पर्यटन प्रवर्द्धन गर्न हात्ती महोत्सव
सौराहा : पर्यटकीय गन्तव्यमा डिसेम्बर र जनवरी महिना प्रायः सुनसान जस्तै हुन्छ। पर्यटन व्यवसायीले यी महिनालाई अफ सिजनका रूपमा लिने गर्छन्। डिसेम्बर र जनवरीमा पर्यटकको चहलपहल धेरै कम हुन्छ। तर, क्षेत्रीय होटल संघ नेपाल चितवनले भने पर्यटकको संख्यामा कमी आउन नदिन हरेक वर्ष डिसेम्बरको अन्त्यमा हात्ती महोत्सव सञ्चालन गर्दै आएको छ।
अफ सिजनमा पनि पर्यटक भित्र्याउने उद्देश्यले विगत १५ वर्षदेखि निरन्तररूपमा हात्ती महोत्सव आयोजना गर्दै आएको संस्थाले यो वर्ष पनि महोत्सवको १५औं संस्करण आयोजना गर्दै छ।
अन्तर्राट्रिय पर्यटन जगतमै फरक स्थान बनाउन यो वर्ष १५औ संस्करणको तयारी थालिएको आयोजक संस्था क्षेत्रीय होटल संघ नेपालले जनाएको छ। ‘हात्ती भनेको चितवनको गहना र पहिचान हो’, संघका अध्यक्ष एवं १५औँ चितवन हात्ती महोत्सव–२०७५ मूल आयोजक समितिका संयोजक सुमन घिमिरेले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यसैले हामीले हात्ती महोत्सवलाई निरन्तरता दिँदै आएका छौं। आउँदा वर्ष पनि निरन्तर चलिरहन्छ।’
जिल्लाको पर्यटन प्रवर्द्धन गर्न विगतमा भएका महोत्सव उपलब्धिमूलक बन्दै गएको प्रतिफल पाएकै कारण यो वर्ष पनि त्यसैलाई निरन्तरता दिइएको उनले बताए। ‘यो महोत्सवले मानव र वन्यजन्तुबीचको सम्बन्धलाई पनि बलियो बनाउन सघाएको छ’, उनले भने। उनले थपे, ‘युरोपियन मुलुकका पर्यटकले मात्रै हो हात्ती सफारी कम रूचाउने। तर, चिनियाँ पर्यटक र नेपाली आन्तरिक पर्यटकमा भने हात्ती सफारी झनै लोकप्रिय बन्दै गएको छ। त्यसैले हात्ती सफारी कुनै पनि हालतमा रोकिँदैन।’
हात्तीको बासस्थानलाई लिएर केही नकारात्मक टिप्पणी भए पनि सबै सुधार भइसकेको संघका प्रथम उपाध्यक्ष एवं महोत्सव प्रवक्ता दीपक भट्टराईले दाबी गरे। पुस ११ देखि १५ गतेसम्म बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुने महोत्सवमा हात्ती वनभोज, हात्ती फास्ट वाक प्रतियोगिता, हात्तीको छावाहरूबीचको फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पेन्टिङ, कवि गोष्ठी तथा राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत मनोरञ्जनात्मक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ। प्रवक्ता भट्टराईका अनुसार हात्ती फास्ट वाक प्रतियोगितामा २० वटा हात्ती सहभागी हुनेछन्। यस्तै हात्ती पोलोमा चारवटा समूह, छावाबीचको फुटबल प्रतियोगितामा चार समूह र हात्ती सुन्दरी प्रतियोगितामा पाँचवटा हात्तीको सहभागिता गराइनेछ।
महोत्सव सम्पन्न गर्न करिब ४९ लाख १० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको मूल समिति संयोजक घिमिरेले बताए। ‘महोत्सवलाई फरक बनाउन यो वर्ष भने देशभरका ख्यातिप्राप्त २५ जना कविको सहभागितामा कविता गोष्ठी समेत हुनेछ,’ उनले भने, ‘नेपाली साहित्यमार्फत पनि पर्यटन प्रवद्र्धन गराउन सकिन्छ भन्ने सन्देश दिन हामीले कवि गोष्ठी गर्न लागेका हौं।’ जंगली जनावर राष्ट्रको सम्पत्ति भएकाले त्यसको संरक्षणबारे आयोजक सचेत रहेको उनले बताए। विगतमा टिप्पणीलाई सुझावको रूपमा लिएर कार्यक्रम गर्दै आएको उनले बताए।