहरी उ परीक्षक भट्टले बताए । 

हतियारसहित खटिएको प्रहरी टोलीले प्रतिकार गर्दा थप घटना हुन सक्ने भएकाले आफूहरूले संयम अपनाएको भट्टको भनाई छ । आक्रमण गर्ने समूहले हतियारसमेत तानेर सडकदेखि केही पर पुर्‍याएका थिए । 

पछि पुगेको टोलीले घाइते प्रहरी र हतियार फेला पारेर ल्याएको उनले बताए । घटनापछि संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा सोमबारसम्म १३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामधनी यादवसहित सबै चौधरी थरका छन् ।

जसमा माधव, जङ्गबहादुर, विश्वनाथ, सञ्जय, केशवप्रसाद, ओमप्रकाश, बुद्धिराम, दीपेन्द्र, मनबहादुर, जीवनबहादुर, जीतबहादुर र भुपेन्द्र छन् । १८ देखि ४० वर्ष उमेर समूहका उनीहरू सबै रामग्राम-११ का हुन् । घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने भन्दै खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिताको दफा ८५ बमोजिम कानुनी कारबाहीका लागि म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उ परीक्षक वीरेन्द्र थापाले जानकारी दिए । 

उक्त दफामा आफ्नो पदीय कर्तव्यको पालना गर्न लागेको कुनै राष्ट्रसेवकलाई कसैले जोर जुलुम वा हुल हुज्जत गरी वा अन्य कुनै किसिमले वाधा विरोध गरी कर्तव्य पालन गर्न अवरोध पुर्‍याउन नहुने उल्लेख छ ।   

पक्राउ परेर अनुसन्धान भइरहेकाहरूले अपराध गरेको ठहर भएमा एक वर्षसम्म कैद वा १० हजार जरिवाना तथा दुवै सजाय हुने व्यवस्था छ । कसुर ठहरेमा दफामा उल्लेख भएको सजायको ३० प्रतिशतभन्दा कम सजाय गर्न नपाइने कानुनमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.