आज विवाह पञ्चमीको पाँचौं दिन : गंगासागरबाट माटो ल्याइ यसरी गरिँदैछ मटकोर
जनकपुरधाम : साताव्यापी राम जानकी विवाह महोत्सवको आज पाँचौं दिन।बेहुला बेहुली बस्ने मण्डप बनाइँदैछ। मण्डप बनाउन भारतको एेतिहासिक नगरी गंगासागरबाट माटो ल्याउने प्रचलन छ।
रामजानकी मन्दिरका महन्थसहित पोखरीबाट पवित्र माटो ल्याइ स्वयंवर (विवाह)को अघिल्लो दिन मण्डप बनाउने यो विधिलाई 'मटकोर' भनिन्छ।जनकपुरस्थित राममन्दिरमा र जानकी मन्दिरमा छुट्टा-छुट्टै मटकोर मनाइन्छ।
जानकी मन्दिरबाट माता सीताको प्रतिकात्मक स्वरूपसँगै बाजागाजा र झाँकीसहित निस्किने डोला ऐतिहासिक गंगासागर पुगेर माटो खन्छ। वैदिक मन्त्रोच्चारण गरी विधिपूर्वक माटो जानकी मन्दिर लगेर वेदी तयार पार्छ।
त्यही वेदीमा रामजानकी विवाह गर्ने परम्परा छ।राम मन्दिरका महन्थ लक्ष्मण गिरी भगवान रामको पक्षबाट र जानकी मन्दिरका सहमहन्थ रोषण दास वैष्णव सीताको पक्षको अभिभावकको भूमिका निर्वाह गर्छन्।
यसअघि महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुष यज्ञ र चौथो दिन तिल्कोत्सव कार्यक्रम सकिसकेको छ। सोमबार मनाइएको तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार) राम मन्दिरमा लगिएको थियो।
महोत्सवको छैठो दिन बुधवार राम-सीता स्वयंवर तथा विवाह कार्यक्रम राखिएको छ। उक्त कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुनेछन्। जनकपुरमा यतिबेला महोत्सवको रौनक देखिन्छ। नेपालका विभिन्न स्थान र भारतबाट हजारौं श्रद्धालु जनकपुर आइपुगेका छन्।
सोमबार मध्यान्ह अयोध्याबाट हजारौंको संख्यामा घोडा रथ र सयौं सवारी साधन लिएर जन्ती आइपुगे। जन्तीलाई भव्य स्वागतपश्चात बास र खानाको व्यवस्था जानकी मन्दिरले गरेको छ।श्रद्धालु सुरक्षार्थ ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएका छन्।